नौ दिनपछि २८ सय कटेको नेप्से बिहीबार भने सो तहबाट फेरि ओरालो लागेको छ। लामो समयदेखि नेप्से २८ सय पार गरेर बढ्ने प्रयासमा देखिदै आएपनि सफल हुन सकेको छैन।
यसदिन पनि बजार घट्न थाल्दा लगानीकर्ताहरू नाफा सुरक्षित गर्नै तल्लिन देखिए। यसले गर्दा सेयर बजार थप ओरालो लाग्न थाल्यो। बजार बन्द हुँदा नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ विन्दुमा आइपुग्यो।
सेयर बिक्री बढ्दा कारोबार रकममा पनि वृद्धि देखियो। अघिल्लो दिन सात अर्ब ६८ करोड रूपैयाँको सेयर किनबेच भएकोमा बिहीबार आठ अर्ब नौ करोड रूपैयाँको कारोबार भएको छ। यो ५.३३ प्रतिशतले धेरै हो।
कारोबारमा आएकामध्ये सामूहिक लगानी कोष र निर्जीवन बीमा कम्पनी बाहेक सबै समूहगत परिसूचक घटेका छन्। विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ।
यसदिन तीन सय २२ वटा लगानी उपकरणको कारोबार भएकोमा ४९ वटाको मूल्य बढ्यो, दुई सय ५७ वटाको मूल्य घट्यो। बाँकीको स्थिर रह्यो।
नेपाल पुनर्बीमा, हिमालयन रि इन्स्योरेन्स, हिमालयन डिष्टिलरी शिवम सिमेन्टमा लगानीकर्ता अझै आकर्षित देखिएका छन्। यी कम्पनीको ३५ देखि ६५ करोड रूपैयाँसम्म सेयर किनबेच भयो।
केही समयअघि सूचीकरण भएको विकास हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै बढेर यसदिन पनि सर्किट ब्रेक लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर पाँच सय ६८ रूपैयाँ पुगेको छ।
ओरियण्टल होटेलको सेयर मूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेर आठ सय ५९ रूपैयाँमा सेयर कारोबार भयो।