तपाईं पैसा कहाँ राख्नुहुन्छ?
यो प्रश्न किन पनि गर्नु परेको हो भने अहिले नेपालीहरूको पैसा राख्ने ठाउँ फेरिँदै गएको छ।
पहिले कुरा गरौं, पैसा कहाँ-कहाँ राखिन्छ?
सामान्यतया बजारमा रहेको पैसालाई दुई तरिकाले बुझ्न सकिन्छ। चलनचल्तीमा रहेको पैसा र अर्को निक्षेपको रूपमा बैंकमा रहेको पैसा।
यो असोजमा बजारमा ६ खर्ब ९० अर्ब रूपैयाँ बराबरका नोट चलनचल्तीमा छन्।
सर्वसाधारणको खल्तीमा वा घरमा, बैंकमा राख्न भन्दै सहकारीका कर्मचारीले भिरिरहेको झोलामा, कार्यालयहरूका सेफमा जहाँ पनि हुनसक्ने पैसा हो यो। यो बैंकिङ प्रणाली बाहिर रहेको पैसा हो।
यो बैंकको भल्टमा राखिएको बाहेकको पैसा हो। बैंकहरूसँग भल्टमा रहेको यस्तो भौतिक पैसा भने एक खर्ब एक अर्ब रुपैयाँ बराबर छ। बजारमा ६ खर्ब ९० अर्ब रूपैयाँ र बैंकहरूका भल्टमा एक खर्ब एक अर्ब बराबर पैसा हुँदा बजारमा कुल सात खर्ब ९१ अर्ब बराबरका नोट प्रयोगमा छन्।
अहिले बैंकहरूमा रहेको निक्षेप भने ७५ खर्ब ११ अर्ब रूपैयाँ छ।
त्यसैले भौतिक मुद्रा र निक्षेप अलग कुरा हुन्।
निक्षेप भनेको बैंकहरूले विद्युतीय रूपमा राख्ने अभौतिक मुद्रा हो। कुनै व्यक्ति, कार्यालय वा जोसुकैले भौतिक रूपमा राखेको बाहेकका सबै पैसा बैंकिङ प्रणालीमा निक्षेपको रूपमा रहेको हुन्छ।
सहकारी, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाले सर्वसाधारणबाट पाएको धेरैजसो पैसा पनि बैंकमा लगेर निक्षेपको रूपमा राखिएको हुन्छ।
कुनै लगानी वा सम्पत्तिको तुलनामा भौतिक मुद्रामा तुरून्तै परिर्वतन गर्न सकिने उपकरण भनेकै निक्षेप हो।
निक्षेपकर्ताले चाहेको जुनसुकै समयमा पैसा झिक्न चाहँदा भौतिक मुद्रा पाउन सक्छ। जुन लगानी वा सम्पत्तिमा सम्भव हुँदैन।
यही भुक्तानी दिने उदेश्यको लागि बैंकहरूले भल्ट (कार्यालयका भल्ट वा एटिएम मेसिनहरू) मा भौतिक मुद्रा नै राखेका हुन्छन्।
यसरी तत्कालै नगद पाउने वा कारोबार गर्न सकिने गरेर पैसा राख्ने ठाउँ बैंक मात्रै हो त?
अवश्य होइन।
यसको नयाँ माध्यम बनेको छ, इ-मनि।
इ-मनि भनेको इसेवा, खल्ति जस्ता वालेट एपमा सर्वसाधारणले राखेको पैसा हो। राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले सर्वसाधारणले इ-मनिको रूपमा १० अर्ब ३६ करोड रूपैयाँ राखेका छन्।
राष्ट्र बैंकसँग यस्तो तथ्यांक रहँदै आएको भए पनि पहिलोपटक असोजबाट यस्तो तथ्यांक सार्वजनिक गर्न थालेको छ।
‘यस्ता वालेटहरू पनि कारोबारको मुख्य माध्यम बन्न थालेसँगै यसको तथ्यांक सार्वजनिक जानकारीमा ल्याउनुपर्ने देखिएको थियो,’ राष्ट्र बैंकका निर्देशक सुवास चन्द्र घिमिरेले बताए।
पानीको पैसा तिर्नदेखि विद्यालयका शूल्क तिर्न वालेट प्रयोग हुन थालेसँगै यसमा राखिने पैसा र कारोबार दुवै बढेका छन्। असोजमा कारोबार वा भुक्तानीको लागि वालेटहरू तीन करोड ७२ पटक प्रयोग भएका छन्। असोजमा यसरी ४६ अर्ब रूपैयाँ बराबरको कारोबार भएको छ।
वालेट एपहरू मार्फत् कारोबार बढ्दै जाँदा बैंकमा निक्षेप राखे जसरी सर्वसाधारणले वालेटहरूमा पैसा राख्ने क्रम समेत बढ्दै गएको छ।
पछिल्लो समय यस्ता एपमा राखिने रकम बढ्दै गइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ साउनमा यस्तो एपमा ६ अर्ब २० करोड रहेकोमा असोजसम्ममा ६६.८ प्रतिशतले बढेको हो।
एपमा राखिने रकम घटबढ भने भइरहन्छ। यद्यपी यो १५ महिनाको अवधिमा एपहरूमा मासिक सरदर आठ अर्बभन्दा बढी रकम रहने गरेको छ।
वालेटमा रहेको पैसा पनि वालेट कम्पनीहरूले भुक्तानी सुनिश्चितताको लागि भने बैंक तथा वित्तीय संस्थाहरू मै राखेका हुन्छन्।
वालेटहरुमा मासिक रुपमा रहेको इमनिको विवरण-
| महिना |
इ मनि रु. |
| साउन २०८१ |
६ अर्ब २० करोड |
| भदौ |
६ अर्ब ४५ करोड |
| असोज |
७ अर्ब ४४ करोड |
| कात्तिक |
७ अर्ब २५ करोड |
| मंसिर |
८ अर्ब १८ करोड |
| पुस |
६ अर्ब ९० करोड |
| माघ |
७ अर्ब ५७ करोड |
| फागुन |
८ अर्ब २४ करोड |
| चैत |
८ अर्ब २४ करोड |
| वैशाख २०८२ |
८ अर्ब ६६ करोड |
| जेठ |
८ अर्ब ९२ करोड |
| असार |
७ अर्ब ८० करोड |
| साउन |
९ अर्ब ६० करोड |
| भदौ |
९ अर्ब ८३ करोड |
| असोज |
१० अर्ब ३६ करोड |