आन्दोलन भन्ने वित्तिकै हाम्रो मानसपटलमा टायर जलाएको, चक्काजाम गरेको, ढुङ्गामुढा गरेको लगायत चित्र नाच्न थाल्छ। हुन पनि हो, हामीले अहिलेसम्म देखेका र भोगेका आन्दोलनहरू यस्तै–यस्तै प्रकृतिका छन्।
विगत केही दिनदेखि उपत्यकामा चल्ने ट्याक्सीले कुनै भौतिक क्षति बिनै आन्दोलन सुरू गरेका छन्।ट्याक्सीको पछाडि सेतो कागजमा आफ्नो गुनासो लेखेर उनीहरूले शान्तिपुर्ण आन्दोलन गरिरहेका हुन्।
‘सरकार मेरो पेशालाई धरासायी पारी मलाई खाडी जान बाध्य नबनाइयोस्’, ‘ सरकार मैले २०७५ सालको मूल्यमा खरिद गर्नुपर्ने तर, सेवा दिदा चाहीँ २०६९ को मूल्यमा दिनुपर्ने के यो न्यायोचित हो र?’, यस्तै स्लोगन लेखेर उनीहरुले विरोध जनाएका हुन्।
लामो समयदेखि मिटर भाडा समायोजन नगरिएकोले आफूहरूले यो प्रकारको विरोध गरेको ट्याक्सी चालक मोहन कार्की बताए।
‘२०६९ सालमा मिटर भाडा समायोजन भएको थियो। अहिले हरेक कुराको भाउ बढेको छ। बाल बच्चा पढाउनै पर्यो, कोठा भाडा तिर्नै पर्यो’, उनले सेतोपाटीसगँ भने,‘पहिलेका आन्दोलनमा गाडी नै बन्द गर्नुपर्ने, चक्का जाम गर्नुपर्ने, टायर नै बाल्नुपर्ने तितो यथार्थ थियो भने त्यसले कसैलाई फाइदा पुर्याउदैन भन्ने ज्ञान भयो र हामीले भद्र आन्दोनल गरेका हौ।’
सरकारले ७ वर्षदेखि मिटर समायोजन नगरेको कारण आफूहरुले विरोध जनाएको अर्का ट्याक्सी चालक युसुफ अलीले बताए।
‘७ वर्ष अगाडि १० लाखसम्ममा ट्याक्सी आउँथ्यो, अहिले ३०/३२ लाख पर्छ। १८ प्रतिशत व्याज तिर्नुपर्छ। त्यही पुरानो रेटमा हिड्ने हो भने हाम्रो गाडीमा तेल हाल्न पनि पुग्दैन,’ उनले भने, ‘पहिलेको जस्तो आन्दोलन गरेर समस्याको समाधान हुँदैन। हाम्रो समस्या पो सरकारले बुझेको छैन त, हाम्रो उद्धेश्य त जनतालाई सेवा दिने हो। सम्बन्धित निकायसम्म हाम्रो सन्देश जाओस भनेर हामीले ट्याक्सीमा पम्प्लेट टाँसेर विरोध गरेका हौ।’
जनताको आवत जावतको अधिकारलाई सुनिश्चित गरेर राज्यलाई दवाव दिन सचेत ढङ्गले आन्दोलन गरेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान तामाङले बताए।
‘हामी बन्द हडताल गरेर जनतालाई दुःख दिन चाहदैनौ। हामी रचनात्मक हिसावले सचेत व्यवसायी र नागरिकको तर्फबाट हाम्रा मागलाई सम्बन्धित निकायमा पुर्याउन यो आन्दोलन गरेका हौ,’ उनले सेतोपाटीसँग भने, ‘राज्यले ६९ सालदेखि भाडा समायोजन गरेको छैन। तर, उल्टै हामीलाई लुटेरा र ठगको बिल्ला भिराएको छ। वैज्ञानिक भाडादर निर्धारण गरेर दीर्घकालीन समस्याको दीर्घकालीन हल निकालियोस् भन्ने हाम्रो उद्धेश्य हो।’
सबै तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी