बाटो हिँड्दा भिडभाडले सास फेर्नै गाह्रो हुने वसन्तपुर निषेधाज्ञापछि सुनसान छ। केही ट्याक्सी लाइन बसेका छन्। कोही चालक गफमा मस्त, कोही निद्रामा।
उनीहरूकै छेउमा ३७ वर्षीय रेशम तामाङ भने रिक्सा सफा गर्दै थिए। कतै जान लागेका हुन् वा गएर आएका हुन् भनी हामीले सोध्यौं।
'कतै गएको छैन, कोही आएको पनि छैन। बिहानदेखि यहीँ छु,' दिक्दार भावमा उनले भने, 'धूलो उड्छ, रिक्साभरी टाँसिएछ, झार्दैछु।'
निषेधाज्ञाले सबै सवारी साधन बन्द छन्। यस्तो बेला रिक्सामा राम्रै कमाइ होला भन्ने आश रेशमको थियो। तर कोरोनाले काठमाडौं सहरलाई तर्साएसँगै मान्छेहरूको हिँडडुल पनि ठप्प भएको छ। सँगै रेशमको कमाइ पनि।
'केही कमाइ छैन। पहिलेको लकडाउनमा साथीहरूले राम्रै कमाइयो भनेका थिए। अहिले त मान्छे डराएर होला, कोही बाहिरै निस्केका छैनन्,' उनले भने।
उसो त पोहोर लकडाउनमा उनले पनि डराएर रिक्सा चलाएनन्। तर कोरोना महामारीले वर्षैपिच्छे सताउन थालेपछि काम नगरी खान नपुग्ने रेशम यसपालि चुप लागेर बस्न सकेनन्।
'अब सधैं यस्तै हुने भएपछि त डराएर भएन। काम गर्न परिहाल्यो,' उनले भने, 'काम नगरे रोगले भन्दा भोकले मरिन्छ।'
रेशमको घर नुवाकोट हो। वसन्तपुर नजिकै एक कोठामा उनी, श्रीमती र छोरी बस्छन्। घरमा भएका आमाबाबुको भर पनि उनै हुन्। गत ११ वर्षदेखि रिक्सा चलाएरै पाँच जनाको परिवार धान्दै आएका छन् उनले।
तर कोरोना महामारीपछि रिक्सा चलाएर हातमुख जोर्न सकस भएको उनी बताउँछन्।
'पहिले राम्रै कमाइ हुन्थ्यो। बन्द-हड्तालमा त हामी झन् धेरै कमाउँथ्यौं,' उनले भने, 'अहिले त भोकै हुने अवस्था आइसक्यो।'
रेशम सामान्य अवस्थामा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खट्थे। रित्तो रिक्सा लिएर बस्नुपरेको दिन थिएन। तर अहिले आपतकालीन कोही बिरामी वा कोरोना परीक्षण गर्न जानेहरू मात्र रिक्सा चढिरहेका छन्।
'टाढा जानु पर्यो भने ट्याक्सी चढ्छन्। यसो कोही कोही हो रिक्सा चढ्ने,' उनले भने, 'आज त एक रूपैयाँ कमाइ भएको छैन। बिहानदेखि आएको बेलुका खाली हात फर्किनु पर्ला जस्तो छ।'
उनका अनुसार रिक्साको भाडा सामान्यतया दुरी हेरेर एक सयदेखि पाँच सय रूपैयाँसम्म हुन्छ। रिक्सा साहुलाई दैनिक एक सय दिनुपर्छ। कमाइ भए पनि नभए पनि यो पैसा तिर्नैपर्छ।
आम्दानी हुँदा उनले खाइ खर्च कटाएर महिनामा २० हजारसम्म बचाउन सक्थे। पहिलेको सबै बचत बहत्तर सालको भुइँचालोले भत्काएको घर बनाउँदा सकियो। त्यसपछि बचाएको पैसाले पोहोरको लकडाउन धानियो। यसपालि पनि त्यहीबाट दैनिक बिहान–बेलुकाको गुजारा टरेको रेशमले बताए।
