बाक्ला घरहरूले घाम छेलेर क्षेत्रपाटीबाट वसन्तपुर छिर्ने सुनसान गल्लीलाई शितल बनाइदिएका थिए। त्यही गल्लीको एकछेउ एउटा पुरानो रिक्साको ब्रेक लागेको थियो। चालक रिक्सामै निदाइरहेका थिए।
शितल ताप्दै खुला ठाउँमा मस्त निद्रामा डुब्न कम्ता मज्जा आउँदैन!
तर ती चालक आँखा चिम्लिएर रिक्सामा पल्टिएका मात्रै रहेछन्। बेचैन मनमा कता निद्रा लाग्नु!
हामी नजिकै पुगेको चाल पाउनेबित्तिकै उनले जुरूक्क उठेर भने, 'कता पुग्नुपर्ने हो? सस्तोमै पुर्याइदिन्छु।'
बिहानै पनि उनले एक जना यात्रुलाई सस्तोमै गन्तव्य पुर्याइदिए रे।
'आज त अचम्मै भयो। बिहानै एक ट्रिप भयो। एक जनालाई जैसीदेवल पुर्याइदिएँ। भाडा कति भन्दै थिए। जति दिनुहुन्छ इच्छाले दिनुस् भनेँ। पचास रूपैयाँ दिए। पैसा नभएका बेला त्यो पनि ठूलो कुरा हो। बिस्कुट भए पनि खान पुग्छ,' उनले आफ्नो खुसी हामीसँग बाँडे।
सामान्य अवस्था हुँदा क्षेत्रपाटीबाट जैसीदेवल पुर्याएको उनले सय रूपैयाँसम्म लिन्थे। तर मुश्किलले भेटेका यात्रुलाई उनले खुसी भएर आधामै लगिदिएछन्। हामीलाई कतै जानु थिएन। त्यहीँ बसेर उनीसँग कुराकानी थाल्यौं।
उनको नाम सुरमान तामाङ हो। उमेर ५१ वर्ष। स्थायी ठेगाना भकुण्डेवेसी, काभ्रे।
विगत १८ वर्षदेखि रिक्सा चलाउँदै आएका सुरमान धोबीचौरमा डेरा बस्छन्। भाडा महिनाको तीन हजार पाँच सय। रिक्सा साहुलाई दैनिक सय रूपैयाँ बुझाउनुपर्छ। उनको गुजारा चलाउने माध्यम नै रिक्सा हो। तर कोरोना सुरू भएयता छाक टार्न नसकेको उनी बताउँछन्।
'कोरोनाको हल्लापछि विदेशीहरू आउन छाडिहाले। उनीहरू नआएपछि रिक्साको आम्दानी सुकिसकेको थियो। सुक्को पैसा नभएको बेला पोहोर पनि सरकारले लकडाउन भन्यो,' उनले दुखेसो गरे, 'बीचमा पनि रिक्सा चलेकै थिएन। फेरि लकडाउन भइहाल्यो। भोकै बस्नुपर्ने दिन आयो।'
सरकारले निषेधाज्ञा गरेको केही दिन त सुरमान चुपचाप कोठामा बसे। खल्तीमा भएको अलिअलि पैसा पनि सकिन थाल्यो। तीन दिन घर बस्दा खल्तीमा दुई सय रूपैयाँ मात्रै बाँकी थियो। कतैबाट रासन पाइएला कि भन्ने आश थियो, पाएनन्।
त्यसपछि उनी निषेधाज्ञा उल्लंघन गर्दै सडकमा रिक्सा लिएर निस्किन बाध्य भए।
'अघिल्लो लकडाउनदेखि नियमित कोठाभाडा तिर्न सकेको छैन। के गर्नु खानै पुर्याउन सकेको छैन,' निधार खुम्च्याउँदै उनले भने।
त्यो दिन सुरमान रिक्सा लिएर धोबिचौरबाट ठमेल चोक पुगेका थिए।
'निषेधाज्ञा छ भन्ने थाहा छैन? जा, कोठामा चुपचाप नबसेर किन निस्किएको भन्दै पुलिसले लखेट्यो,' उनले सम्झिए।
उनी केही नबोली चुपचाप कोठा फर्किए।
'कोठाभित्रै बसेर भोकै मर्नु? खाने कुरा दिए को निस्किन्थ्यो। कसलाई रहर थियो महामारीमा पनि रिक्सा लिएर हिँड्न। मुखभरिको जवाफ फर्काउन मन थियो मलाई पनि,' उनले भने, 'उनीहरूलाई पनि आदेश होला भनेर चुपचाप फर्किएँ।'
रित्तो कोठा, भारी मन। खल्तीमा दुई सय रूपैयाँ। त्यो पैसा पनि उनलाई खर्च गर्न मन लागेन। त्यो रात सुरमान भोकै सुते।
भोलिपल्ट बिहान उठेर एउटा चिया पसलमा बिस्कुट र कालो चिया खाए।
'भरे के पर्ला, कसो पर्ला खल्तीको त्यो दुई सय मास्न मन लागेन। चिनेकै पसल भएकाले पैसा पछि दिन्छु भनेर चिया खाएँ,' उनले सुनाए।
उनी रिक्सा गुडाउँदै सडकमा आए। अघिल्लो दिनजस्तै प्रहरीको गाली पाइने हो कि भन्ने डरले मुटु ढुकढुक गरिरहेको थियो। रिक्सा गुडाउँदै 'होटल हार्दिक' अगाडि बागबजार पुगेका थिए। एक युवतीले हात हल्लाएर रिक्सा रोक्न संकेत गरिन्।
सुरमानले रोके। खुसी हुँदै युवतीलाई ठमेल पुर्याए।
'एकछिन रोक्दै गर्नुस् है दाइ भनेर ती बहिनी आधा घन्टा जति हराइन्। त्यसपछि आएर जैसीदेवल पुर्याइदिनुस् भनिन्,' उनले सम्झिए, 'जैसीदेवल नपुग्दै एउटा घुम्तीमा रोक्न भनिन्।'
सुरमानले झ्याप्प ब्रेक लगाए। युवतीले सुरमानलाई खुला पैसा माग्न थालिन्। उनले आफूसँग दुई सय रूपैयाँ मात्रै भएको बताए। उनले पछि कतै साटेर दिने भन्दै पैसा माग्न थालिन्। त्यसपछि सुरमानले त्यो दुई सय रूपैयाँ ती युवतीलाई दिए।
सुरमान रिक्सा हाँक्न थाले। जैसीदेवल पुगे। युवती ओर्लिइन्। सुरमानले भाडा मागे। आफूसँग लिएको दुई सय पनि फिर्ता मागे। युवतीले दिइनन्।
'मेरो टोलमा आएर मलाई हेप्छस्' भन्दै उल्टै सुरमानलाई पिटिन् र हिँडिन्। सुरमान हेरेको हेर्यै भए।
'त्यस्तो दुःख गरेर जहाँ भन्यो त्यहाँ पुर्याएँ। मेरो खल्तीमा भएको पैसा पनि लिइन्। उल्टै झापड खाएँ,' सुरमान भन्छन्, 'छोरी मान्छेलाई किन हात हाल्नु भनेर केही गरिनँ। रिक्सा चलाएको यत्रो वर्ष भयो। पहिलोपटक त्यस्तो घटना भयो।'
त्यो दिन सुरमानको खल्ती रित्तियो। कोठामा खानेकुरा केही थिएन। पसलमा बिहान खाएको चिया-बिस्कुटको उधारो तिर्नै बाँकी थियो।
त्यो घटनाले सुरमानलाई रुनु न हाँस्नु बनायो। उनी त्यहाँबाट रित्तो भएर फर्किए। भएको जाँगर पनि हरायो। शरीर त्यसै गल्यो। भोकै सुते। भोलिपल्ट उठ्दा शरीर कमजोरीले थरथर भएको थियो। खानेकुरा केही थिएन। न पैसा थियो। रिक्सा चलाउने हिम्मत आएन।
'आधा सटर खोलेर भए पनि साहुनीले चिया खुवाउँथिन्। अघिल्लो दिनकै उधारो थियो। फेरि कुन मुख लिएर जानु,' उनी भन्छन्, 'परिस्थिति त्यस्तै भएपछि के गर्नु? लाज पचाएर गएँ। साहुनीलाई सबै बेलिविस्तार लगाएँ। उहाँले चिया र बिस्कुट उधारो दिनुभयो।'
त्यसपछि उनी रिक्सा लिएर निस्किए। क्षेत्रपाटीमा बसिरहेका थिए। माछापोखरी जाने मान्छे भेट्टाए। त्यसबाट उनले तीन सय रूपैयाँ कमाइ गरे।
सुरमानका दिनहरू उधारो चिया-बिस्कुटको भरमै चलिरहेका थिए। त्यो तिर्न भए पनि पैसा जोहो भयो। खुसी भए। त्यही दिन उनले अर्को खुसीको कुरा पनि सुने- बेलुका एक जना आमाले ठमेलमा सञ्चय कोषको भवननिर खाना बाँड्छिन्।
'साथीहरूले सुनाएपछि म पनि त्यहाँ गएँ। एक प्याकेट खाना पाएँ। अनि घर लगेर खाएँ,' उनले भने।
हिजोआज सुरमान बिहानै उठ्छन्। चिया-बिस्कुट खान्छन्। एक बोतल पानी बोक्छन् र रिक्सा लिएर निस्किन्छन्। दिनभरी त्यही पानीको भरमा रिक्सा ठेल्छन्। कुनै दिन दुई/तीन सय कमाइ हुन्छ। कहिले रित्तै फर्किनुपर्छ। साँझ बाँडेको खाना खान पुग्छन्। यसरी नै उनको दैनिकी चलेको छ। भन्छन्, 'एक छाक चिया-बिस्कुट खान भए पनि रिक्साले धानेको छ।'
सामान्य अवस्थामा सुरमानले दैनिक पाँच सयसम्म कमाउँथे। त्यो कमाइले काठमाडौंको ढाड सेक्ने महँगीलाई के थेग्थ्यो!
