जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय व्यापार समीक्षा बैठक गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो।
कम्पनीका संचालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताए।
उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना रहेको बताए।
नेपाल लाइफको टिम बीमा उद्योगमानै सबैभन्दा उत्कृष्ट रहेको र यस टिमको परिचालनले उद्योगमा आमूल परिवर्तन ल्याउनेमा आफू निर्धक्क रहेको उनको भनाइ छ।
उनले सरोकारवालाहरूलाई उच्चतम प्रतिफल प्रदान गर्ने अभिप्रायका साथ कम्पनीले लगानीलाई विविधिकरण गर्दै लगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु, कर्मचारीहरु तथा समस्त सरोकारवालाहरुलाई धन्यवाद दिए।
कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति सबै सहयोगी हातहरुप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता थियो।