कर्जा लगानी बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै छ। बैंकहरूमा करिब सात खर्ब हाराहारी कर्जा लगानी योग्य रकम र तरलता छ।
यही कारण राष्ट्र बैंकले बैंकहरूबाट सातामै अर्बौ रकम तान्ने र छोड्ने गरिरहेको छ। बुधबार मात्रै राष्ट्र बैंकले बैंकहरूबाट एक खर्ब रूपैयाँ रकम तान्न लागेको हो।
राष्ट्र बैंकले २१ दिनको लागि यसरी बैंकहरूमा बढी भएको रकम तान्न लागेको हो। बैंकहरूले पुस २४ गते यो रकम फिर्ता पाउँनेछन्।
आज पुस ३ गते नै यसअघि बैंकहरूले राखेको एक खर्ब रूपैयाँ परिपक्व हुँदैछ। बैंकहरूले गत मंसिर १२ गते राखेको एक खर्ब रूपैयाँ परिपक्व भएपछि यति नै रकम प्रणालीबाट तान्न लागेको हो।
राष्ट्र बैंकले पटक–पटक गरेर बैंकहरूबाट एक सय १५ खर्बभन्दा धेरै रकम खिचिसकेको छ। यो रकम निश्चित समयको लागि तान्दै फेरि फिर्ता गर्दै गरेको कुल रकम हो।
पुस दुई गतेसम्मको तथ्यांक अनुसार बैंकहरूले राष्ट्र बैंकमा यसरी राखेको रकम तीन खर्ब ५९ अर्बसम्म छ। यस्तो सञ्चित रकम भने बढ्दो क्रममा छ। मंसिर ९ गते बैंकहरूले यसरी राखेको रकम मात्रै तीन खर्ब आठ अर्ब रूपैयाँ थियो।