पहिलेको लकडाउनमा राम्रै कमाइ गरेका अर्का रिक्सा चालक पञ्चलाल लामाको अवस्था पनि रेशमकै जस्तो छ।
दोस्रो लहरको कोभिड पहिलेभन्दा जटिल भएकाले मान्छे बाहिर नहिँडेका अनुमान गर्दै उनी भन्छन्, 'पहिले लकडाउनमा त यसो आफन्तकहाँ जान हिँडेको भन्दै पनि रिक्सा चढ्थे। अहिले त परीक्षणका लागि अस्पतालै जानपर्यो भने मात्र चढ्ने गरेका छन्।'
पहिले साहुको रिक्सा चलाउने उनले पाँच वर्षअघि आफैं रिक्सा किनेका हुन्। त्यसैले साहुलाई भाडा बुझाउन पर्दैन।
'आफ्नै रिक्सा नभए त गाह्रो पर्थ्यो होला,' उनले भने, 'तीन दिनदेखि एक रूपैयाँ कमाइ छैन। आउने र जाने मात्रै काम भएको छ।'
पञ्चलालको घर धुलिखेल भए पनि छोराछोरी र श्रीमतीसहित उनी काठमाडौंमै कोठा लिएर बसेका छन्। आम्दानी नहुँदा घर खर्च चलाउन मुश्किल परेको उनको भनाइ छ।
'पहिले बचाएकोले अहिले घर खर्च टारेका छौं,' उनले भने, 'कोरोनाले छोराछोरीको काम बन्द भयो, उनीहरूलाई पनि खर्च दिनै पर्यो।'
उनका अनुसार छोराछोरी पसलमा काम गर्थे। निषेधाज्ञापछि बेरोजगार भए। महामारी फैलिएर बन्द भइरह्यो भने पञ्चलालले गाउँ फर्कने योजना बनाएका छन्।
तीस वर्षदेखि रिक्सा चलाएरै जीवन धानेका धादिङका राम केसीलाई पनि यसपालिको निषेधाज्ञाले गाह्रो पारेको छ। परिवारसहित कुलेश्वर हाइटमा बस्दै आएका उनी बिहान ८ बजे नै रिक्सा लिएर निस्किन्छन्। बेलुकासम्म उनले दुई जना भए पनि यात्रु पाएका थिए।
'दुवै जनालाई नजिक नजिकै पुर्याएँ। तीन सय कमाइयो,' रामले भने, 'विदेशीले भए धेरै दिन्थे। अचेल त विदेशी पनि छैनन्।'
लामो समय पर्यटक नआउने हो भने रिक्सा व्यवसाय नै पलायन हुने उनको भनाइ छ। तीन दशक रिक्सामा यात्रु बोकेका उनी सामान्य अवस्थामा पनि पहिलेको तुलनामा यात्रु घटेको बताउँछन्।
भने, 'पहिले रिक्सा चलाएर दैनिक दुई/तीन हजार पनि कमाइन्थ्यो। अहिले दुई/तीन सय कमाउन मुश्किल छ।'
रिक्साबाट आम्दानी घट्न थालेपछि उनले विकल्प नखोजेका होइनन्। स्वास्थ्यले साथ नदिएपछि फेरि रिक्साकै भर परेको उनले बताए।
'बीचमा केही समय सार्वजनिक यातायात चलाएँ। दुर्घटना भयो। अनि फेरि रिक्सा नै चलाउन थालेँ,' रामले भने, 'आफूले जानेको काम यही हो। अरू सीप नभएर यसमै अल्झिन परेको छ।'
काम पाइएन भने सरकारले दैनिक बिहान–बेलुकाको भान्सा चलाउन सघाउँछ कि भन्ने आश उनले राखेका छैनन्। भन्छन्, 'पहिले पनि केही पाएका होइनौं, अहिले पनि आशा छैन। पाए काम गरेर खान्छौं, नपाए भोकै बस्छौं।'