नेपाली ब्रान्ड श्रृंखला
शुक्रबारको दिन थियो। बिलाल साथीहरूसँग रमाइलो गरेर अलि ढिलो घर फर्किए। बेलुकी करिब ११ बजे।
उनका बुबा सुतेकै रहेनछन्। बुबासँग यसै कुरा नमिल्ने। त्यसमाथि अबेरसम्म छोरा 'बरालिएको' देखेर उनले सातो खाए।
‘बुबाले त्यो दिन गरेको गाली अझै याद छ। 'तँबाट केही आश छैन। जे गर्न मन छ त्यही गर' भन्दै हप्काउनुभयो,’ बिलालले त्यो रातको घटना सम्झँदै भने, ‘उहाँको रिस जायज थियो। तर मलाई निन्द्रै लागेन। बुबाको शब्दले मन दुखायो। खुब रोएँ।’
बुबाको त्यही गालीले तप्काएका आँशु समेटेर बिलाल अहमद शाहले बनाए 'धड्कन'। अर्थात्- ल्याटिडो। छालाको ज्याकेट उद्योग।
'स्पेनी भाषामा ल्याटिडोको अर्थ धड्कन हुन्छ। मेरो कम्पनीका ज्याकेटले पनि मान्छेको मुटुसम्मै न्यानो बनाओस् भनेर मैले यो नाम सोचेको हुँ,' बिलालले मुस्काउँदै सुनाए।
ल्याटिडो ललितपुरको झम्सिखेल चोकमा छ। सुरूमा एउटा फल्याटमा दुई जना कालिगढबाट सुरू भएको यो उद्योगको अहिले ललितपुरमै छुट्टै पसल छ। कालिगढ १८ जना पुगिसके।
'छालाको ज्याकेट नै बेच्ने सोच कसरी आयो त,' २३ वर्षीय तन्नेरी बिलालसँग जान्न चाह्यौं।
उनले आफ्नो यात्रा सुनाए।
त्यो रात उनी ढिला आउँदा बुबाले यसै झपारेका रहेनछन्। उनी आफ्नो भविष्यको बाटोमा अलमलिएको बेला रहेछ। २०५२ सालमा काठमाडौंमा जन्मिएका बिलालले प्रारम्भिक अध्ययन चोभारको मोर्डन इन्डियन स्कुलबाट गरे। पढाइ राम्रो थियो। तर उनको चकचक थामिनसक्नु।
‘राम्रो पढेपछि त मैले जे गर्न पनि मिल्छ भन्ने सोच्थेँ। मलाई चकचक गरिरहनुपर्ने। सरहरूसँग पनि किचकिच गरिरहने। ममा गम्भीरता कम थियो,’ उनले सुनाए।
स्कुले जीवन यस्तै हर्कतमा बित्यो। डाक्टर बन्ने सोच बनाए। विज्ञान पढ्न भर्ना भए। १२ कक्षा पढ्दै गर्दा सोच फेरियो। उनलाई इञ्जिनियर बन्न मन लाग्यो। उनकी आमाको चाहना पनि छोरो इञ्जिनियर बनोस् भन्ने रहेछ।
‘म आफैंलाई मेरो लगाव केमा छ, के हुन चाहन्छु भन्ने थाहा थिएन। पढ्नमा राम्रो छु, अब इञ्जिनियर बन्छु भन्ने लाग्यो,’ उनले हाँस्दै भने।
उनले १२ कक्षा राम्रै अंक ल्याएर पास गरे। सन् २०१२ मा इञ्जिनियरिङ पढ्न भारतको बैंगलोर हानिए।