'एक्लो ज्यान हो, तै पनि पैसा जोगिँदैन,' उनले भने, 'कहिलेकाहीँ जम्मा गर्छु भनेर बचायो, कहिले रिक्साको टायर फुट्छ, कहिले ब्रेक भाँचिन्छ।'
अहिले पनि उनको रिक्साको पछाडिपट्टिको एउटा चक्का फुटेको छ। त्यसलाई टालटुल गरेर काम चलाएका छन्।
'भाग्य फुटेको मान्छेको के–के फुट्छ फुट्छ। कतैबाट सुखका दिन आएनन्,' झर्को मान्दै उनी बर्बराए।
हुन पनि सहर छिरेपछि उनका सुखका दिन कहिल्यै फर्किएनन्।
'बरू गाउँमै राम्रो थियो। गोलभेँडा खेती गरेको थिएँ। लटरम्म फलेको थियो। कतै पाकिसकेको थियो। कतै भर्खर कोपिलाउँदै थियो। सबै छाडेर हिँड्नुपर्यो,' उनी १८ वर्षअगाडि फर्किए।
कुरा २०६० सालको हो। सुरमानका दुई सन्तान स–साना थिए। सुरमान खेतबारीको काममा खुब रमाउँथे। वस्तुपालन र मेलापात गरेर राम्रै पैसा बचाएका थिए। त्यही पैसाले गोलभेँडा खेती सुरू गरेका थिए। गोलभेँडा टिपेर बेच्ने बेला भएको थियो। तर बिक्री गर्न नपाउँदै गाउँ छाड्नुपर्यो।
'मेरो के गल्ती थियो र? मैले गरिखाएको देखेर आफन्त नै शत्रु लागे,' उनले भने, 'माओवादीमा गएका चिनेजानेकै मान्छेले आज राति कति खान्छस् खा, भोलि तँ बाँच्दैनस् भने। मलाई पनि रिस उठ्यो। हलचल गर्नै नसक्ने गरी कुटेर म रातारात काठमाडौं भागेँ।'
उनको ससुराली काठमाडौं इचंगुनारायणमै भएकाले सजिलो भयो। त्यहाँबाट भागेर आएका उनी एक महिना ससुरालीमै बसे। आर्मी क्याम्प नजिकै भएकाले सुरक्षा हिसाबले पनि ठीक थियो। तर ससुराली बसिरहन उनलाई ठीक लागेन। गाउँ फर्किने हो भने ज्यान माया मार्नुपर्थ्यो। ज्यानको मायाले काठमाडौं छिरेका उनी फर्किने कुरै भएन।
सुरमान कामको खोजीमा लागे। केही काम भनेजस्तो थिएन। रिक्सा चलाउँदा राम्रै कमाइ हुने सुनेपछि रिक्सा सिके अनि साहुसँग लिएर चलाउन सुरू गरे।
'परेपछि त खटिँदो रहेछ। म दिनरात खटेँ। १५ दिनमा पाँच हजार कमाएको थिएँ त्यो बेला,' उनले सम्झिए।
पैसा जम्मा भएपछि उनले डेरा खोजे। त्यो समय महिनाको दुई हजार पाँच सय भाडाको कोठा पाए, धोबीचौरमा। अरू सरसामान पनि जोहो गर्दै गए। त्यसपछि श्रीमती र छोराछोरीलाई पनि ससुरालीबाट ल्याए।
दिनरात नभनी उनी रिक्सा चलाउँथे। सुखदुःख जीविका चल्दै थियो। श्रीमती दिनभर कोठामै हुन्थिन्। छोराछोरी पढाउन मुश्किल थियो। छोरालाई सुरमानकी दिदीले पढाइदिने भनेर राखेकी थिइन्। छोरीलाई उनैले सरकारी स्कुल पठाएका थिए। तर आठ वर्षअगाडि उनकी श्रीमतीले दोस्रो बिहे गरिन्।
'दिनरात नभनी खटिएर काम गरेको थिएँ। दुःख त थियो। श्रीमतीलाई भनेजस्तो पुर्याउन सकिनँ होला। हुन त मान्छेको दुःख कहिल्यै नजाने रहेछ। अहिले एक्लैलाई पनि काठमाडौंमा खानबस्नै गाह्रो छ,' हातमा पानीको बोतल लिँदै सुरमानले भने।
अहिले छोराछोरी पनि सुरमानसँग छैनन्। उनका छोरा मामाघर बसेर पढ्दैछन रे। छोरीले पनि बिहे गरिन् भन्ने सुनेका रहेछन् सुरमानले।
'बुढेसकालमा समयले एक्लै बनायो। सकुन्जेल काम गर्छु। नसक्दा छोराले हेर्छ कि भन्ने आश छ,' उनले भने।