पुराना र २०७९ सालबाट सञ्चालनमा आएका नयाँ ब्रोकरहरूको अलग–अलग संगठन रहँदै आएकोमा यी दुई ब्रोकर संगठनबीच मर्जर भएको छ।
हाल सञ्चालनमा रहेका स्टक ब्रोकर्स एसोसिएसन र धितोपत्र ब्रोकर्स एसोसिएसनबीच मर्जर सम्झौता भएको हो।
मर्जरपछि बनेको स्टक ब्रोकर्स एसोसिएसनको आगामी मंसिर २० मा साधारण सभा हुँदैछ। त्यसले नयाँ नेतृत्व समेत चयन गर्नेछ।
यसरी एउटै संगठन बनिरहँदा यसले समग्र बजारलाई के कसरी लाभ पुग्छ भनेर हामीले एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटालाई तीन प्रश्न गरेका छौं।
दुई संगठनको यो मर्जरपछि यसले सेयर बजारलाई के प्रभाव पर्छ?
हामी ब्रोकरहरूले विगतदेखि नै आफ्नो स्वार्थभन्दा माथि उठेर पुँजी बजारकै लागि आवाज उठाउँदै आएका छौं। पुँजी बजारको विकास कसरी गर्न सकिन्छ, भनेर हामीले नियामक धितोपत्र बोर्डलाई सुझाव दिँदै आएका छौं।
पुँजी बजारको विकास नहुँदा यसले लगानीकर्तालाई मात्रै घाटा होइन हामीलाई पनि हुन्छ।
यसले ब्रोकरहरूलाई के प्रभाव पर्छ?
हामीले आफूले ल्याउन सक्ने प्रडक्ट, नीतिगत व्यवस्थामा राख्ने मागमा नियामकहरूले अहिले पनि 'विभाजन गर र राज गर' भन्ने तरिकाले काम गरिरहेको महसुस हामीलाई भइरहेको थियो। अब यस्तो हुने छैन।
अहिले पनि धितोपत्र बोर्डका अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिरहेको छ। यस्ता विषयमा जोडबलले आवाज उठाउन सकिएको छैन।
यसले सेयर लगानीकर्ताहरूलाई के प्रभाव पर्छ?
हामीले बजारकै पक्षमा आवाज उठाउने भएकोले यसको लाभ बजार, लगानीकर्ता र हामी सबैले पाउँछौं।
संगठित रूपमा आउने हाम्रो धारणाले सरकारलाई सेयर बजारलाई पहिलो प्राथमिकतामा राख्ने बनाउन सकिनेछ। बजार विस्तार र विकासको काम धितोपत्र बोर्डको हो। हामीले यसमा जहिले पनि सहयोग गर्दै आएका छौं।
अहिले नै पनि हामीहरूले नेप्सेले प्रदान गरेको बाहेक अलग कारोबार प्रणाली टिएमएस अभ्यासमा ल्याएका छौं। यसमा नेप्सेले दिएको प्रणालीको भन्दा थप विशेषताहरू छन्।
यसको सुरुवात भइसकेको छ। हाम्रो बजार सानो भएकोले ब्रोकरहरू एक्लै एक्लैले यो प्रणाली ल्याउन सक्ने थिएनन्।
ब्रोकरहरू मिलेर यो प्रणाली ल्याइएको हो। भोलिका दिनमा यी दुई मात्रै नभएर थप यस्ता प्रणाली पनि ल्याउन सकिनेछ।
यस्ता विषयमा ब्रोकरहरू संगठित हुँदा लगानीकर्ताले पनि लाभ पाइरहेका छन्।