गत वर्षको चैतसम्म एउटा पनि आयात नभएको मास्क बनाउने मेसिन विगत ३७ वटा आयात भएको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ को वैशाखदेखि असारसम्ममा मात्रै २८ वटा मास्क बनाउने मेसिन आयात भएको थियो। जसको लागत ५ करोड ३९ लाख ९२ हजार रहेको छ।
त्यस्तै चालू आर्थिक वर्षको पहिलो महिनामा मात्रै ९ वटा मेसिन आयात भएको छ। जसको लागत २ करोड ७६ लाख ४६ हजार रहेको छ।
तथ्याङ्कअनुसार यो अवधिमा चीनबाट १९ र भारतबाट १८ वटा मेसिन आयात गरिएको हो।
यो तथ्याङ्क हेर्दा पछिल्लो समय धेरै व्यक्ति मास्क व्यवसायमा आकर्षित भएको देखिन्छ।
त्यसअघि पनि नेपालमा मास्क उत्पादन भएपनि नगन्य रुपमा मात्रै हुन गरेको मास्क उत्पादक कम्पनी क्लिन सिटी प्रालीका संचालक सुकदेव जोशीले जानकारी दिए।
‘हाम्रो पनि माक्स मात्र बनाउने कम्पनी होइन। हामी झोला पनि बनाउथ्यौ। पहिले चीनबाट आएको मास्कको कारण यसमा मात्रै निर्भर हुन सकिदैन थियो,’ उनले सेतोपाटीसगँ भने।
जोशिका अनुसार लकडाउनपछि नेपालभर साना–ठूला १ दर्जन भन्दा धेरै कम्पनी खुलेका र दर्जनौ खुल्ने तयारीमा रहेका छन्।
‘मान्छेहरुले आँखा चिम्लेर लगानी गरेका छन्। पछि चीनबाट आयात भएपछि प्रतिश्पर्धा गर्नै सकिदैन,’ उनले भने।
कोरोनाको महामारी अघि चिनको मास्क १ रुपैयाँ ५० पैसादेखि २ रुपैयाँ ५० पैसामा पाइने तर नेपाली मास्क भने ७ देखि ८ रुपैयाँ पर्ने भरतपुर स्थित एसियन फार्मेसिका संचालक विकाश मिश्रले जानकारी दिए।
‘पहिले नेपाली मास्क त बेच्नै सकिदैन थियो। लकडाउनपछि चिनियाँ मास्क सटेज भएर मात्रै मैले नेपाली मास्क राखे,’ उनले भने।
मिश्रकाअनुसार चीनबाट निवार्ध मास्क आउन थाले नेपाली माक्सको प्रयोग घट्ने छ।
‘अस्ति लकडाउन केही खुकुलो भएपछि चिनियाँ मास्क भाउ बढेर आएपनि ५ रुपैयाँ मात्रै पर्थ्यो। उनीहरुले माक्स प्रोडक्सन गर्ने र लागत कम लाग्ने हुँदा नेपाली कम्पनीले हामीलाई उनीहरुले जस्तो सस्तोमा दिन सक्दैनन्,’ मिश्रले सेतोपाटीसगँ भने।