गुणस्तर तथा नापतौल विभागले थप ३ ग्यास उद्योगलाई एनएस (नेपाल स्ट्याण्डर्ड) चिन्ह प्रदान गरेको छ।
यससँगै चिन्ह पाउने उद्योगको संख्या सात पुगेको छ।
पछिल्लो पटक चिन्ह प्राप्त गर्ने उद्योगहरुमा वीरगञ्जको एनएल ग्यास, नवलपरासीको जानकी ग्यास र काठमाडौंको मेट्रो ग्यास रहेका छन्।
यसअघि धादिङका श्री कृष्ण र साइ बाबा, वीरगञ्जको मनोज तथा काठमाडौंको नेपाल ग्यास उद्योगले मात्र एनएस चिन्ह पाएका थिए।
यी उद्योगहरुले आवश्यक मापदण्ड लगायतका सम्पूर्ण पक्रिया पुरा गरेकाले एनएस चिन्ह दिइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए।
‘केहि समयअघि यी ३ उद्योगले चिन्ह प्राप्तिका लागि आवेदन दिएका थिए। हामीले प्रक्रियागत अनुगमन गर्दा आवश्यक मापदण्ड पुरा गरेको देखिएकाले एनएससहित प्रमाणिकरण गरेका हौँ’ पुडासैनीले भने।
देशभर ग्यास उद्योगको संख्या ५५ वटा रहेकोमा ४८ वटा अझै पनि सम्पूर्ण सुरक्षा मापदण्डभित्र आइसकेका छैनन्।
एनएस चिन्ह नपाएका ४८ वटै उद्योगले चिन्ह प्राप्तिका लागि आवेदन दिएकाले तीनलाई एक महिनाभित्रमै कानुनी मापदण्डभित्र ल्याउन विभाग प्रतिवद्ध भएर लागि परेको पुडासैनी दाबी गर्छन्।
पुडासैनीको भनाईमा यी ४८ मध्ये १२ वटा उद्योग चिन्ह प्राप्तिको अन्तिम प्रक्रियामा छन्। ‘चिन्ह नलिएका १२ वटा उद्योगमा हामीले चरणवद्ध अनुगमन गरिरहेका छौँ। सबै मापदण्ड पुरा गरेको पाइएमा तीनलाई पनि चिन्ह प्रदान दिइने छ’ उनले भने।
पुडासैनीका अनुसार आवेदन दिएका र अन्तिम प्रक्रियामा रहेका उद्योगहरुमा कोशी, नोबेल, श्री राम, त्रिशुल, नमस्ते, सगरमाथा, सिदार्थ,बाबा, श्री ग्यास लगायतका छन्।
त्यस्तै अन्य ३६ ग्यास उद्योगहरुले मापण्डभित्र पर्ने गरी सुधार तथा अपग्रेडको कार्य गरिरहेको जनाउसहित चिन्हका लागि आवेदन दिएका छन्। ती उद्योगहरुलाई डेढ महिनाको समय दिई अनुगमनलाई समेतसँगै लैजाने कार्यं भइरहेको पुडासैनीले सेतोपाटीलाई बताए।
विभागले गत वर्षभित्रै एनएस चिन्ह लिन ग्यास उद्योगहरुलाई बारम्बार सचेत गराएको थियो। तर उद्योगहरुले भने संवदेनशील बस्तुमा अपनाइनु पर्ने सुरक्षा मापदण्डमा पालनमा अटेर गरेर बसेका थिए।
ग्यास उद्योगीले भने सरकारले तोकेको मापदण्डका सम्पूर्ण नियम पालना गर्ने क्षमतामा नरहेको भन्दै आलटाल गरिरहेका थिए। विभागले समेत अटेर गरेर बसेका ती उद्योगहरुलाई कारबाही गर्ने तर्फ कुनै चासो लिएको थिएन्।
तर केहि महिनाअघि वीरगंजस्थित मापदण्ड विपरितको सुपर ग्यास उद्योगमा आगलागी हुँदा धनजनको क्षति भएपछि विभाग आक्रामक रुपमा प्रस्तुत भएको थियो।
सोक्रममा विभागले विभिन्न उद्योगमा अनुगमन गरी केहिमा सिलबन्दी गरी आवश्यक मापदण्ड पुरा गरेको वा गर्ने पक्रियामा रहेको उल्लेख गरिएको कागजपत्र लिई उपस्थित हुन निर्देशन दिएपछि भने सबै उद्योले चिन्हका लागि आवेदन दिएका छन्।
यसअघि ग्यास उद्योगीले भने सरकारले तय गरेको मापदण्ड पुरा गर्ने हो भने ठूलो आर्थिक भार थपिने भएकाले सो क्षमता नभएको भन्दै आलटाल गरिरहेका थिए।
विभागले ग्यास उद्योगका हकमा न्युनतम जग्गा, उद्योगमा प्रयोग भएका मेसिनको अवस्था, सिलण्डरको तौलमा एकरुपता, अप्रिय घटना हुन नदिन अप्नाउनु पर्ने सावधानी तथा तत्काल उद्धार गर्नुपर्ने अवस्था आए त्यसप्रतिको सचेतना, भल्भहरुमा सेफ्टी ट्याग, सरसफाई लगायतका विषयमा ताकिएको मापदण्ड पुरा गरेको देखिएमा नेपाल स्ट्याण्डर्ड चिन्ह प्रदान गर्छ।