धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज छनोट गर्न मूल्यांकन समिति बनाएसँगै अधिकांश लगानीकर्ताहरू सकारात्मक छन्।
नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि बोर्डमा हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ।
तर, धेरैमा यी संस्थामा सूचीकृत हुने कम्पनीको सेयर डिम्याट र राफसाफ प्रणाली कस्तो हुन्छ भन्नेमा अन्योल नै छ। हाल नेपालमा एक मात्र स्टक एक्सचेन्ज छ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)।
नेप्सेकै स्वामित्वमा रहेको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले लगानीकर्ताहरूको सेयर अभौतिकीकरण रुपमा राख्ने (डिम्याट गरिदिने) र तिनको कारोबारको राफसाफ गर्ने गरिरहेको छ।
सेयर डिम्याटको लागि बैंक र ब्रोकरहरुले निक्षेप संग्रहकर्ता (डिपोजिटरी पार्टिसिपेन्ट्स) को सदस्यता लिएर काम गर्छन्।
हामीले नयाँ स्टक एक्सचेन्जको अनुमति मागेका यी कम्पनीका प्रतिनिधिहरूसँग यस प्रणालीको बारेमा सोधेका छौं।
प्रारम्भिक चरणमै रहेकोले अहिले नै यस बारेमा भन्न सक्ने अवस्थामा यी प्रतिनिधिहरू पनि देखिँदैनन्।
'हामीले अहिलेसम्म सेयर डिम्याट र राफसाफ गर्ने प्रणाली आफैँले विकास गर्ने हो वा अहिले बजारमा रहेकै प्रयोग गर्ने हो भन्नेमा कुनै निर्णय गरेका छैनौं,' हिमालयन स्टक एक्सचेन्जका एक प्रतिनिधिले बताए।
आवेदन दिएको नेशनलको भने आफैँले यी प्रणालीको विकास गर्ने योजना रहेको छ। कम्पनी प्रतिनिधि तथा गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले भने, 'हामीले स्टक एक्सचेन्ज र डिपोजिटरी आफैँले गर्नेछौं।' उनले नेशनल स्टक एक्सचेन्जमा गैर आवासीय नेपालीहरूको रहेकोले यस स्टक एक्सचेन्जले अनुमति पाएमा बाह्यबाट विदेशी मुद्रामा पुँजी भित्रिने समेत बताए।
अन्नपूर्ण स्टक एक्सचेन्जका प्रतिनिधिहरूसँग भने सम्पर्क हुन सकेन। यी तीन मध्ये एउटा कम्पनीले मात्रै धितोपत्र बोर्डबाट स्टक एक्सचेन्ज सञ्चालनको अनुमति पाउनेछ।
यदी छनोट भएको कम्पनी सूचीकृत कम्पनीहरूको सेयर डिम्याट र राफसाफ गर्ने प्रणाली विकास नगर्ने निष्कर्षमा पुगेमा भने यी कम्पनीले सिडिएससी कै प्रणाली प्रयोग गर्नुपर्ने हुन्छ।
तर, सिडिएससीले आफ्नो प्रणालीमार्फत् दिने सेवा मुल कम्पनीबाहेक अन्यलाई दिने नदिने कस्तो निर्णय गर्छ भन्ने अहिले नै भन्न सकिने अवस्था भने छैन।
'हामीले जुनसुकै स्टकमा सूचीकृत कम्पनीको कारोबार राफसाफ गर्न सक्ने क्षमता छ,' सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, 'धितोपत्र बोर्डसँगको अनौपचारिक छलफलमा पनि हामीले यो जानकारी दिएका छौं, तर यसको लागि के के नीतिगत आवश्यकता चाहिन्छ भन्नेर हामीले बुझ्नै बाँकी छ।'
