कोरोना महामारीको दोस्रो लहर सुरू भएपछि पञ्चकन्या समूहको आधा काम घटेको छ। अहिले करिब ५० प्रतिशत उत्पादन मात्रै भइरहेको कम्पनीले जनाएको छ।
'कोभिडको दोस्रो लहर झन् व्यापक फैलिएको छ, असर पनि देशव्यापी रूपमा परेको छ,' पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठले सेतोपाटीसँग भने, 'हाम्रो उद्योग पनि यसबाट अछुतो छैन। अत्यावश्यक वस्तु उत्पादन गर्ने भएकाले हामीले कर्मचारीलाई कम्पाउन्डभित्रै सबै व्यवस्था मिलाएर काम गराइराखेका छौं।'
उनका अनुसार श्रमिकलाई खाने, बस्ने लगायत व्यवस्था कम्पनीभित्रै गरेर काम गरिरहेको उनले जानकारी दिए। अघिल्लो पटक फैलिएको महामारीबाट पाठ सिकेर कम्पनीले यतिबेला कर्मचारीलाई बेलैमा कम्पाउन्डभित्र सुरक्षित रूपमा काम गराइरहेको छ। तर सामान्य अवस्थाको जति उत्पादन गर्न सकेको छैन।
बजार माग नभएकाले पहिलेको तुलनामा करिब ५० प्रतिशत मात्र उत्पादन भइरहेको कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले बताए। बैंकको ब्याज तिर्न तथा विभिन्न आयोजनासँगको सम्झौता बमोजिम काम भएकाले महामारीबीच पनि काम गरिरहेको उनको भनाइ छ।
'अहिले बैंकको ब्याज र कर्मचारी खर्च व्यवस्थापन गर्न पनि मुश्किल छ। कोरोनाका कारण अघिल्लो पटक पनि ७/८ महिना काम ठप्पजस्तै भयो। जुन रफ्तारमा काम गर्नुपर्ने हो, जान सकेनौं,' उनले भने।
कोभिडको सुरूआती चरणमै कम्पनीले करोडौं घाटा बेहोर्नुपरेको उनी बताउँछन्। भन्छन्, 'घाटाको कुरा गर्ने हो भने करोडौं पुगिसकेको छ। बैंकको ब्याजदर बढ्दै गयो। कर्मचारी लगायत खर्च व्यवस्थापन गर्न पनि गाह्रो भयो।'
महामारीमा कम्पनी खर्चै धान्न मुश्किल भएकाले त्यो बेला काममा आउन नसकेका कर्मचारीलाई ५० देखि ७० प्रतिशतसम्म पारिश्रमिक उपलब्ध गराएको कम्पनीले जनाएको छ। काममा खटिएका कर्मचारीलाई भने शतप्रतिशत पारिश्रमिक उपलब्ध गराइएको थियो।
अहिले निषेधाज्ञामा कम्पनीले सबै कर्मचारी काममा खटाउन सकेको छैन। घरबाट काम गर्न मिल्ने अवस्थाका कर्मचारी घरबाटै गरिरहेका छन्। उत्पादन क्षेत्रमा पनि आधाजसो मात्रै काममा छन्। काम लगाउन नसकिएकालाई पहिलेको लकडाउन जसरी नै ज्याला मिलाउनुपर्ने अवस्था आएको कम्पनीले जनाएको छ। तर ज्याला कसरी दिने भनेर निर्णय भइसकेको छैन।
'कर्मचारीलाई पहिले लकडाउनजस्तै गरी पारिश्रमिक मिलाउनुपर्ने देखिएको छ। तर हामीले यसबारे छलफल गरेका छैनौं। निषेधाज्ञा बढ्यो भने उद्योग वाणिज्य महासंघबाट पनि यस विषयमा केही आउला,' श्रेष्ठले भने।
कोभिडका कारण लामो समय थला परेको उद्योग उठ्न नपाउँदै दोस्रो लहर आएपछि खर्च व्यवस्थापनमै समस्या देखिएको उनको भनाइ छ।
'कोरोनाको दोस्रो लहर यसरी फैलिएला भन्ने सोचेका थिएनौं। पहिले नै काम राम्रोसँग हुन सकेको थिएन। फेरि जटिल अवस्था सुरू भयो,' श्रेष्ठले भने।
यो जोखिमले कामदारको रोजिरोटीसँग जोडिएको उद्योग धरासायी अवस्थामा पुगेको उनले बताए। धरासायी बनेका उद्योग उकास्न तथा हौसला दिन सरकारले सहयोग नपुर्याएको पनि उनको गुनासो छ। सरकारले कोरोना मारमा परेका उद्योगलाई पुनर्कर्जा कार्यक्रम अघि सारेको थियो। यसबाट केही सहज होला भन्ने आश उद्योगीले गरेका थिए। तर कति समयका लागि भन्ने स्पष्ट नहुँदा आफूहरूले फाइदा लिन नसकेको उनी बताउँछन्।
अहिले निषेधाज्ञामा पनि सरकारले उद्योग सञ्चालनको स्पष्ट नीति नल्याउँदा समस्या निम्तिएको उनको भनाइ छ। नीति स्पष्ट नहुँदा कर्मचारीलाई कार्यालयसम्म पुग्न झन्झटिलो भएको उनले बताए, 'कस्तो कम्पनीका कति कर्मचारी निस्किन मिल्ने वा कुन कम्पनीलाई कति पास उपलब्ध गराउने भनेर स्पष्ट छैन। कर्मचारीले बाटोमा पुगेर दुःख पाउनु परेको छ।'
जोखिम बढ्दै गएकाले अनावश्यक हिँडडुल कडाइ गर्नु स्वभाविक भए पनि उद्योग चलाउन स्पष्ट निर्णय गर्न नसक्नु दुःखद् भएको उनले बताए। उद्योगसँग आम श्रमजीविको रोजिरोटी जोडिएकाले सरकारले उद्योगी हतोत्साहित हुने वातावरण सिर्जना गर्न नहुने पनि उनी बताउँछन्।
'सबै सचेत हुनुपर्नेछ। तर यसबीच सरकारले उद्योगीको मनोबल बढाउनुपर्छ,' समूहका प्रबन्ध निर्देशक श्रेष्ठले भने, 'हाम्रा सुझाव पनि सरकारले सुनिदिएर अगाडि बढे सहज हुन्थ्यो कि भन्ने हो।'