दसैंसँगै राम्रो लगाउने र मीठो खाने परम्परा जोडिएर आउँछ। काठमाडौंको दसैंसँगै जोडिएर आउँछ किनमेलको मुख्य बजार न्यूरोड, असन, इन्द्रचोक।
सामान्य दिनमा समेत भीडभाड हुने ठाउँमा पोहोरपरार यो बेला खुट्टा अड्याउने ठाउँ हुन्थेन। यसपालि कुनै रौनक छैन। कोरोना महामारीले दसैं बजार फिक्का बनाएको छ।
योभन्दा बढी काभ्रेका मोहन खनालको मन धमिलिएको छ। २० वर्षदेखि अरूका लागि लुगा बेच्दै आएका उनलाई यसपालि आफैंले नयाँ लुगा लगाउन नपाउने हो कि भन्ने चिन्ताले सताएको छ।
मोहनले ३ वर्षयता आफ्नै कपडा पसल सम्हालिरहेका छन्। उनको पसलमा विशेष गरी नेपाल चिनाउने कपडा पाइन्छन्। लक्षित ग्राहक भने विदेशी हुन्। तर पोहोर पुस, माघदेखि नै पर्यटक आउन कम भएपछि उनको व्यापारले लक्ष्य बिहिनझैं भएको छ।
'हाम्रोमा ५-१० प्रतिशत मात्रै नेपाली ग्राहक हुन्छन्। सामान पनि विदेशीकै लागि लक्षित सामान छन्,' मोहन भन्छन्, 'तर अहिले पर्यटन नै छैनन्। व्यापारको त कुरै छैन। फेरि पर्यटकहरू सामान्य अवस्थामा झैं नआएसम्म व्यापारमा खडेरी छ!'
मोहनका अनुसार एकसाता यता बजारमा चहलपहल बढे पनि व्यापार छैन। किनमेल गर्ने मान्छे नआएपछि भीडको अर्थ नभएको उनी बताउँछन्।
भिडिओः सुसन चौधरी
'माघदेखि पर्यटक आएनन्। अरूभन्दा मैले पहिले पसल बन्द गर्नुपर्यो। अहिले पनि अरूको जेनतेन चलेको छ। मेरो अझै केही महिना चल्ने छाँट छैन,' उनी अगाडि थप्छन्, 'यस्तो व्यापारले दसैं मनाउनु त परै जावोस्, व्यापारबाटै उठिबास लाग्छ।'
दुई तलामा पसल राखेका मोहनले महिनामा ६४ हजार रूपैयाँ भाडा तिर्छन्। पहिले दैनिक ५० हजारसम्मको पनि कमाइ हुन्थ्यो। अहिले १-२ हजार पनि छैन। राम्रो आम्दानीले सहजै घर धानेका मोहनलाई अहिलेको कमाइले मुश्किल पारेको छ।
अहिलेसम्मको व्यापारिक अनुभवमा दसैंताका यस्तो खल्लो बजार नदेखेको बताउँदै उनी थप्छन्, 'अरू बेला जे जस्तो भए पनि दसैं बेला नेपाली ग्राहक बढ्थे। यसपालि पूरै सुख्खा छ।'
उस्तै अनुभव संगालेका छन् 'चार्मस् फेसन वेयर'का संचालक अजय श्रेष्ठले। १३ वर्षदेखि श्रेष्ठ असनमा फेन्सी पसल चलाइरहेका छन्। दसैं तथा चाडपर्व नजिकिँदा टाढा–टाढाबाट समेत ग्राहक आइपुग्ने उनको अनुभव थियो।
'पसलमा ७–८ जना कर्मचारीलाई भ्याइनभ्याइ नै हुन्थ्यो,' अजय भन्छन्, 'अहिले भएका ४ जना पनि लुडो खेलेर बसिरहेका छन्। ७५ प्रतिशत व्यापार घटेको छ।'
अजयका अनुसार चाडपर्व नजिकिँदै गर्दा महिला, पुरुष र बालबच्चाका लागि डिजाइन–डिजाइनका कपडा भित्रिन्थे। यो वर्ष नयाँ कपडा आउने-नआउने ठेगान छैन। व्यापारीहरूले पुरानो स्टककै कपडा बेचिरहेका छन्। सँगै सस्तोमा बिक्री गर्नुपरेको अजय बताउँछन्।
'हाम्रोमा हरेक किसिमका ग्राहक आउँछन्। यसपालि झन् समस्या पैसाकै छ,' उनी भन्छन् 'मूल्य मिलाएरै दिनुपर्यो। भरसक सस्तोमै दिएका छौं। नभए अर्को वर्ष पनि यही बेच्नुपर्ने अवस्था आउला कि!'
नियमित आउने ग्राहक समेत कम भएपछि व्यापारमा समस्या आएको अजय बताउँछन्। यसमा कोरोनाकै डर भएको उनले अनुमान लगाएका छन्।
'सावधानी अपनाएका छौं तर कोरोनाका डरले मान्छे नजिक पर्दैनन्। नियमित आउने ग्राहक त छैनन्,' अजयले भने।
ठूला मान्छेको कपडा व्यापारसँगै, केटाकेटीका लुगा व्यवसाय पनि सुस्ताएको छ। हामी धेरै नेपालीले दसैंमा आफूले नकिने पनि केटाकेटीलाई जुत्ता-कपडा किनिदिने गरेको रोज कलेक्सन भोटाहिटीका सञ्चालक महेश कार्कीको अनुभव छ।
'यसपालि बजारमा बच्चाको नयाँ लुगा पनि आएको छैन। नयाँ लुगा खोज्ने केटाकेटी पनि छैनन्,' महेश भन्छन्, 'कोरोनाले होला, मान्छेहरूले बच्चालाई बजार ल्याएका छैनन्।'
होलसेलबाट पनि भनेजस्ता लुगा ल्याउन नपाएको गुनासो राख्छन् महेश। चिनजानका बाहेक ठूला होलसेलले हातहातै पैसा माग्ने उनी बताउँछन्। त्यसैले भनेजति सामान उधारोमा ल्याउन पाएका छैनन्।
महेशका अनुसार लकडाउन खुलेपछि सुरूका केही दिनभन्दा त अहिले व्यापारले गति लिँदैछ। केही दिनयता उनको पसलमा २-४ जना ग्राहक देखिन थालेका छन्। अवस्था छिट्टै सामान्य हुने र व्यापार फेरि फस्टाउनेमा उनी आशावादी छन्।
भन्छन्, 'निषेधाज्ञा खुलेको सुरूसुरूमा त मन्दै थियो। अहिले अलि बढेका छन् तर यति ग्राहकले यो ठूलो बजार धान्न सक्दैन।'
महेशले कपडा व्यापार व्यवसायमा झन्डै १५ वर्ष बिताइसके। उनको यो पारिवारिक व्यवसाय हो। रोज कलेक्सन भने एक वर्षअघि मात्रै आफैंले खोलेको उनले बताए।
लकडाउन र निषेधाज्ञासँगै बजार खुल्यो। तर महेश, अजय र मोहन जस्ता सयौं कपडा व्यापारीको समस्या सुल्झिएको छैन। बाहिर मान्छेको भीड बढे पनि व्यापार छैन। पसलमा नयाँ कपडा राख्न पाएका छैनन्। सटर भाडा तिर्न नसके उठिबास नै लाग्नु पर्ला भन्ने अर्को डरमा छन् उनीहरू।
'खै, कहिलेसम्म यस्तो हुने हो। कहिले पुरानै शैलीमा हाम्रो व्यवसाय चल्मलाउने हो!' तत्काललाई उनीहरूको साझा जिज्ञासा यही छ।