केही रेस्टुरेन्ट–क्याफेले लकडाउनमा डेलिभरी सुविधा दिएका थिए। निकै लामो समयको अवरोधपछि अहिले अधिकांश होटल तथा रेस्टुरेन्ट सञ्चालनमा आइसकेका छन्।
तर अवस्था आजभन्दा ६ महिनाअघि जस्तै कहाँ छ र!
कोरोना महामारी, लकडाउन तथा निषेधाज्ञाका कारण हरेक व्यवसायका 'मोडालिटी' परिवर्तन भएको छ। अहिले मान्छे सुरक्षा हिसाबले बाहिरभन्दा घरमै खाना रूचाउँछन्। यस्तोमा ग्राहकलाई बाहिरी खानाप्रति आकर्षण जगाउन रेस्टुरेन्ट सञ्चालकहरूले विभिन्न 'अफर' ल्याएका थिए।
चेन रेष्टुरेन्ट 'बोता मःम' का सञ्चालक निभेन अमात्य पहिलेको तुलनामा मान्छे धेरै नै सतर्क भएको बताउँछन्। यसले ग्राहक संख्या एकदमै कम भएको छ।
'हाम्रो कुनै पनि शाखामा पहिलेको तुलनामा २० प्रतिशत ग्राहक पनि आएका छैनन्,' निभेन भन्छन्, 'तर टेक-अवे र डेलिभरीमा भने आकर्षित देखिन्छन्। सरकारले टेक-अवे र डेलिभरी सेवाका लागि अनुमति दिएदेखि नै हामीले यो सेवा पुर्याउँदै आएका छौं।'
बोताका काठमाडौंमा मात्र १२ आउटलेट छन्। यीमध्ये ११ वटा आउटलेट सञ्चालनमा आइसके भने पुल्चोक शाखा आन्तरिक कारणले गर्दा खुल्न सकेको छैन। शाखा सबै खुले पनि अहिले बोतामा १० प्रतिशत कर्मचारी पनि नभएको निभेन बताउँछन्।
उनका अनुसार ६ महिना पहिले प्रत्येक आउटलेटमा कम्तिमा १५ देखि २० जना कर्मचारी हुन्थे। अहिले मुश्किलले ४-५ जना कर्मचारी छन्।
'सबै कर्मचारीको पिसिआर परीक्षण गरिएको छ। उनीहरूबीच पहिलेजस्तो सिफ्ट रोटेसन भइरहेको छैन,' निभेनले भने।
माग बढ्दै गएपछि बोता मःमले फुडमान्डु र भोजडिलसँग डेलिभरमा सहकार्य गरेको छ। रेस्टुरेन्ट सञ्चालनमा आइसकेको हुँदा ग्राहकका लागि संक्रमण रोकथामका सुरक्षा उपाय अपनाएको पनि निभेनले जानकारी दिए।
यतिमात्रै होइन, बोताले ग्राहकका नाम-ठेगाना समेत संकलन थालेको छ।
'हाम्रोमा आउने सबै ग्राहकको नाम, ठेगाना, सम्पर्क नम्बर लिएर राखेका छौं। ग्राहक वा कर्मचारी कसैलाई संक्रमण पुष्टि भएमा सबैलाई सम्पर्क गर्न सक्छौं,' निभेनले बताए।
१७ वटाभन्दा बढी फ्रान्चाइज रहेको रोयल ए–वान फास्टफुड पनि पुनः सञ्चालनमा आउन थालेका छन्। ए–वान क्याफे, शंखपार्कका प्रबन्धक भक्त केसीका अनुसार निषेधाज्ञा अन्त्यसँगै क्याफे खुलेका हुन्। तर ग्राहकको उपस्थिति निकै पातलो छ।
रेस्टुरेन्टमै बसेर खानुभन्दा होम डेलिभरीमै ग्राहक धेरै सन्तुष्ट भएको उनी बताउँछन्। कोरोनाकालमा सामान्यभन्दा १५ प्रतिशतले टेक-अवे बढेको केसीले बताए।
ए–वानले पनि भोजडिल, फुडमान्डु र फुडमारियोसँगको सहकार्यमा फ्रि–होम डेलिभरी सुविधा दिइरहेको छ।
'टेक अवे, डेलिभरी र क्याफेमा आउने ग्राहक सबैलाई उच्चस्तरीय सेवा दिइरहेका छौं,' सेतोपाटीसँगको कुराकानीमा केसीले भने, 'क्याफेको ढोकामा साबुन पानी र स्यानिटाइजर छ। ग्राहकको आवतजावतपछि टेबलहरू किटाणुरहित बनाइन्छ।'
सुरक्षा र सावधानी अपनाउँदै क्याफेले आफ्ना कर्मचारीलाई क्याफे भवनमै बस्ने व्यवस्था मिलाएको उनले जानकारी दिए। ग्राहक संख्या घटेसँगै ए–वानले पनि सबै कर्मचारीलाई काममा बोलाएको छैन।
उनी भन्छन्, 'कर्मचारी कटौती गरेका छैनौं। तर सबैको काम नहुने भएकाले ४० प्रतिशत कर्मचारी खटाएका छौं। कति कर्मचारी गाउँघरमै अड्किनुभएको छ। उहाँहरूलाई छुट गरेका छौं। कार्यरत कर्मचारीका लागि बस्ने व्यवस्था क्याफेले नै गरेको छ।'
सिरियन स्वादका लागि लोकप्रिय बन्दै गएको 'ताजा' रेस्टुरेन्टको स्थिति भने अर्कै छ। सहसञ्चालक संगीता लामाकाअनुसार लकडाउनका कारण सटर भाडा तिर्न गाह्रो भएपछि पुल्चोकबाट रेस्टुरेन्ट सारिएको छ।
हाल बखुन्डोलमा रहेको ताजा रेस्टुरेन्टमा पहिले र अहिलेको तुलनामा टेक-अवे र डेलिभरीमा भने कुनै फरक नभएको संगीता बताउँछिन्।
'स्थान परिवर्तन भएर पनि हो कि, डेलिभरी र टेक-अवे उल्लेख्य छैन। पुराना ग्राहकलाई नै नियमित सेवा दिइरहेका छौं,' उनले भनिन्, 'नयाँ ग्राहक बढेका छैनन्।'
कोरोनाअघि रेस्टुरेन्टमा सिरियाली खाना खान आउनेहरू बाक्लै हुन्थे। अहिले दैनिक आधा दर्जन पनि नहुने संगीता गुनासो गर्छिन्। उनी र उनका श्रीमान बेसल स्रेइकी दुवै रेस्टुरेन्टमै हुन्छन्। पहिले ५ जना कर्मचारी भएकामा अहिले २ जना छन्।
कोरोना महामारीपछि व्यापार-व्यवसाय खुले पनि होटल–रेस्टुरेन्टै पुगेर खानेहरू आधाले घटेको बुझ्न सकिन्छ। तर टेक-अवे र होम डेलिभरी प्रविधि भने बढेको सञ्चालकहरू बताउँछन्।