लक्ष्मी सनराइज बैंकको नाफा पाँच गुणाभन्दा धेरैले बढेको छ।
चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासमा बैंकको नाफा ५३ करोड ६४ लाख रूपैयाँ पुगेको छ।
बैंकको गत आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमासमा १० करोड ३० लाख रूपैयाँ नाफा भएको थियो।
बैंकको ब्याज आम्दानी घटे पनि ब्याज खर्च घट्दा र प्रावधानमा राखिने रकम घटेकोले नाफा बढ्न सहयोग पुगेको हो।
बैंकको ब्याज आम्दानी नौ अर्ब ३६ करोडबाट घटेर सात अर्ब ७२ करोड रूपैयाँमा सीमित भएको छ। बैंकको ब्याज खर्च भने उल्लेख्य घटेको छ।
बैंकको ब्याज खर्च ६ अर्ब ४६ करोड रहेकोमा यसपटक घटेर पाँच अर्ब पाँच करोडमा सीमित भएको छ।
बैंकले यसअघि दुई अर्ब १४ करोड प्रावधान राखेकोमा यसपटक मात्रै एक अर्ब १६ लाख रूपैयाँ बराबर प्रावधान राखेको छ।
बैंकको प्रतिसेयर आम्दानी एक रूपैयाँ ९० पैसाबाट बढेर ९ रूपैयाँ २५ पैसा पुगेको छ।
बैंकको पहिलो त्रैमाससम्मको वितरण योग्य नाफाको आधारमा ६.४३ प्रतिशत लाभांश क्षमता देखिएको छ।