अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूले नयाँ संस्था गठन गरेका छन्।
बुधबार 'नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन' (नाइमा)को घोषणा गरिएको हो।
'मोबिलिटीमार्फत समृद्धिको मार्ग' भन्ने नारासहित नाइमाको संस्थापक तथा पहिलो अध्यक्षको जिम्मेवारी युनाइटेड ट्रेडर्सकी प्रबन्ध निर्देशक रितुसिंह वैद्यलाई दिइएको छ।
देशको मोबिलिटी क्षेत्रको साझा मञ्चको रूपमा काम गर्न नाइमा गठन गरिएको वैद्यले बताएकी छन्।
'नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमा कार्य गर्नेछ। यसले रणनीतिक सहकार्य, विकास र नीति निर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ,' नाइमा घोषणा सभामा उनले भनिन्।
नेपालको गाडी क्षेत्रको नीतिगत सुधार, नवप्रवर्तनलाई प्रोत्साहन, उपभोक्ता सशक्तीकरण, सडक सुरक्षामा ध्यान, पूर्वाधार विकास, दक्ष जनशक्ति निर्माण र साझा सहकार्यलाई प्राथमिकतामा राखेर नाइमा अघि बढ्ने प्रतिबद्धता उनले गरिन्।
नाइमाले मोबिलिटी क्षत्रको साझा आवाज बन्ने उनको दाबी छ। नाइमा घोषणा भएकै दिन मोबिलिटी प्रदर्शनीको घोषणा गरिएको छ।
नाइमा अन्तर्गत गठित अटो शो समितिका सदस्य गौरव शारदाले 'नेपाल मोबिलिटी एक्सपो' को लोगो सार्वजनिक गर्दै सो प्रदर्शनी साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने जानकारी गराए।
संस्थापक सदस्य सुहृदराज घिमिरेले नेपालको गाडी उद्योगमा नयाँ युगको सुरुआत भएको बताए।
उनले आगामी दिनमा सहकार्य, नीतिगत सुधार र उपभोक्तामैत्री दृष्टिकोणमार्फत संस्था अघि बढ्ने बताए।
नाइमाको संस्थापक सदस्यहरूमा कन्टिनेन्टल ट्रेडिङका सुहृदराज घिमिरे, एचएच एण्ड को प्राइभेट लिमिटेडका शेखर गोल्छा, अग्नि इंक प्राइभेट लिमिटेडका क्याबिनेट श्रेष्ठ, साकार ट्रेडिङमा सौरभ ज्योति रहेका छन्।
एसपिजी अटोमोबाइलका सन्दीपकुमार शारडा, लक्ष्मी मोटरका निराकार श्रेष्ठ, साइमेक्स इंककी यमुना श्रेष्ठ, पारामाउन्ट मोटर्सका निकुञ्ज अग्रवाल, सांग्रिला मोटर्सका हेमन्त गोल्छा र ओम्नी मोटर्सका उदयन काबरा पनि संस्थापक सदस्य रहेका छन्।