सरकारले दायित्व बहन नगर्दा लामो समयदेखि करिब एक लाख १५ हजार बीमितले कोरोना बीमाको झन्डै ११ अर्ब रकम पाउन सकेका छैनन्। बीमा समितिका अनुसार दाबी परेमध्ये हालसम्म करिब ५०/५५ हजारले भुक्तानी पाएका छन्। एक लाख १५ हजारभन्दा बढीले भुक्तानी पाउन बाँकी छ।
'कुल परेको दाबीमध्ये ३ अर्ब ५० करोडभन्दा बढी भएमा सरकारले बेहोर्ने भनेर कोरोना बीमा मापदण्ड २०७७ नै बनेको थियो,' बीमा समितिका प्रवक्ता निर्मल अधिकारीले भने, 'कतिपय बीमा कम्पनीले आफ्नो कोषबाटसमेत भनेको भन्दा बढी भुक्तानी गरिरहेका छन्।'
सोही मापदण्डअनुसार कोरोना बीमाको दाबी भुक्तानी एक अर्ब रूपैयाँसम्म बीमकले गर्ने, थप एक अर्ब रूपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ। त्यसले पनि नपुगेको अवस्थामा बीमा समितिबाट थप एक अर्ब बेहोर्ने र कम्पनीहरूको महाविपत्ति कोषबाट ५० करोडसम्म बेहोर्न सकिने उल्लेख गरिएको थियो।
यसरी कुल तीन अर्ब ५० करोडसम्म दाबी बेहोर्दा पनि नपुगेको अवस्थामा सरकारले हेर्ने सहमति गरिएको थियो। समितिका अनुसार कम्पनीहरूले महाविपत्ति कोषबाटै पनि करिब १५ हजारलाई डेढ अर्ब रकम भुक्तानी गरेका छन्।
पछिल्लो समय निर्वाचनअगाडि नै यस्ता दाबीहरूको भुक्तानी गर्ने भनिएको थियो भन्दै टिप्पणीहरू आइरहेका छन्। तर अर्थ मन्त्रालयले यस्तो नभनिएको दाबी गरेको छ।
'हामीले स्थानीय तह निर्वाचनअगाडि यस्तो भुक्तानी गर्ने भनेका होइनौ,' मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले स्पष्ट पारे, 'तर जेठ मसान्तसम्म भुक्तानी गर्ने सोचमा तयारी गरिरहेका छौं।'
मन्त्रालयले यसो भनिरहँदा यस्तो दाबी खर्च बेहोर्ने स्रोत भने फेला पार्न सकेको छैन। बीमा कम्पनीहरूको उक्साहटमा नेपालमा मात्रै पहिलो पटक कोरोना बीमाको अभ्यास थालिएको थियो। सुरूआती क्रममा कोरोना संक्रमण दर खासै नबढ्ने र राम्रो कमाइ हुने देखेर कम्पनीहरूले बीमा समितिको आडमा यस्तो योजना सुरू गरेका थिए। संक्रमणदर बढ्दै जाँदा कम्पनीहरूले यस्तो बीमा जारी गर्नै रोके। बीमा कम्पनीहरूले २०७७ भदौदेखि पोलिसी बिक्री रोकेका थिए।
सरकारले सामाजिक दायित्व लिने गरी यसलाई सोही भदौ २८ गते मापदण्ड परिवर्तन गरियो र पुनः सञ्चालन गरियो। अहिले अपेक्षितभन्दा धेरै भुक्तानी दायित्व बढेपछि सरकारलाई समेत टाउको दुखाइ बनेको छ।
बीमा दाबी भुक्तानी नगर्दा कम्पनीहरूप्रति सर्वसाधारणको विश्वास घट्न सक्ने भएकाले उनीहरूले आफ्नै तहमा पनि न्यूनदरमा भुक्तानी गरिरहेका छन्। बीमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६ जनाको कोरोना बीमा गरेका थिए। जसबाट एक अर्ब एक करोड ९१ लाख रूपैयाँ प्रिमियम उठाएका थिए। कुल बीमितमध्ये एक लाख ६० हजारभन्दा बढीले दाबी गरेको बीमा समितिका प्रवक्ता निर्मल अधिकारीले बताए।