गंगा अधिकारी र उनका श्रीमान मनोज थापा ट्रेकिङ गाइड हुन्। गंगा ट्रेकिङ क्षेत्रमा लागेको ३ वर्ष भयो। मनोज भने १० वर्षदेखि यही पेसामा आवद्ध छन्।
तीन वर्षको चिनाजानपछि उनीहरूले गत फागुनमा मात्रै विवाह गरेका हुन्। दाङका स्थायी बासिन्दा उनीहरू अहिले हाँडीगाउँमा बसोबास गर्दैछन्।
कोरोना महामारी र लकडाउनका कारण ट्रेकिङ व्यवसाय झन्डै ७ महिनादेखि ठप्प छ। यस्तोमा गंगा र मनोजको आम्दानी पनि शून्य रह्यो। पहिलो चरणको लकडाउन सुरू हुनु अगावै, चैतमा उनीहरू दाङ पुगेका थिए। लकडाउन खुलेपछि असारतिर काठमाडौं फर्किए।
'हामी फर्कन त फर्कियौं तर काम थिएन। ट्रेकिङ नहुने भएपछि आम्दानीको वैकल्पिक श्रोत खोज्नुपर्ने भयो। हामीले पहिल्यैदेखि क्याफे खोल्ने सोचेका थियौं,' गंगाले भनिन्, 'तर यस्तो अनिश्चितामा एकैचोटि ठूलो लगानीमा सञ्चालन गर्ने आँट आएन।'
कुनै न कुनै आम्दानी स्रोत त खोज्नु नै थियो। त्यसपछि यी दम्पतीले घरबाटै खाजा डेलिभरी सेवा सुरू गर्ने योजना बनाए।
उनीहरूको यो योजनामा साथी प्रदीप कँडेल र निरज घिमिरेले साथ दिने भए। चार जनाबाट जम्मा ५-५ हजार उठाए। असोज १ गतेदेखि 'मिराकल फुड्स' नाममा घरबाटै खाजा बनाउने र डेलिभरी सेवा थाले।
'मिराकल फुड्स' को मेनुमा बफ, भेज र चिकेनका परिकार छन्। यीमध्ये धेरै ग्राहकले चिकेनका परिकार रूचाउने गंगाले बताइन्। मःम, चाउमिन, चिल्ली र फ्राइड राइस गरी अहिले उनीहरू चारथरीका खाजा बनाउँछन्।
गंगा सामग्री तयार पार्छिन्। मनोज पकाउँछन्।
मनोजले २०७२ सालमा दिल्लीबाट ६ महिने सेफ तालिम पनि लिएका रहेछन्। त्यसले पनि उनीहरूलाई सजिलो भएको बताउँछन्। प्रदीप र निरज भने मार्केटिङ हेर्छन्।
प्रदीप र निरजसँगै मनोज डेलिभरीमा पनि खट्छन्। उनीहरू दिउँसो १२ बजेसम्म अर्डर लिन्छन्। त्यसपछि ६ बजेसम्म डेलिभरीमा लाग्छन्। हाल हाडीगाउँबाट २० किलोमिटर परिसरमा मात्र डेलिभरी सेवा पुर्याइरहेका छन्।
कोठाकै भान्सामा खाजा बनाउने भएकाले उनीहरूले एकैपटक धेरै बनाउन भ्याउँदैनन्।
'त्यसरी भ्याइ-नभ्याइमा अर्डर पनि आएको छैन। अहिलेसम्म सजिलै भ्याउँदै छौ,' गंगाले भनिन्। तर डेलिभरीमा भने केही समस्या भोगिरहेका रहेछन्।
उनी भन्छिन्, 'अर्डरहरू एउटै समयमा पर्दा केहिलेकाहीँ समस्या हुने रहेछ।'
बिहान ८ बजेदेखि गंगा र मनोज भान्सामा व्यस्त हुन्छन्। मिराकल फुड्सले आफ्नो सेवा सुरू गरेदेखि दैनिक २५ सय रूपैयाँसम्मको अर्डर नियमित लिइरहेको उनीहरू बताउँछन्।
गंगाका अनुसार ग्राहकहरूले समेत सकारात्मक प्रतिक्रिया दिइरहेकाले सन्तुष्ट छन्।
भन्छिन्, 'हामीले बनाउन सक्ने र भ्याउने मात्र अर्डर लिँदैछौ। ग्राहकहरू खाना र मूल्यमा समेत सन्तुष्ट सुनिन्छन्। त्यसैमा खुसी लाग्छ।'
अहिले धेरै फाइदा नभए पनि अवस्था अनुकूल भएपछि उनीहरू मिराकल फुड्स क्याफे खोल्ने योजनामा छन्। ट्रेकिङ मौसमी काम भएकाले क्याफे पनि सँगसँगै चलाउन सक्ने उनीहरूको विश्वास छ।
गंगा भन्छिन्, 'ट्रेकिङले मात्र गुजारा चलाउन गाह्रै पर्छ। यसको ब्याकअपका लागि क्याफे चलाउने योजना हो।'
(मिराकल फुड्सको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुस्)