लकडाउनले धेरैजसो व्यवसाय रोकिए, केही सुस्त भए। यही बेला 'कर्णाली घर'को रफ्तार भने पहिलेभन्दा बढी भयो।
कर्णाली घरले अनलाइन अर्डर लिएर जुम्लाको स्याउ, स्याउको सुकुटी, सिमी, सिमीको दाल, मार्सी चामल, कागुनो आदि दैनिक उपभोग्य सामान वितरण गर्छ। यसको मुख्य उद्देश्य भौगोलिक रूपमा टाढा रहेको कर्णालीका रासन बटुलेर काठमाडौंका ग्राहकसम्म पुर्याउने हो।
लकडाउन बेला कर्णालीका रासन कारोबार धेरै भएन। तर कर्णाली घर रोकिएर बसेन। यतैका तरकारी तथा फलफूलसमेत ग्राहकका घरघर पुर्यायो।
'त्यस बेला ग्राहकलाई तरकारी र खाद्यान्न किन्न जान सहज थिएन। त्यसैले हामीले फार्मबाट तरकारी लिएर डेलिभरी गर्नेमा जोड दियौं,' कम्पनी व्यवस्थापक राजन धिताल भन्छन्।
राजनका अनुसार लकडाउनअघि नै उनीहरूले तीन-चार टन जुम्लाको स्याउ ल्याइसकेका थिए। चैत मसान्तसम्म त्यही बेचे। तर अर्गानिक स्याउको माग आइरह्यो। यसपछि 'मनाङ एग्रो ग्रुप' बाट तीन टन स्याउ लिएर मनाङका स्याउ वितरण गरे।
'हामीकहाँ प्रायःले अर्गानिक स्याउ नै खोज्नुहुन्छ,' राजनले भने, 'जतिसक्दो विषादीरहित तरकारी-फलफूल खोज्न हामीले प्राथमिकता दियौं।'
वैशाखको सुरूदेखि झन्डै डेढ महिना कर्णाली घरले सिमी, काउली, ब्रोकाउली, बन्दा, आलु, बोडीलगायत हरिया तरकारी तथा केरा, सुन्तला, अंगुरजस्ता फलफूल वितरण गर्यो। ती फलफूल-तरकारी टोखा र काभ्रेस्थलीका फार्मबाट ल्याइए।
राजनका अनुसार लकडाउनका तीन महिनामै करिब ७ टन स्याउ कर्णाली घरबाट बजार पुगेको छ। त्यस्तै २ टन सिमीको दाल, २ टन सिमी, २५ सय केजी मार्सी चामल, १-१ टन चिनो र कागुनो पनि बेचे।
उनी भन्छन्, 'यो भनेको हाम्रा लागि निकै राम्रो बजार मिलेको हो।'
सामान्य समयमा कर्णाली घरमा आउने सबै सामान जुम्लामा संकलन भई काठमाडौं भित्रिन्छ। पछिल्लो पटक वैशाखमा एक लट सामान भित्रिए पनि बाँकी रोकिएको छ। गाडी चाँडै आइपुग्ने आशा राजनले गरेका छन्।
लकडाउन बेला धेरैलाई फुर्सद हुँदा कर्णाली घरमा भने कामको चाप बढ्यो। भएका कर्मचारीले भ्याएनन्। चार जना थिए, दुई जना थपेर ६ पुर्याए। मुख्य रूपमा काठमाडौं केन्द्रित भए पनि लकडाउनभर सूर्यविनायक, साँखु, थानकोट, चापागाउँ, टीकाथली, गोदावरीसम्मका ग्राहकलाई सेवा पुर्याएको राजनले जानकारी दिए।
यसअघि कर्णाली घरका कर्मचारीले मोटरसाइकल वा स्कुटरमा डेलिभरी गर्थे। ग्राहकको माग र कर्मचारी दुवै थपिएपछि भ्यान नै भाडामा लिएर काम गरेको उनी बताउँछन्।
'ग्राहकको चापअनुसार डेलिभरी भ्यान भाडामा लियौं। प्रायः एउटैले भ्याउँछ। कहिलेकाहीँ दुइटा पनि लिनुपर्छ,' राजनले भने, 'कर्णाली घरका नियमित ग्राहक संख्या ७ सयजति थिए, लकडाउनमा १५ प्रतिशत नयाँ थपिए।'
सामान अर्डर गरेको २४ घन्टाभित्र डेलिभरी गर्ने भनिए पनि यसपालि ढिलाइ आएको राजन स्वीकार्छन्। अहिले उनीहरू बिहान ८ देखि बेलुका ८ सम्म डेलिभरी गरिरहेका छन्। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेसबुक तथा टेलिफोन मार्फत अर्डर लिन्छन्। डेलिभरीका कर्मचारी सबैले स्वास्थ्य सुरक्षा ध्यानमा राखेर आवश्यक परे व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरिरहेका उनले जानकारी दिए।
