जलविद्युत् आयोजनाका उपकरण उपकरण आपूर्तिकर्ता कम्पनी एन्ड्रिज हाइड्रोले ‘ग्राहक भेटघाट कार्यक्रम’ आयोजना गरेको छ।
बिहीबारसम्म चल्ने अष्ट्रियन कम्पनीको कार्यक्रममा पाँच सयभन्दा बढी प्रबद्र्धक, विज्ञ, तथा जलविद्युत् प्रवद्र्धनमा चासो राख्नेहरुको सहभागिता रहेको छ।
कार्यक्रम उद्घाटनको अवसरमा नेपालका लागि अष्ट्रियाकी राजदूत ब्रिगिट ओपिनिगर वाल्सफोरले नेपालमा जलविद्युत् विकासलाई प्राथमिकतामा पर्नुपर्ने बताइन्। नवीकरणीय तथा स्वच्छ उर्जाले वातावरणीय प्रदूषण न्यूनीकरण गरी पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउन मद्दत गर्ने उनको भनाइ थियो ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको कुल जलविद्युत् उत्पादन क्षमताको दश प्रतिशतभन्दा कममात्र दोहन भएको भन्दै एन्ड्रिजका लागि नेपाल ठूलो बजार रहेको उल्लेख गरे। एन्ड्रिजले नेपालमा विगत दुई दशकदेखि उपकरण आपूर्ति गर्दै आएको छ । एण्ड्रिजका उपकरण गुणस्तरीय तथा आपूर्तिपछिको सेवा पनि विश्वसनीय रहेको उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि कमर्सियल कन्सुलर ओस्कर एण्ड्सनरले एन्ड्रिजले नेपालमा २० वर्षदेखि काम गर्दै आएको र अन्य अष्ट्रियन कम्पनीहरु पनि नेपालमा व्यवसाय गर्न इच्छुक रहेको बताए। नेपालमा अस्ट्रियन लगानी प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक ‘नेपाल—अस्ट्रिया इकोनोमिक फोरम’को आयोजना गरिएको उल्लेख गर्दै अन्य कम्पनीहरु पनि एन्ड्रिजजस्तै च्याम्पियन हुने उनले आशा व्यक्त गरे।