निषेधाज्ञामा तपाईंको समय सदुपयोग भएको छैन? यो समयमा कुनै व्यवसायिक सीप सिक्न चाहनुहुन्छ? यसमा तपाईंलाई मद्दत गर्न सक्छ 'स्कलर्स स्पेस' ले।
स्कलर्स स्पेस एउटा इ–लर्निङ प्लेटफर्म हो। यहाँबाट तपाईंले विभिन्न बीस वटाभन्दा बढी व्यवसायिक सीपहरू सिक्न सक्नुहुन्छ। यसका लागि तपाईं कुनै प्रशिक्षण केन्द्र धाइराख्नु पर्दैन। न शुल्क नै तिर्नुपर्छ। घरै बसेर आफ्नो अनुकूल समयमा स्कलर्स स्पेसमार्फत निःशुल्क सीप सिक्न सकिन्छ।
पछिल्लो समय डिजिटल सिकाइको खाँचो बढ्दै गएको र शिक्षा क्षेत्रमा सामाजिक सञ्जालको आवश्यकता देखिएकाले 'स्कलर्स स्पेस' अघि सारिएको सह-संस्थापक रोहित सेन्चुरी बताउँछन्।
'हामीले स्कलर्स स्पेसलाई लर्निङ नेटवर्क भन्छौं, यो सिकाइमा आधारित सामाजिक सञ्जाल हो,' कम्पनीका सिइओ समेत रहेका रोहितले भने, 'हामीले व्यवसायिक सीपमूलक शिक्षामा रूचि हुनेहरूका लागि सञ्जाल स्थापना गरेका हौं।'
रोहितका अनुसार स्कलर्स स्पेसमा विभिन्न चार वटा स्पेस छन्- लर्न, ब्लग, इन्ट्रान्स र स्लाइड।
लर्न स्पेसमा सीपहरू सिकाइन्छ। ग्राफिक डिजाइन, भिडिओ एडिटिङ, भिडिओग्राफी, लोगो बनाउने लगायत थुप्रै सीपहरू यहाँबाट सिक्न सकिन्छ।
ब्लग स्पेसमा सिकेका तथा नजानेका कुरा लेख्न सकिन्छ। इन्ट्रान्स स्पेसमार्फत विभिन्न विधाका इन्ट्रान्स पेपरहरू विद्यार्थीले घरै बसेर अभ्यास गर्न सक्नेछन्। स्लाइड स्पेसमा भने कुनै पनि सूचना तथा जानकारी अपलोड गरिएको हुन्छ। यसबाट पनि आवश्यक कुरा सिक्न सकिन्छ।
यो अवधारणा रोहितले अध्ययनका सिलसिलामा आफ्ना दाजु राहुल सेन्चुरीसँग मिलेर तयार पारेका थिए। कम्पनीका सह-संस्थापक राहुल सिओओका रूपमा पनि कार्यरत छन्।
रोहित कामको आइडिया फुरेको क्षणबारे भन्छन्, 'म सिभिल इञ्जिनियरिङको विद्यार्थी। पहिलो वर्ष अध्ययनरत हुँदा मलाई इञ्जिनियरिङको नोट चाहियो तर पाइएन। अनि नोट पाउने सजिलो उपाय के हुन सक्ला भन्ने सोच्दा यो अवधारणा आएको हो।'
उनीहरूले २०७४ सालमै यो प्लेटफर्मबारे सोचेका थिए। रोहित र राहुलसँगै धिरज पौडेल, दर्शन अवस्थी, अन्जना बस्नेत लगायत साथी मिलेर यसबारे काम तथा अध्ययन गर्न थाले। संस्थागत रूपमा भने २०७७ भदौदेखि स्कलर्स स्पेस सञ्चालनमा आएको हो।
यसमा विद्यालय तहका सरकारी र कृषि तथा भेटिरिनरी सम्बन्धी पाठ्यक्रम पनि समावेश गर्ने योजना छ। तर अहिले शैक्षिकभन्दा पनि सीपमा आधारित पाठ्यक्रममा प्राथमिकता दिएको रोहित बताउँछन्।
'यो प्लेटफममार्फत अरू कसकसले सिक्दै हुनुहुन्छ भनेर हेर्न पनि सकिन्छ। कसैले केही नबुझे आफूसँगै सिकिरहेका साथीसँग कनेक्ट गरेर सिक्ने व्यवस्था मिलाएका छौं। त्यस्तै प्रशिक्षार्थीसँग पनि कनेक्ट भएर नबुझेका कुरा सोध्न सकिन्छ,' रोहितले भने।
डिजिटल प्लेटफर्मबाट पनि सजिलो तरिकाले सिकाउने वातावरण बनाउन प्रयास गरिरहेको उनले बताए। स्कलर्स स्पेसले अब छिट्टै 'प्रोफेसनल कनेक्सन' सुविधा थप्ने तयारी गरेको छ। यसबाट प्रयोगकर्ताले टिमका जोकोहीसँग कुराकानी गर्न सक्छन्। कल तथा म्यासेज गर्न मिल्ने सुविधा पनि ल्याउने योजना छ।
भौतिक कक्षा सञ्चालन गर्ने योजना भने नबनाएको रोहितले बताए, 'कोरोना अगाडिदेखि नै डिजिटल सिकाइबारे सोचिरहेका थियौं। अहिले परिस्थितिले नै महत्व बढाएको छ। हामी अनलाइन सेवा नै दिने हो।'