कर्णाली घरले दैनिक उपभोग्य बाहेक 'सुपर फुड', 'उच्च मूल्य', 'जडिबुटी' र 'एसेन्सियल तेल' अन्तर्गत विभिन्न सामान बिक्री गर्छ। सुपर फुड अन्तर्गत चीनो, लगुन, क्वेर उपलब्ध छ। परम्परागत अन्तर्गत सातु, मुगुको जिम्मु र छोटु छ भने उच्च मूल्यमा अर्गानिक स्याउ, ओखर, मह, टिमुर पाइन्छ। त्यस्तै जडिबुटीमा यार्सागुम्बा, केसर, ह्वाइट सुगर, गुची, शिलाजित पाइन्छ। एसेन्सियल तेलमा सुनपाती, धूपि, गोर्पे सल्ला र भुल्ताका छ।
अहिले कर्णाली घरले सोझै ग्राहकसँग सम्पर्क राख्नेबाहेक सेल्सबेरी, बिग मार्ट लगायत झन्डै १५ डिपार्टमेन्टल स्टोर र अर्गानिक पसलमा पनि सामान उपलब्ध गराइरहेको छ।
'तर कुनै संस्थामार्फत भन्दा सोझै ग्राहकसँग सम्पर्कमा आउँदा राम्रो भइरहेको छ,' राजनले सुनाए।
उनका अनुसार 'कर्णाली घर'का सामान लिन इच्छुक नयाँ मार्ट तथा स्टोरहरू पनि सम्पर्कमा आइरहेका छन्।
'लकडाउनले ग्राहकसँग सम्बन्ध जोड्न हामीजस्ता अनलाइन व्यापारीलाई अवसर दिलायो,' तत्काल लकडाउन अवधिमा के-कस्तो नाफाघाटा हिसाब गर्न नभ्याए पनि सन्तुष्ट रहेका राजन भन्छन्, 'जे होस्, हामीले यो समय बजार विस्तारका लागि सदुपयोग गर्यौं।'
लकडाउन अवधिको सक्रियताले काम गर्ने थप ऊर्जा मिलेको उनी बताउँछन्।
कर्णाली घरले गत वर्षको मध्यसम्म 'चन्दननाथ इन्टरप्राइज' को नामबाट कर्णालीका उत्पादन बजार पुर्याउँदै आएको थियो।
यसको स्थापना २०६५ सालमै जुम्लाका अंगराज भारतीले गरेका थिए। अंगराजलाई कर्णालीको उत्पादन व्यवसायीकरण गर्ने युक्ति उनी इलाम जाँदा फुरेको रहेछ। इलामको छुर्पी, खुवाको चकलेट र चियाले राम्रो बजार लिएको देखेपछि उनले कर्णालीका उत्पादनले पनि बजार लिन सक्ने सम्भावना देखे। त्यसपछि जुम्लाको स्याउ काठमाडौं भित्र्याउँदै व्यापार सुरू गरे।
जुम्लाकै स्थानीय मनोज भारतीले चार वर्षदेखि चन्दननाथ इन्टरप्राइजको काममा सघाइरहेका थिए। सिन्धुपाल्चोकका राजन धिताल भने इन्टरप्राइजमा आवेदन दिएर नियुक्त भएका थिए।
हाल त्यही काम 'कर्णाली घर' नामबाट राजन र मनोज भारतीले सम्हालिरहेका छन्।
मनोजका अनुसार लकडाउनपछि पहिलो हप्ता के गर्ने भनेर अलमल भएको थियो।
'नयाँ भएकाले निष्क्रिय बस्दा कामै बन्द हुने डर भयो,' उनले भने, 'सुरूको साता काम कसरी सञ्चालन गर्ने भनेर छलफलमा बितायौं। त्यसपछि अनुमति पास लियौं र काममा लागिहाल्यौं।'
उनीहरूले व्यापारमा लागेपछि जुनसुकै परिस्थितिमा आफ्नो व्यवसाय चलायमान राख्ने उपाय खोज्ने प्रयासको अनुभव बटुलेका छन्।
कर्णालीका उत्पादनलाई सुरूका वर्षमा काठमाडौं बजारमा विस्तार गर्न निकै संघर्ष गर्नुपरेको थियो। लकडाउनले यो प्रयासलाई आड दिएको राजन बताउँछन्।
मनोज र राजनका अनुसार कर्णाली घरले नाममात्रै फेरेको होइन, काम गर्ने शैली पनि बदलेको छ।
उनीहरू भन्छन्, 'प्रविधिको उपयोग गर्दै परम्परागत ढंगबाट चलिरहेको अनलाइन व्यवसायलाई अझ सहज र चुस्त बनाउँदै लानेछौं।'
'कर्णाली घर'लाई फेसबुक पेज मार्फत् वा ९८५११४३०३२ मा सम्पर्क गर्न सकिन्छ।