भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको दाबीमध्ये निर्जीवन बीमा कम्पनीहरूले अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिब २ अर्ब ७९ करोड ७४ लाख रूपैयाँ बीमितहरूलाई भुक्तानी गरेका छन्।
निर्जीवन बीमा कम्पनीहरूमा कुल २३ अर्ब २३ करोड ३७ लाख रूपैयाँ दाबी परेको थियो।
सम्पत्ति बीमातर्फ २ अर्ब २७ करोड ११ लाख रूपैयाँ र मोटर बीमातर्फ ४७ करोड ७७ लाख भुक्तानी दिएको निर्जीवन बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणलाई दिएको तथ्यांकमा उल्लेख छ।
सम्पत्ति बीमातर्फ ६७३ वटा दाबी परेको थियो। यस्तो दाबी रकम कुल १९ अर्ब १ करोड ९४ लाख रूपैयाँ छ।
मोटर बीमातर्फ २ हजार २७० वटा दाबी परेको थियो। यस्तो दाबी रकम कुल ३ अर्ब ४४ करोड २६ लाख रूपैयाँ छ।
यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ वटा दाबीमा करिब ३६ करोड ७९ लाख रूपैयाँको दाबी परेको हो। यसमध्ये कम्पनीहरूले ४ करोड ६२ लाख भुक्तानी गरेका छन्।
अन्य बीमातर्फ कुल ३८ करोड ७२ लाख रूपैयाँको ४० वटा दाबी परेको हो। यसमध्ये करिब २२ लाख रूपैयाँ अग्रिम भुक्तानी भएको छ।
परिवहन बीमातर्फ १२ वटा दाबीमा १ करोड ६६ लाख माग गरिएको छ।
पुनर्बीमा कम्पनीबाट निर्जीवन बीमा कम्पनीहरूलाई एक अर्ब ९९ करोड २२ लाख अग्रिम पेश्की भुक्तानी भएको छ।
नेपाल पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरूबाट कूल २ हजार ८६८ वटा दाबी परेको छ। यो दाबीमा १६ अर्ब ५ करोड १३ लाख रूपैयाँ पुनर्बीमा दाबी गरिएको छ।