साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेको छ।
बिहीबार नेप्से ३१.३१ अंकले घटेर २६८०.४४ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से परिसूचक घटे पनि कारोबार रकम भने केही बढेको छ।
गत कारोबार दिन अर्थात् बुधबार ७ अर्ब ९ करोडको सेयर कारोबार भएकोमा बिहीबार ८ अर्ब २५ करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १६ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१४ वटा धितोपत्रको एक करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ वटाको घटेको छ। यस्तै, चार कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावर पावरको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ६५१ रूपैयाँ १० पैसा र ९७३ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, जानकी फाइनान्सको मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ९६५ रूपैयाँ १० पैसामा झरेको छ।
दोस्रोमा नारायणी डेभलपमेन्ट बैंकको मूल्य ७.२६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३५ रूपैयाँ कायम भएको छ।
बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४७९ रूपैयाँमा २५ करोड २४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.९० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०१ रूपैयाँमा २३ करोड ३३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन वित्त समूहको परिसूचक सर्वाधिक २.८६ प्रतिशतले घटेको छ।
दोस्रोमा होटल्स तथा पर्यटन समूहको परिसूचक १.७३ प्रतिशतले घटेको छ।