उपत्यकामा मेलम्चीको पानी आएपछि ट्यांकर व्यवसायी राकेश महर्जनका ट्यांकर सुख्खा हुन थालेका थिए। आम्दानीको बाटो सुक्न थालेपछि उनको तनाव बढ्दै थियो।
आफूसँग भएका तीन वटा ट्यांकर प्रयोगविहीन हुने अवस्था देखेपछि थन्क्याउने कि पछाडि ढाला (ट्रक–टिपरका पछाडि राखिएको सामान राख्ने फलामको ठूलो बाकस) राखेर ट्रक/टिपरमा परिणत गर्ने भन्ने पिर थियो उनलाई।
तर पछिल्लो एक सातादेखि उनका दिन फिरेका छन्। मेलम्ची खानेपानी आयोजनाले असार एक गतेदेखि उपत्यकामा खानेपानी वितरण बन्द गरेको छ। पानी बन्द भएलगत्तै उनका थन्किएका ट्यांकर राम्रोसँग चल्न थालेका राकेश बताउँछन्।
उनका अनुसार कोरोना महामारी र मेलम्ची पानीका कारण थन्किएका ट्यांकर मेलम्ची बन्द भएलगत्तै हुँइकिन थालेका हुन्।
'अहिले त ट्यांकर चल्न थालिहाले नि,' उनले खुसी हुँदै सुनाए, 'तर कोरोनाले देश ठप्प छ। फेरि यो वर्षात् सिजन पनि हो। सुख्खा सिजनको जस्तो पानीको माग त हुँदैन। तर मेलम्चीको पानी बन्द भएपछि ट्यांकर पानीको माग बढेको छ।'
हाल उनका ट्यांकरले दैनिक चारदेखि पाँच ट्रिपसम्म पानी ओसारिरहेको उनले बताए। अहिले ट्यांकर व्यवसाय सामान्य अवस्थाको वर्षात् सिजनको जस्तै चल्न थालेको उनले बताए।
हरि कँडेलको ट्यांकर व्यवसाय पनि राकेशको जस्तै अवस्थामा पुगेको थियो। काठमाडौं उपत्यका ट्यांकर तथा बोरिङ व्यवसायी संघका अध्यक्षसमेत रहेका हरिसँग १५ वटा ट्यांकर थिए। तीमध्ये पाँच वटा मात्रै सञ्चालनमा थिए जसले मुस्किलले दैनिक तीन ट्रिप पानी ओसार्थे।
कोरोना महामारीका कारण थला परेको ट्यांकर व्यवसायलाई मेलम्चीले थप जोखिममा पारेको उनी बताउँछन्।
'हामी पलायन हुनुपर्ने अवस्थामा पुगेका थियौं। ढाला राख्ने सन्दर्भमा पनि अलमल थियौं,' उनले भने।
आफूहरू अलमल परिरहेकै अवस्थामा मेलम्चीको पानी रोकिएपछि ट्यांकर व्यवसायी सुरक्षित भएको भन्दै उनले खुसी व्यक्त गरे।
'अब मेलम्चीको पानी आउन समस्या भइसकेपछि ट्यांकरका दिन फेरि फर्किएजस्तो मलाई लाग्छ,' सेतोपाटीसँग कुरा गर्दै उनले भने।
हरि जोरपाटी क्षेत्रबाट उपत्यकाभरि पानी वितरण गर्छन्। उनका अनुसार जोरपाटीबाट चल्ने दुई सय ५० ट्यांकर छन्। मेलम्चीको पानी तथा निषेधाज्ञाका कारण अधिकांश ट्यांकर सञ्चालनमा आउन सकेका थिएनन्। निषेधाज्ञा खुकुलो भएसँगै सहज रूपमा सञ्चालनमा आउने उनको विश्वास छ।
'अब केही समय मेलम्चीको पानी नआउने सूचना आइसकेको छ। लकडाउन खुल्यो भने ट्यांकर व्यवसाय हिजो जुन अवस्थामा चलेको थियो, त्यही अवस्थामा फर्किन्छ,' उनी भन्छन्, 'तर फेरि मेलम्चीको पानी आउँदा चाहिँ ट्यांकर व्यवसायी धरासायी हुन्छन्।'
अर्का व्यवसायी हरि गिरी भने मेलम्ची बन्द भए पनि ट्यांकर पानीको माग ह्वात्तै नबढेको बताउँछन्। मेलम्चीको पानी आएपछि उनका चार वटामध्ये एउटा ट्यांकर मुश्किलले चलेको थियो। त्यसले पनि दिनको एक ट्रिप पाउन हम्मे हुन्थ्यो। अहिले मेलम्ची बन्द हुँदा पनि धेरै माग नभएको उनको भनाइ छ।
'सामान्य अवस्थामा एउटा ट्यांकरले दैनिक सात ट्रिपसम्म पानी ओसार्थ्यो। अहिले तीन ट्रिप मुश्किल हुन्छ,' उनले भने, 'मेलम्ची आउनेबित्तिकै त एक ट्रिप पनि हुन्थेन। त्यसको तुलनामा चाहिँ केही बढेको छ।'
काठमाडौं खानेपानी व्यवस्थापन बोर्डका अनुसार उपत्यकाभरि सात सयभन्दा बढी ट्यांकर सञ्चालनमा छन्। सामान्य अवस्थामा यिनले उपत्यकामा दैनिक पाँच करोड लिटर पानी आपूर्ति गर्दै आएका थिए। मेलम्ची पानी काठमाडौं रिङरोडभित्र वितरण सुरू भएलगत्तै ट्यांकर पानीको माग ५० प्रतिशत घटेको व्यवसायीहरूले बताएका थिए। रिङरोड बाहिर पनि आपूर्ति हुन सुरू गरेपछि ९० प्रतिशत ट्यांकर विस्थापित हुने अनुमान उनीहरूको छ।
तर मेलम्ची खानेपानी आयोजनाले असार १ गतेदेखि उपत्यकामा खानेपानी वितरण बन्द गरेको छ। सुरुङ परीक्षण भइरहेकाले झन्डै दुई महिना पानी बन्द हुने आयोजनाले जनाएको छ। मेलम्चीको पानी बन्द भएपछि ट्यांकर व्यवसायीका दिन पुनः फर्किएका हुन्।