उदयलाई भेट्नेबित्तिकै चाबी हराएको टेन्सनै साफ हुन्छ।
उदय अर्थात् उदयनारायण थारू। उनी नक्कली चाबी बनाउँछन्। आफ्नो पेसामा यति कुशल छन्, अन्दाजका भरमै ताला खुल्ने चाबी बनाइन दिन सक्छन्।
पुतलीसडकबाट न्यू प्लाजा पुग्दानपुग्दै देखिन्छ उदयको 'की डुप्लिकेटिङ हाउस'। चाबी हराएको चिन्तामा यहाँ पुग्नुभयो भने कहिल्यै निराश भएर फर्किनु पर्दैन।
उदय चाबीको मोडलबिनै अन्दाजका भरमा नक्कली चाबी बनाउन पोख्त छन्। उनको यो सीप देखेर छक्क नपर्ने बिरलै होलान्।
धेरैले सोध्छन् पनि, 'यस्तो अद्भूत कला कहाँ सिक्नुभयो?'
'यहीँ आएर जानेको,' उनको सहज जवाफ हुन्छ।
किसिम-किसिमका चाबीको नक्कल उतार्न उदय जति माहिर छन्, गफमा उत्तिकै सातिर रहेछन्। आफूलाई सीप सिकाएर दक्ष बनाउने कृष्ण कोइरालाप्रति कृतज्ञता उनको मुहारमा स्पष्ट देखिन्थ्यो।
नवलपरासीबाट काठमाडौं उक्लिएका कृष्णले २०४८ सालमा की डुप्लिकेटिङ हाउस सुरू गरेका थिए। उनले नक्कली चाबी बनाउने कला भने आफ्ना दाजु बद्रीबाट सिकेका थिए। बद्रीले हङकङमा सिकेको यो सीप दाजुभाइकै स्थापित हुने माध्यम बन्यो।
स्थापनाको दुई वर्ष नबित्दै बद्री व्यवसायबाट अलग्गिए।
'दाजुले मलाई खातापाता सुम्पिएर अन्तै लाग्नुभयो। म अझै यसबाट सन्तुष्ट छु,' कोइराला खुसी देखिन्छन्।
सुखदुःख सँगालेरै कृष्णले काम सम्हाल्दै थिए। त्यत्तिकैमा उदय भेटिए। उदयले व्यवसाय नै सम्हाल्न सक्ने भएपछि कामदारबाट साझेदार बनाए कृष्णले। करिब १२ वर्षअघि भेटिएका उदयलाई कृष्णले हिस्सेदारी सुम्पएिको पाँच वर्ष कटिसकेको छ।
अहिले उनीसँग अर्का युवा जोडिएका छन्, रोशन पौडेल। रोशन उत्तिकै मेहनती छन्। सीप सिकेर देशमै रोजगार बनेकामा हर्षित देखिँदै उनी भन्छन्, 'आएको दुई वर्ष भयो। परिवार छाडेर विदेसिनु परेको छैन। जे जति छ, काफी नै छ।'
आफ्ना कामदारबाट कृष्ण पनि कम सन्तुष्ट छैनन्। उदय र रोशन दुई जनाले नै दैनिक ४० देखि ५० ग्राहकको समस्या सम्हाल्दै आएको उनी बताउँछन्।
पसलका अतिरिक्त उनीहरूले घरै पुगेर समेत सेवा दिइरहेका छन्। सेवाले चित्त बुझाएरै होला, उनीहरूकहाँ सेवाग्राही फर्कीफर्की आउँछन्।
'हामी सेवाग्राहीको गोपनीयता र सुरक्षामा पूर्ण सचेत छौं। त्यसैले एकपटक ठोक्किएका सेवाग्राही अन्त जाने जोखिम नै मोल्दैनन्,' उदय आफ्नो आत्मविश्वास पोख्छन्।
शुल्क भने उनीहरूले समस्याअनुसार लिन्छन्।
सामान्य चाबीको नक्कल बनाएको ३५ रूपैयाँ। जटिल समस्या तथा स्मार्ट लक मर्मतको आठ-दस हजारसम्म पनि पर्न आउँछ। यसबाहेक घरै पुगेर सेवा दिनु परे कम्तिमा सात सय लिने उदयले जानकारी दिए।
उनीहरूको काम जति रोचक लाग्छ, उत्तिकै संवेदनशील छ। नक्कली चाबी बनाउँदै गर्दा उनीहरू कानुनी घेरामै रहन्छन्। कुनै बाइक या कारको चाबी बनाउनुअगाडि ब्लुबुक लगायत कागजात खोज्छन्। कसैको घरको ढोका, दराज खोल्नुअगाडि परिवारको अनुमति।
'सावधानी अपनाएकै कारण सीपको दुरूपयोग भएको छैन,' कृष्णको अनुभव छ। केही शंकास्पद अवस्था देखा परे बरू सेवा नै नदिने उदय बताउँछन्।
'यस विषयमा सरकारले लिखित कानुन नबनाएको भए पनि मौखिक चेतावनी नै कानुन मानेर काम जारी राखेका छौं। अन्जानमा केही गलत भएको भए भगवान् जानून्, जानेर बदमासी गरेका छैनौं,' उदय थप्छन्।
कृष्ण र उदय दुवै भारतीय कम्पनी 'एक्स हर्स'का तालिमप्राप्त व्यक्ति हुन्। आफूलाई चाहिने अधिकांश सामग्री एक्स हर्सकै प्रयोग गर्छन्।
'सेवा विस्तारसँगै एक्स हर्सको नेपालका लागि आधिकारिक बिक्रेता हुनु हाम्रा लागि महत्त्वपूर्ण कडी हो,' कृष्ण प्रफुल्ल सुनिन्छन्।