चैतको पहिलो सातासम्म आयुष्मा श्रेष्ठ, दुर्गेश हाडा र पंकज श्रेष्ठलाई भ्याइनभ्याइ थियो। भक्तपुर र पाटनस्थित 'आलुचाः' मा उनीहरूको दिन बित्थ्यो।
सदाबहार खाजा बेच्ने चलन फेर्दै नयाँ शैलीमा आलुका परिकार मात्र बेच्न सफल यो रेस्टुरेन्ट आलुपारखीका लागि 'अड्डा' नै हो। विशेषगरी युवामाझ चर्चित आलुचाः 'टोर्नाडो फ्राइज', 'क्लासिक फ्राइज' र 'बटर चिकेन पुटिन फ्राइज' परिकारका लागि प्रख्यात छ। आलुकै करिब पन्ध्र परिकार बेच्ने आलुचाः खाने मात्र होइन, जमघट गर्ने ठाउँ समेत थियो।
लकडाउनयता यो ठाउँ खालीखाली छ। सञ्चालकहरू आयुष्मा, दुर्गेश र पंकजको दौडधूप कम छ। केही दिनदेखि 'आलुचाः' पुनःसञ्चालनमा ल्याए पनि व्यापार सुस्त भएको उनीहरू बताउँछन्।
'व्यापार पहिले जस्तो छैन। केही ग्राहक आए पनि घाटै छ,' आयुष्मा भन्छिन्, 'तीन-चार महिना लगातार बन्द गर्नुपर्दा गाह्रो भयो। लकडाउन खुकुलो भएसँगै खोलेका छौं। घरभाडा तिर्नुपर्यो, कर्मचारीलाई मारमा पार्न पनि भएन। सन्तुष्टिका लागि काम सुरू गरेका हौं।'
आलुचाः तीन वर्षअघि भक्तपुरमा खुलेको हो। 'सानो र अज्ञात खाजा खाने ठाउँ' चर्चित हुँदै पाटनसम्म पुग्यो।
यसका सञ्चालक आयुष्मा, दुर्गेश र पंकजको सहयात्रा कलेजदेखिकै हो। 'सिल्भर माउन्टेन' कलेजबाट होटल व्यवस्थापनमा स्नातक गरेका तीनै जनाको पढाइपछि बाटो छुट्टिएको थियो।
दुर्गेश र आयुष्मा कलेजबाटै दुई वर्षे इन्टर्नसिपका लागि ओमन गए। पंकजले सोल्टीमोडस्थित आफ्नै परिवारको होटल सम्हाले। ओमन गएका आयुष्मा र दुर्गेशको मन उता रमाउन सकेन। काममा बाहिरी मान्छेलाई गर्ने व्यवहार उनीहरूलाई मन परेको थिएन। त्यसैले तीन महिने छुट्टिमा नेपाल आउँदा यतै केही गर्ने सोच बनाए।
'विदेशमा अर्काको पेलाइमा काम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउने निर्णय हामीले गर्यौं,' आयुष्माले आफ्नो र दुर्गेशको त्यो बेलाको क्षण सम्झिइन्। पंकजको पनि साथ पाएर झनै सहज भयो।
पारिवारिक होटल सम्हालेर बसेका पंकजसँग यहाँको रेस्टुरेन्ट व्यवसायबारे ज्ञान र अनुभव थियो। दुर्गेश र आयुष्मासँग ओमनको काम अनुभव। यी तीन जनाको सहकार्यले 'आलुचाः' स्थापना भयो।
ठूला रेस्टुरेन्टका बीचमा आलुका परिकार मात्र बेचेर चिनिनु आलुचाःलाई ठूलो चुनौती थियो।
'आलु मन पराउने धेरै भए पनि खाजाकै रूपमा आलुकै विभिन्न परिकार कहीँ पाइँदैन,' आयुष्मा भन्छिन्, 'रेस्टुरेन्टमा आलु भन्नेबित्तिकै तरकारी वा फ्रेन्चफ्राइ सम्झिने चलन छ। यही चलन हटाएर नयाँ परिकार चिनाउन जरुरी थियो।'
पहिलोपटक आएको छुट्टिमा आयुष्मा, दुर्गेश र पंकजले आलुका परिकारबारे अनुसन्धान गरे। सबै योजना गरेर दुई साथी ओमन फर्किए। यता पंकज नयाँ व्यवसायको तयारीमा लागे।
दुर्गेश र आयुष्मा अर्को बिदामा आउँदा भने रेस्टुरेन्ट खोलेरै जाने निधो गरे। भक्तपुर दरबार स्क्वायर परिसरको एउटा सानो पसलमा आलुचाः नामको रेस्टुरेन्ट खोलेर दुई जना ओमन फर्किए। यहाँको जिम्मा पंकजले सम्हाले।
केही समयमा उनीहरूको इन्टर्नसिप सकियो। फर्केर आफ्नो व्यवसायमा खट्न थाले। विदेशको राम्रै जागिर छाडेर 'सानोतिनो' व्यवसाय थाल्दा परिवारको चित्त बुझेको थिएन। तर यी तीन साथी पछि हट्ने सोचमा थिएनन्।
नयाँ परिकार नेपालीबीच चिनाउन आलुचाःलाई सजिलो भएन। उनीहरूका परिकार कस्ता थिए भन्ने धेरैलाई थाहै थिएन। आलु खान जानेहरू पनि कम हुने।
'पाँच किलो आलु किन्यो भने पन्ध्र-बीस दिन रहन्थ्यो,' आयुष्माले सम्झिइन्।
पछि दक्षिण कोरियाको चर्चित स्ट्रिट फुडमा पर्ने 'टोर्नाडो फ्राइज', 'क्लासिक फ्राइज' र 'बटर चिकेन फ्राइज' जस्ता परिकार ग्राहकले खुबै रूचाए। उनीहरूका अनुसार यहाँ ४५ देखि तीन सय रुपैयाँसम्मका आलुका खाजा पाइन्छ। त्यही भएर युवा पुस्ताको आकर्षण बढी छ।
उनीहरूले पाटनमा नयाँ शाखा पोहोर मात्र सञ्चालनमा ल्याएका हुन्। व्यवसाय उक्सिँदै थियो। एक्कासि आइपरेको कोरोना लकडाउनले ठप्पै बनायो।
'पहिले दिनमा पाँच किलो आलु एक दुई-घन्टा पनि पुग्थेन,' आयुष्मा भन्छिन्, 'अहिले खेर जान्छ।'
उनका अनुसार चैततिर भव्य बिस्केट जात्रा, लगत्तै नयाँ वर्षको रमझममा भक्तपुर तथा पाटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको भिड हुन्थ्यो। यस्तो बेला आलुचाःलाई पनि अवसर मिल्थ्यो। उनीहरूले त्यही बेला ३० बोराभन्दा बढी आलु किनेका थिए। तर लगत्तैको लकडाउनले मार पर्यो।
'खाद्यान्न नझारेको भए बरु त्यति पिर हुन्थेन होला। लकडाउनमा त्यत्रो आलु बिग्रने डर भयो,' आयुष्माले भनिन्, 'त्यसैले आधा आलु केही कर्मचारीलाई बाँडेर, केही राहत दिएर त केही सडक गाईवस्तुलाई दिएर सकायौं।'
नौ लाख लगानीमा थालिएको आलुचाःको पहिले सातामा ४० देखि ६० हजार रूपैयाँ कमाइ हुन्थ्यो। अहिले व्यवसाय नै कसरी टिकाउने भन्ने डर छ।
'नाफा त परको कुरा, घरभाडा र कर्मचारीको तलब कसरी मिलाउने भन्ने पिर छ,' आयुष्माले भनिन्।
लकडाउनमा केही परिकार आफ्नो घरमै बनाएर छिमेकी वरिपरि बेचेको पनि उनले सुनाइन्। पहिले 'फुड डेलिभरी सर्भिस'सँगको सहकार्यमा काम गरिरहे पनि लकडाउनमा उनीहरूका लागि त्यो सम्भव भएन।
'कर्मचारी नभएकाले हामीले धेरै परिकार बनाउन सक्थेनौं। फेरि भक्तपुरमा संक्रमण बढेको खबरले कर्मचारी बोलाउन पनि सकेनौं,' अर्का सञ्चालक दुर्गेशले भने।
अहिले उनीहरू रहलपहल थोरै खाद्यान्नबाट काम गरिरहेका छन्। पाटन शाखा सुनसान भए पनि भक्तपुरमा ग्राहक बढ्न थालेका छन्। तर आफ्नो र ग्राहकको स्वास्थ्य ध्यानमा राख्दै धेरै भिडभाड गराउन सकेका छैनन्।
'पहिला १२ वटा टेबल भरिभराउ हुन्थ्यो। अहिले दुरी कायम गरेर चार-पाँच टेबल मात्र राखेका छौं,' आयुष्माले भनिन्, 'आएका ग्राहक भगाउन पनि भएन, त्यसैले कसैलाई एकछिन कुराउछौं, कसैलाई भक्तपुर दरबार क्षेत्रतिरै राखेर दिन्छौं।'
अहिलेसम्म सबै कर्मचारीलाई काम र पैसा दिइरहेको आलुचाः समूहको दावी छ। कठिन अवस्थामा पनि उठ्ने प्रयास गरिरहेका आयुष्मा, पंकज र दुर्गेश बेलाबेला दोधारमा पर्छन्।
विदेशको काम छाडेर नेपालमै अवसर खोजिरहेका उनीहरू अहिले थोरै आड भइदिए सहज हुने बताउँछन्।
'सरकारले नयाँ व्यवसायीको सहजताका लागि केही गरिदिए अलि सजिलो हुने थियो,' उनीहरू भन्छन्, 'यहीँ पैसा र मिहिनेत लगानी गर्यौं, घाटा मात्र हुन थाल्यो भने फेरि विदेशिन बाध्य होइएला भन्ने डर छ।'