सिडिएससी नेप्सेको सहायक कम्पनी भएकोले समेत उसको सहमति भने आवश्यक पर्ने हुनसक्छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्, 'नेप्सेको सञ्चालक समितिले यस्तो सेवा बिक्री गर्ने प्रस्ताव स्वीकृत गर्नुपर्छ, त्यसैले समितिले के निर्णय गर्छ त्यसैमा भर पर्छ।'
अहिले लगानीकर्ताहरूमा अन्य दुविधा पनि छ। अहिले सञ्चालनमा रहेको नेप्सेमा सूचीकृत कम्पनी अब आउने नयाँ स्टक एक्सचेन्जमा पनि सूचीकृत हुनसक्छन् वा सक्दैनन्? यदी दुवै तर्फ यी कम्पनी सूचीकृत हुने हो भने नयाँ स्टकमा सूचीकृत हुँदा लिने पहिलो मूल्य कुन हुनेछ? दुवै तर्फ कारोबार हुँदा अन्तिम मूल्य फरक नपर्ने गरी कसरी प्रणालीको विकास गरिनेछ? जस्ता दुविधा लगानीकर्ताहरुमा देखिएको छ।
विज्ञहरूका अनुसार अहिले जसरी एउटै व्यक्तिको दुई वा दुईभन्दा बढी बैंकमा निक्षेप खाता छ र उसले एउटाबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्दा एउटामा सो रकम घट्ने र अर्को बैंकमा जम्मा भएको देखिने हुन्छ।
त्यस्तै, सेयर कारोबारपछिको राफसाफमा पनि हुनेछ। तरपनि सेयर कारोबारको क्रममा भने एउटै सेयर दुईतिरै कारोबार हुनसक्ने जोखिमलाई समाधान गर्न एउटा डिम्याट खातामा रहेको सेयर एउटै ब्रोकरबाट मात्रै किनबेच हुनसक्ने व्यवस्था गर्नुपर्ने हुनसक्छ।
हाल एउटा व्यक्तिले दुई वटासम्म डिम्याट खाता खोल्न पाउँछन्। खाता जतिसुकै भएपनि एउटा डिम्याट खातामा भएको सेयर निश्चित अवधिसम्म एउटै ब्रोकरबाट मात्र कारोबार गर्ने व्यवस्था गरिएमा भने एउटै सेयर दुईतिरबाट कारोबार हुने जोखिम रहँदैन।
हाल सेयर खातामा राखिदिने ब्रोकर जस्ता कम्पनीहरूको पनि अलग्गै परिचय नम्बर रहने र लगानीकर्ताको पनि खाता अनुसार अलग–अलग परिचय नम्बर हुने गरेको छ।
तर, कुनै खातामा रहेको एउटै कम्पनीको अलग अलग कारोबारबाट भएको सेयरको लागि अलगअलग संकेत नम्बर हुँदैन।
प्रणालीले कारोबार समय अनुसार अलगअलग मिति देखिने गरी सेयरको अभिलेख भने राखेको हुन्छ।
त्यसैले, एउटै खाताको सेयर एउटै ब्रोकरबाट मात्र किनबेच गर्न सक्ने व्यवस्था नगरिदा भने समस्या आउन सक्ने जानकारहरू बताउँछन्।
दुई वा सोभन्दा बढी एक्सचेन्ज हुँदा दुवैमा फरक फरक मूल्यमा एउटै कम्पनीको सेयर कारोबार भएमा जोखिम हुनसक्छ।
हामी कहाँ एक पटकदेखि अर्को पटकको कारोबारमा र दिनभरीको कारोबारमा निश्चित प्रतिशतले मात्र कम्पनीको मूल्य घटबढ हुन पाउने व्यवस्था छ। यो नियम दुवै एक्सचेन्जलाई लागू हुनसक्छ। तरपनि यसको लागि अन्य नीतिगत व्यवस्थाहरू पनि आवश्यक पर्ने देखिन्छ।
भारतमै पनि दुई ठूला राष्ट्रिय स्तरका एक्सचेन्ज छन्, नेशनल स्टक एक्सचेन्ज र बम्बे स्टक एक्सचेन्ज। एक व्यक्तिले एउटै कम्पनीको सेयर एकै दिन अलग–अलग एक्सचेन्जमा किन बेच्न गर्न नपाउने व्यवस्था त्यहा गरिएको छ।
नेपालमा पनि त्यस्तै कुनै व्यवस्था अवलम्बन गर्नुपर्ने हुनसक्छ।