भदौ एक महिनामा नेप्से १४ प्रतिशतले घट्दा आत्मनिर्भर लघुवित्त र विन नेपाल लघुवित्तको सेयर मूल्य उच्चले बढ्यो।
तीन हजार १६ रूपैयाँमा कारोबार भइरहेको आत्मनिर्भरको यो अवधिमा सेयर मूल्य ८२.३६ प्रतिशतले बढेर पाँच हजार पाँच सय रूपैयाँमा किनबेच भयो।
त्यस्तै, विन नेपाल लघुवित्तको सेयर मूल्य एक हजार चार सय ९० बाट ७८.५२ प्रतिशतले बढेर दुई हजार ६ सय ६० रूपैयाँ पुग्यो।
यी कम्पनीको सेयर मूल्य उच्च दरले वृद्धि हुनुमा यिनीहरूको चुक्ता पुँजी कम हुनु नै हो।
राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त कम्पनीहरूमा प्रदेशस्तरका लागि दुई करोड र राष्ट्रिय स्तरका लागि १० करोड रूपैयाँ चुक्ता पुँजी तोकेको छ।
यी दुवै कम्पनी प्रदेश स्तरका हुन्। आत्मनिर्भरको कार्य क्षेत्र लुम्बिनी प्रदेश र वीन नेपालको बागमती प्रदेश छ।
हाल विन नेपालको चुक्ता पुँजी सात करोड ९२ लाख र आत्मनिर्भरको ६ करोड ८५ लाख रूपैयाँ छ। लघुवित्त कम्पनीहरूले कम्तीमा ५१ प्रतिशत सेयर संस्थापकमा राख्नुपर्छ। अर्थात् मात्रै ४९ प्रतिशत बराबर सेयर सर्वसाधारणमा जारी गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले तोकेको छ।
नेप्सेमा उल्लेख भएअनुसार विन नेपालमा ३० प्रतिशत मात्रै सेयर सर्वसाधारण वर्गको छ। सात करोड ९२ लाख रूपैयाँ सेयर भएको सो कम्पनीको २ करोड ३७ लाख रूपैयाँ बराबरको सेयर मात्रै सर्वसाधारणमा छ।
त्यस्तै, आत्मनिर्भरको ३२.६३ प्रतिशत सेयर मात्रै सर्वसाधारण सेयरधनीसँग छ। ६ करोड ८५ लाख रूपैयाँ सेयर भएको सो कम्पनीको २ करोड २३ लाख रूपैयाँ बराबरको सेयर मात्रै सर्वसाधारणमा छ।
अहिले मध्यम लगानीकर्ताहरूसँगै प्रक्तिव्यक्ति सेयर सम्पत्ति एक दुई करोडभन्दा माथि भएको मानिन्छ। यस्तोमा एक दुई करोड रूपैयाँको सेयर कुनै एक व्यक्ति वा समूहले नै किनेर राख्ने र उचाइमा पुर्याएर बिक्री गर्ने प्रवृत्ति छ।
कस्ता छन् त यी कम्पनी?
समग्रमा यी कम्पनीको अवस्था नराम्रो छैन।
विन नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड १३ लाख रूपैयाँ नाफा कमाएको थियो। त्योभन्दा अघिको वर्ष कम्पनी ३५ लाख रूपैयाँ नोक्सानमा थियो।
अन्य सञ्चालन आम्दानी बढ्दा र ब्याज खर्च घटेपछि नाफामा सुधार हुन सहयोग पुगेको देखिन्छ। कम्पनीको प्रतिसेयर आम्दानी १४ रूपैयाँ ३५ पैसा छ। कम्पनीको कमाइलाई प्रतिकित्तामा भाग लगाउदा एक कित्ता सेयरमा कतिपर्छ भनेर यसले देखाउँछ। कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय १९ रूपैयाँ ९० पैसा छ।
कम्पनीको सञ्चित तथा जगेडा कोषमा एक करोड ५७ रूपैयाँ छ। कम्पनीहरूले आफ्नो साधारण जगेडा कोष चुक्ता पुँजीको दोब्बर नहुँदासम्म हरेक वर्ष नाफाबाट २० प्रतिशत रकम चुक्ता पुँजीमा राख्नु पर्छ।
यसो गर्दा गत आर्थिक वर्षमा एक करोड १३ लाख कमाएको यो कम्पनीले हालको चुक्ता पुँजीको आधारमा करिब ११.४१ प्रतिशत बराबर लाभांश बाड्न सक्ने देखिन्छ।
कम्पनीले अन्तिम पटक आर्थिक वर्ष २०७७/७८ मा ९.३३ प्रतिशत बोनस सेयर सहित ९.८३ प्रतिशत लाभांश दिएको थियो।
आत्मनिर्भरले गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३९ लाख रूपैयाँ नाफा कमाएको थियो। त्योभन्दा अघिको वर्ष कम्पनी चार करोड ८६ लाख रूपैयाँ नोक्सानमा थियो।
कम्पनीको सम्भावित जोखिम बापतको व्यवस्था बढेपछि नाफा घटेको देखिन्छ। कम्पनीको प्रतिसेयर आम्दानी करिब २० रूपैयाँ छ। कम्पनीको कमाइलाई प्रतिकित्तामा भाग लगाउँदा एक कित्ता सेयरमा कतिपर्छ भनेर यसले देखाउँछ।
कम्पनीको सञ्चिति तथा जगेडा कोषमा १९ करोड ८७ रूपैयाँ छ। कम्पनीहरूले आफ्नो साधारण जगेडा कोष चुक्ता पुँजीको दोब्बर नहुँदासम्म हरेक वर्ष नाफाबाट २० प्रतिशत रकम चुक्ता पुँजीमा राख्नु पर्छ।
हालको चुक्ता पुँजीको आधारमा कम्पनीसँग तीन गुणासम्म सञ्चिति छ। यसले गर्दा कम्पनीले उच्च लाभांश दिनसक्ने देखिन्छ।
कम्पनीले अन्तिम पटक आर्थिक वर्ष २०७९/८० मा १० प्रतिशत बोनस सेयर सहित पाँच प्रतिशत लाभांश दिएको थियो।