तर स्कलर्स स्पेसको 'अर्गनाइजेसनल सर्भिस' भन्ने सुविधामार्फत कुनै कम्पनी/संस्थाका कर्मचारी वा स्कुलका विद्यार्थीलाई भौतिक रूपमै उपस्थित भएर सेवा दिइन्छ। केही समयअगाडि मात्रै मानव बेचविखन अनुसन्धान ब्युरोलाई भौतिक रूपमै तालिम दिएको रोहितले जानकारी दिए।
प्रविधि प्रयोगमा नेपाल अझै पछाडि छ। डिजिटल सिकाइ नै कोरोना महामारीपछि बल्ल सुरू हुन थालेको हो। यस्तो अवस्थामा स्कलर्स स्पेसलाई पनि लक्षित वर्गसम्म पुग्न निकै कठिन भएको उनी बताउँछन्। कतिपय अवस्थामा भौतिक रूपमा उपस्थित भएर टिमले स्कलर्स स्पेसबारे जानकारी गराएको थियो।
'प्रविधि प्रयोग कम भइरहेको अवस्थामा डिजिटल रूपमा प्रचार गर्दा मात्र लक्षित वर्गसम्म पुग्न सकिएन,' उनले भने, 'सामाजिक सञ्जालका साथै भौतिक रूपमा उपस्थित भएर प्रचार गर्यौं।'
उनका अनुसार आठ महिनामा हाल स्पेसमार्फत सिक्नेको संख्या ५० हजार पुगेको छ जसमा ८० प्रतिशत पुरुष छन्। 'महिला संख्या बढोस् भन्ने हाम्रो उद्देश्य हो तर मोबाइल पहुँच नभएर हो वा यी विषयमा रूचि नभएर, महिला एकदम कम हुनुहुन्छ,' उनले भने।
पछिल्लो समय स्कलर्स स्पेसमा बाहिरी देशबाट पनि प्रयोगकर्ता जोडिएका छन्, विशेषगरी अमेरिका र भारतबाट। सबै पाठ्यक्रम नेपालीमा राखिएकाले जोडिने सबैजसो नेपाली वा नेपालीभाषी नै भएको विश्वास कम्पनीको छ।
स्पेसले निःशुल्क राखेका बीसभन्दा बढी विधाका प्रत्येक आधारभूत कोर्स एक घन्टा ५ मिनेटका छन्। जोकोहीले आफ्नो अनुकूल समयमा उपलब्ध सीप सिक्न सक्छन्। छोटो भए पनि विद्यार्थी पोख्त हुने गरी कोर्स तयार पारिएको रोहित दावी गर्छन्।
'हामीले छोटो समयमा राम्ररी सिक्न सकिने गरी तयार गरेका छौं। कति सिकियो भनेर परीक्षण गर्न मन भए शिक्षकसँग कुरा गर्न सकिन्छ। मैले यस्तो-यस्तो कुरा सिकेँ भनेर ब्लग स्पेसमा लेख्न सकिन्छ। त्यसमा प्रतिक्रिया पाउनुहुन्छ,' उनले भने।
स्कलर्स्स स्पेसमा जोडिन सबभन्दा पहिले यसको वेबसाइटमा जानुपर्छ। पहिलो पटक प्रयोग गर्नेले साइन-अप बटनमा क्लिक गरी एकाउन्ट बनाउनुपर्छ। त्यहाँ भनिएको विवरण भरेपछि एकाउन्ट बन्छ। अर्को पटक सोही आइडी र पासवर्ड प्रयोग गरेर लग-इन गर्न सकिन्छ।
लग-इन गरिसकेपछि सर्च-बक्समा खोजेर वा 'वर्कस्पेस' मा गएर कोर्स हेर्न सकिन्छ। अहिले स्कलर्स स्पेसले पहिलो चरणको सीप सिकाइरहेको हो। यो चरण कोभिड महामारी रहँदासम्म रहेनछ रोहितले जानकारी दिए। अवस्था सामान्य भएपछि 'एड्भान्स' कोर्स ल्याउने योजना छ। रोहितका अनुसार एड्भान्स कोर्स निःशुल्क वा थोरै शुल्क लिएर उपलब्ध गराउने भन्नेबारे छलफल भइरहेको छ।
'आधारभूत सिकाइ भने सधैंभरी निःशुल्क हुने,' उनले भने।
त्यस्तै 'ट्यालेन्ट स्पेस' सुविधा ल्याउने तयारी पनि छ। यसमार्फत सीपमा पोख्त भएकालाई रोजगारदातासम्म जोड्ने योजना कम्पनीको हो।
स्कलर्स स्पेसमा यो वर्ष एक लाख प्रयोगकर्ता पुग्ने टिमको विश्वास छ।
रोहित भन्छन्, 'देशका कुनाकाप्चासम्म स्कलर्स स्पेस पुर्याउन हाम्रो लक्ष्य हो। मोबाइल र कम्प्युटर पहुँचमा भएकासम्म पुग्यौं भने रूचि हुने जतिले सिक्न सक्नुहुन्छ।'
(स्कलर्स स्पेसको वेबसाइटः www.scholarsspace.com, सम्पर्क नम्बरः ९८४७३१९९४६, इमेलः [email protected])