निजी स्टक एक्सचेन्जका लागि तीन वटा संस्थाको आवेदन परेको छ।
हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आवेदन दिएका हुन्।
बोर्डमा यस्तो आवेदन दिने आइतबार अन्तिम दिन हो। बोर्डले चैत ३१ गते दस दिनको अवधि दिँदै यस्तो आवेदन माग गरेको थियो।
हिमालयन स्टक एक्सचेन्जमा शंकरलाल अग्रवाल, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्योति समूहका शौरभ ज्योति, रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ।
नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ।
बेलायत बसेर व्यापार गरिरहेका रविजंग लामिछाने पनि यसका सेयर लगानीकर्ता छन्। साथै, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको मुख्य लगानी रहेको नेसनलले आइतबार बोर्डमा आवेदन दिएको हो।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, रिलायन्स ग्रुपका विनोदकुमार अग्रवाल, नारायण तोदी, भरतकुमार तोदी, ऋषि अग्रवाल लगायतको व्यक्तिगत सेयर लगानी समेत रहेको बुझिएको छ।
त्यस्तै, अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती छन्।
यी तीनमध्ये हाललाई एउटाले स्टक एक्सचेन्जको अनुमति प्राप्त गर्नेछ। धितोपत्र बजार सञ्चालन नियमावली २०७९ ले प्राइभेट कम्पनी वा संगठित संस्थाले मात्रै धितोपत्र बजार (स्टक एक्सचेन्ज) को सेयर लिन सक्ने व्यवस्था गरेको छ।
आवेदकहरूले संस्था दर्ता गरेर आवेदन दर्ता गरेका हुन्।
पाँच महिनाअघि गैरकानुनी रुपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो।
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले स्टक एक्सचेन्ज खोल्ने बाटो खुला गरिदिएसँगै प्रक्रिया अगाडि बढेको हो।
नयाँ स्टक स्थापनाका लागि तीन अर्ब रूपैयाँ चुक्ता पुँजी तोकिएको छ। यसमध्ये संस्थागत लगानीकर्ताले ७० प्रतिशत लगानी गर्न सक्छन्।
स्टक एक्सचेन्ज सञ्चालनमा आएको दुई वर्षभित्र आफ्नो जारी पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नुपर्ने हुन्छ।
हाल सरकारको मुख्य लगानीमा रहेको नेपाल स्टक एक्सचेञ्ज सञ्चालनमा छ।
त्यस्तै, तथा वस्तु बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनको लागि मल्टी डेरिभेटिभ्स एक्सचेन्ज, मल्टी एसेस्ट्स एण्ड डेरिभेटिभ एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ्स एक्सचेन्ज र नेपाल मल्टी कमोडिटी एक्सचेन्जको आवेदन परेको छ। यी मध्ये दुई वटाले मात्र अनुमति प्राप्त गर्नेछन्।