सात वर्षअघि भ्यालेन्टाइन्स डे नजिकिँदै गर्दा जावलाखेलको 'ए टु जेड गिफ्ट ग्यालरी' का सञ्चालक सुहान मानन्धर उत्साहित हुन्थे। कम्तिमा एक साताअघिदेखि उनलाई भ्याइनभ्याइ हुन थाल्थ्यो। थरीथरीका उपहार छानेर ल्याउँदै उनको दिन बित्थ्यो।
अचेल उनमा यो उत्साह छैन। न पहिलेजस्तो दौडधूप। केही दिनयता चहलपहल बढेको भए पनि सुहानको भ्यालेन्टाइन्स सप्ताह सामान्यै छ।
'अचेल गिफ्ट पसलमा पहिलेजस्तो व्यापार हुँदैन। मान्छेको रोजाइ बदलिएको छ,' बजार राता गुलाफ र 'टेडी'ले छाएका बेला उनको पसलमा अरू विभिन्न खालका उपहार यथावत् छन्।
झन्डै २० वर्षदेखि यही व्यवसाय गरिरहेका सुहानका अनुसार पहिलेका तुलनामा भ्यालेन्टाइन्सले गिफ्ट बजारलाई कमै छुन्छ।
'सजावटका सामान उपहारको रोजाइमा पर्दैनन्। यसलाई विलासी मानिन थालेको छ,' सुहानले पहिले र आजको दिन तुलना गर्दै भने, 'केही उपयोगी वस्तु नै उपहारका रूपमा दिने चलन बढेको छ। त्यसैले पहिलेजस्तो भ्यालेन्टाइन्स डेकै लागि भनेर बजार तोकेका छैनौं।'
कुनै समय उपहारका रूपमा मूर्ति, फोटो फ्रेम, गुडिया, ल्याम्प, सिसाका सामान लगायतको वर्चस्व थियो। विस्तारै मान्छेमा यस्ता सामानमा पैसा हाल्नुको अर्थ नहुने चेतना आएको सुहानलाई लाग्छ। सजावट जिन्सी उपहारको चलन हराउँदै गएको उनको अनुभव छ।
'कसैको जन्मदिन वा साथीहरूलाई दिन मात्र गिफ्ट लैजान्छन्। त्यो पनि थोरैले। धेरैले त प्रयोग हुने वस्तु नै दिन्छन्,' उनले भने, 'पारिवारिक कार्यक्रममा त नगद नै दिने चलन बढेको छ।'
सजावटका सामानमध्ये कुनै समय सबभन्दा लोकप्रिय भएर अहिले सबभन्दा थोरै कारोबार हुने चिज हो- कार्ड। हामीले भन्ने भाषामा ग्रिटिङ कार्ड।
सुहानका अनुसार कार्डले गिफ्ट बजारको एक प्रतिशत पनि हिस्सा ओगट्दैन। भने, 'छ–सात वर्षअघि कार्ड किन्ने मान्छेको भिड हुन्थ्यो। गिफ्टसँगै ७५ प्रतिशतले कार्ड पनि छान्थे। अहिले त भएका अलिअलि कार्डमा पनि धूलो जमिसक्छ तर बिक्दैन।'
पछिल्ला वर्ष कार्ड आयात पनि कम भएको उनले बताए। उनले पनि पसलमा धेरै कार्ड राखेका छैनन्। तर ललितपुरकै पुरानोमध्येको उनको पसलका नियमित ग्राहकले कहिलेकाहीँ कार्ड खोज्ने हुँदा पूर्ण रूपमा हटाएका छैनन्।
प्रविधिको विकासले पनि कार्ड व्यवसाय ओरालो लागेको उनको भनाइ छ। कार्डमा दिइने शुभकामना म्यासेन्जर, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमा आदानप्रदान हुन थाले।
'भोलिका दिनमा कार्ड फर्केला भन्ने आशै छैन। कार्ड व्यवसाय खत्तम भइसक्यो। पहिले–पहिले भ्यालेन्टाइन्समा मात्र ६०–७० हजारको कार्ड बिक्थ्यो। सामानअनुसार पैसा महँगो भएर पनि होला यसको सोख हराएको,' उनी अनुमान लाउँछन्।
आजभोलि उपहारका निम्ति कुनै निश्चित पसल नहुने उनले बताए। ग्राहकको डिजाइन र रोजाइअनुसार जुनसुकै सामानले उपहारको रूप लिनसक्छ।
एकातिर सुहानको पसलमा पाइनेजस्ता उपहार व्यवसाय खस्किँदो छ भने, 'पिन्चेस कार्टकोर' की एलिना डंगोललाई सहज हुँदैछ।
एलिनाका अनुसार ग्राहक आफ्ना डिजाइनअनुसारका सामानमा आकर्षित छन्। विशेषगरी चाडपर्व र उत्सव लक्ष्य गरी बनाइएका र उपयोग पनि हुने सामान चल्तीमा छन्। अझ भ्यालेन्टाइन्स डे लक्षित सामान पनि बनाएका कारण व्यवसाय राम्रो छ।
'ग्राहकले डिजाइन गरिएका कुसन, मग, बोतल, मेकअप ब्याग बढी खोज्छन्,' एलिना भन्छिन्, 'अरू समयभन्दा भ्यालेन्टाइन्स डेमा बढी माग हुन्छ।'
गिफ्टका लागि युवामाझ लुगा पनि चल्तीमा छ। भ्यालेन्टाइन्स अवसरमा 'किङ–क्वीन', 'हिज–हर्स' जस्ता उद्गार लेखिएका टिसर्टको माग बढ्दो छ। ग्राहकले खोजेजस्तै प्रिन्ट गर्ने 'इन्स्टा डिआइवाइ नेपाल' का सुजित श्रेष्ठका अनुसार अरू बेलाभन्दा भ्यालेन्टाइन्स अवसरमा जोडी टिसर्टको माग बढी हुन्छ।
ह्यान्डीक्राफ्ट सामानहरू बेच्ने 'मसला बिड्स' मा भ्यालेन्टाइन्सको 'सेल' लागेको छ। धेरै भिड भएको पसलमा समेत सजावटका सामान र कार्ड कम देखिन्छन्। मसला बिड्सकी सिर्जना गुरुङका अनुसार भ्यालेन्टाइन्स लक्षित कार्ड अचेल हुँदैनन्। स–साना नोटबुकजस्तै लेख्न मिल्ने कार्डहरू बिक्री भइरहेका छन्।
राइट च्वाइस फ्लावर सपका सुजन तामाङको पनि यस्तै भनाइ छ।
'पहिलेजस्तो उपहार चल्दैन। बरू हामी गिफ्ट प्याकेज बनाइदिन्छौं,' उनले भने, 'हातले बनाएका कार्ड भने थोरैले लाने गरेका छन्।'
उनका अनुसार युवाहरू गुलाफ, टेडी र गिफ्टको 'कम्बो प्याकेज' रूचाउँछन्। कम्बो प्याकेजमा रोजाइअनुसार फूल, गुडिया, चकलेट, गहना, घडी लगायत राख्न सकिन्छ।
'अहिलेका केटाकेटीले गिफ्ट वा कार्डलाई यस्तो पनि कल्ले दिन्छ र? भन्छन्,' ए टु जेडका सुहानले दुखेसो पोखे, 'कुनै बेला कार्ड–गिफ्टको कति मूल्य थियो, अहिले मजाक बनेको छ।'