‘इञ्जिनियरिङ क्षेत्रमा व्यापक केही गर्छु भन्ने थिएन। एउटा डिग्री लिने न हो भन्ने लाग्यो। अनि इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा भर्ना भएँ।’
बिलाललाई यताउता डुल्न-घुम्न खुब मनलाग्ने। नेपाल हुँदा साथीभाइसँग कुदिरहन्थे। भारत बसाइमा झनै स्वतन्त्रता भयो। रोकटोक गर्ने कोही भएन। कलेज नगई बरालिँदै हिँड्न थाले। तै फेल भएनन्। तेस्रो सेमेस्टरमा भने हाजिर नपुगेर समस्या भयो।
‘हाजिर नपुगेका कारण परीक्षा दिनै पाइनँ। कलेजले सेमेस्टर दोहोर्याउनुपर्छ भन्यो,’ बिलालले सुनाए ‘बच्चादेखि नै पढाइ राम्रो छ भन्ने इगो थियो। कहिल्यै फेल नभएको। कक्षा दोहोर्याउनु नपरेको। त्यो बेला मलाई ठूलो धक्का लाग्यो। मैले दोहोर्याउन सकिनँ।’
बिलालले भारत र पढाइ दुवै छाडे। यो करिब पाँच वर्षअघिको कुरा। त्यसपछि उनी यसै अलमलिरहेका थिए। न पढाइ पूरा गरे। न कुनै कामकाज। बेलाबखत बाबुछोराको ठाकठुक।
बुबाको आर्थिक अवस्था गतिलो थिएन। बिलाल घरका जेठा छोरा। घर सम्हाल्न काँध थाप्नुको साटो उल्टै बोझ बनेको अनुभूति हुन्थ्यो उनलाई।
'घरको अवस्था खस्किँदै गएको थियो। मेरो भविष्य पनि,' बिलालले सुनाए, 'जागिर खाने कि फेरि पढ्ने केही सोच्न सकेको थिइनँ। इञ्जिनियरिङ चाहिँ गर्दिनँ भन्ने पक्का थियो। यस्तै कारणले म बुबाको गाली खाइरहन्थेँ। त्यो शुक्रबारको दिन भने बुबाकी हप्काइमा मैले मेरो बाटो भेट्नुरहेछ।'
गाली खाएको भोलिपल्टैदेखि उनले कुनै काममा असफल भएर पछि उकासिएकाहरूबारे खोज्न र पढ्न थाले।
‘म पनि असफलताबाट उकासिन सक्छु भन्ने लाग्यो। यसनिम्ति मान्छेका अगाडि बोल्न सिक्नुपर्यो, आफ्नो आइडिया बेच्न सक्नुपर्यो,’ उनले भने, ‘त्यसका लागि म विभिन्न कार्यक्रममा जाने, मान्छे भेट्ने र विभन्न प्रस्तुतिहरूमा बोल्ने गर्न थालेँ।’
यो क्रममा बिलालको सोचाइमा परिवर्तन आउन थाल्यो। जित्नुभन्दा अगाडि हार पनि चाहिन्छ भन्ने बुझे।
यहीबेला हो उनले व्यवसाय गर्ने सोच बनाएका। तर बैंगलोर पढ्न बस्दा उनका लागि परिवारले १० लाख हाराहारी खर्च गरिसकेको थियो। व्यवसाय गर्न पैसा कसरी ल्याउने?
उनले जुक्त्ति निकाले। बुबाकै व्यापार अँगाल्ने। अर्थात् छालाको ज्याकेट व्यवसाय।
‘बुबाले अरूका लागि ज्याकेट बनाउनु हुन्थ्यो। नयाँ बजारमा उहाँको पसल थियो। बन्द भइसकेको। मैले त्यही सुरु गर्ने निर्णय गरेँ,' बिलालले सुनाए, 'तर बुबाले कुरा सुनेर सोझै नकार्नुभयो।'
बन्द भइसकेको व्यापार उनको बुबाको अनुभवले सुरक्षित देखेन। भुक्तानीको समस्या थियो। फेरि ज्याकेटको दाम पनि महँगो पर्ने हुनाले बिक्रीमै समस्या हुने।
'मैले २० वर्ष काम गरेँ। यो चिज मान्छेलाई चिनाउनै मुश्किल हुन्छ। कसले किन्छ? त्यसमाथि कालिगढको समस्या। लिनेले समयमा भुक्तानी गर्दैन। त्यही भएर मैले यो काम छाडेँ। यो चल्दै-चल्दैन। हुँदै-हुँदैन,' बुबाको भनाइ उद्धृत गर्दै बिलालले भने, 'उहाँले जुन बजार देख्नुभएको थियो, त्यसमा लेदर ज्याकेटको भविष्य थिएन।’
तै उनले आफ्नो हठ छाडेनन्। बुबाको व्यवसायमा देखिएका कमजोरी सुधारेर जसरी भए पनि काम थाल्ने निधो गरे। बुबासँग काम गरेका पुराना कालिगढ काठमाडौं बाहिरै बस्न थालिसकेका थिए। उनीहरूमध्ये दुई जनालाई बोलाए। आमाले झम्सिखेलको सरस्वती मन्दिरनिर एउटा फल्याट खोजिन्। काम सुरू भयो।
काम थालेपछि उनको पहिलो ध्याउन्न थियो आफ्नो ज्याकेटको ब्रान्डिङ गर्नु।
'नाम निकै फरक र क्रिएटिभ राखौं भन्ने लाग्यो। बाइकका नामदेखि अमेरिकाका बन्दुक कम्पनीको नामसम्म खोजेर कापीमा लेखेँ। केही चित्त बुझेन। अनि मुटुसँग सम्बन्धित अरू भाषाका शब्द खोज्न थालेँ। त्यही क्रममा भेटेको हुँ ल्याटिडो,' उनले सुनाए, 'यो नाम सुनेर के हो यस्तो भन्दै बुबा हाँस्नुभएको थियो।'
यही नाममा कम्पनी दर्ता भयो।
बुबा हिँडेर रोकिएको बाटोमा आफ्नो भविष्य खोज्न थालेका बिलाललाई व्यापारको खास ज्ञान थिएन। त्यसैले उनले बुबाकै सहकर्मीको भर गरे। बुबाले जसलाई सामान दिन्थे, तिनैलाई दिन थाले।
‘बुबाका ग्राहकलाई सामान दिए पनि आफ्ना नयाँ ग्राहक बनाउन र प्रचार गर्न थालेँ। कार्यक्रमहरूमा गएँ। जो भेटे पनि आफ्नो व्यवसायबारे सुनाइहाल्थेँ,' उनले भने, ‘तर मैले मेरो सामान किन भनेर कहिल्यै भनिनँ। भन्दिन पनि। आफ्नो सामान राम्रो छ भनेर जसले पनि भन्छ। मलाई पैसा कमाउनुभन्दा विश्वास बढाउनु थियो।’
उनलाई विश्वास गर्नेहरू भेटिँदै गए। त्यही झम्सिखेलको कारखानाको आधा भागमा पसल बनाए। आफ्नै साथीहरूले अर्डर गर्थे। उनले आफ्नो परिचय दिने क्रम छाडेनन्। निरन्तर मिहिनेतपछि विस्तारै बिलाल र ल्याटिडो चिनिन थाले। उनको काम विस्तारै पत्रपत्रिकामा पनि छाउन थाल्यो।
काम बढ्दै गयो। २०७२ सालको भुइँचालोपछि पूरा समय कारखानामा दिन थाले। अर्डर बढ्दै गयो। ग्राहकको भिड बढ्न थाल्यो। बिलाल आफ्ना ग्राहकले ज्याकेट लगेपछि उनीहरूले लगाएको फोटो माग्न थाले। ती फोटा सामाजिक सञ्जालमा हाल्थे।
आफ्ना साथीमाझ सुरू भएको व्यापार फैलिँदै ठूला व्यापारिक घरानाका व्यक्तिहरूसम्म पुग्यो। स्याकार कम्पनीका सौरभ ज्योति, बैंकर अनिल शाहले पनि उनले बनाएका ज्याकेट मगाए।
‘पछि ग्राहकहरू सौरभ ज्योतिको जस्तो ज्याकेट चाहियो भनेर आउन थाले,’ उनले खुसी हुँदै सुनाए।
अब उनको सानो पसलले ग्राहकको भिड नथेग्ला जस्तो भयो।
‘कारखानामै पसल राखेपछि ग्राहक त्यहीँ आउँथे। पार्किङ गर्ने ठाउँ छैन यहाँ। अगाडि राखेका बाइक हटाउन ट्रफिक नै आउनपर्ने अवस्था आउन थाल्यो,’ बिलालले सुनाए, 'त्यतिखेर मलाई स्टोर नै खोल्नपर्छ जस्तो लाग्यो। तर त्यो धान्न बुबा र मैले मात्रै सक्दैनौं भन्ने पक्का थियो।'
‘मलाई विश्वासिलो मान्छेको खाँचो थियो। त्यो पनि निर्विकल्प मेरो बच्चैदेखिको साथी सौगात रिजाल।’
बिलालका अनुसार सौगात पहिल्यैदेखि उनलाई प्रोत्साहन दिने, सम्झाउने, गाली गर्ने र झुटो तारिफ नगर्ने खालका थिए। सौगातले बिलाललाई सहयोग गर्ने बाचा गरे। र, डेढ वर्षअघि उनीहरूको झम्सिखेलमै स्टोर खुल्यो।
बुबा र सौगातले स्टोर हेर्न थाले। बिलालले कारखाना।
‘सुरुमा सौगातलाई यो व्यवसायबारे केही थाहा थिएन। अहिले उसैले सबै सम्हालेको छ। ग्राहकले मलाई भन्दा उसैलाई खोज्छन्,’ बिलालले भने।
अहिले सौगात र बिलालको बास कारखानामै हुन्छ। स्वयम्भू बस्ने बिलाल कलंकीबाट सौगातलाई लिँदै आउँथे। सिजन बेला अबेर रातसम्म काम गर्नुपर्ने। कालिगढ पनि ८ जना भइसकेका। बिलाल आफ्नो ज्याकेटमा कुनै त्रुटि नहोस् भनेर ज्याकेट काटेकोदेखि सिलाएकोसम्म हेर्न थाले। आउजाउमा समय धेरै जान थालेपछि दुवै जना कारखानामै बस्न थाले।
दुवै जनाका लागि बिहान उठेदेखि बेलुका नसुतेसम्मको 'प्यासन' ल्याटिडो मात्रै भयो। संसारकै 'बेस्ट डिजाइन'हरू खोज्न थाले। इन्टरनेटमा कस्तो फेसन आएको छ भन्दै चहार्न थाले।
यसकै नतिजा हो, आज ल्याटिडोमा १८ जना कालिगढ छन्। दैनिक ५ देखि ८ वटा ज्याकेट अर्डर आउँछ। एउटा ज्याकेटको मूल्य कम्तीमा १३ हजार रूपैयाँ पर्छ। भारतबाट छाला ल्याउनुपर्ने र एउटा ज्याकेट सिलाउन धेरै समय लाग्ने भएकाले महँगो भएको उनले बताए।
‘हामीले चार वर्षअघि सुरु गरेको व्यवसायले उद्योगको रूप लिएको छ। केहीले रोजगारी पाएका छन्। यो नै गर्वको विषय हो,’ बिलालले भने, 'यो अवस्थासम्म आइपुग्दा व्यापार भन्ने धेरै गाह्रो रहेछ भन्ने बुझ्यौं। मिहिनेतबिना केही हुँदैन। कुनै पनि कुरामा लगाव भएन भने बिहान उठ्न सकिँदैन। बिहान उठ्न पनि बहाना चाहिन्छ। आज समस्या सुल्झाउनुछ भन्ने हुनुपर्छ।'
उनको ज्याकेट अहिले विदेशमा बस्ने नेपालीहरूले पनि अर्डर गर्न थालेका छन्। बिलाल र सौगात यो व्यवसाय अझै फैलाउने प्रयासमा छन्।
‘यो त पहिलो खुड्किलो मात्र हो। अझै धेरै अगाडि जानु छ। नेपाली उत्पादन संसारमा चिनाउनु छ।’
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी