नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन्।
एक औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरे।
यसअघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा थिए।
चेत प्रसाद उप्रेतीसँग केन्द्रिय बैंकको विभिन्न विभागमा २७ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ भने उनी त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री होल्डर हुन्।
हाल उनी राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा आबद्ध छन्।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन्।
एनसिएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो।