सुरूआतमा कोरोनाको त्रास निकै थियो। के–कस्तो हो भन्ने अलमलले धेरै जना आत्तिए पनि। यही अलमल सुल्झाउने उद्देश्यले पाँच नेपाली वैज्ञानिकले फेसबुकमा एउटा एप पेज बनाए- गोलु।
गोलुको मेसेन्जरमा मान्छेले कोरोना सम्बन्धी आफ्ना जिज्ञासा राख्न सक्थे। गोलुले तुरून्तै जवाफ दिँदै कोरोनाबारे सही जानकारी सम्प्रेषण गर्न मद्दत पुर्याउँथ्यो।
गोलु एक च्याटबट हो। साधारण भाषामा बुझ्दा च्याट गर्ने रोबोट। यसलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) भनेर पनि बुझ्न सकिन्छ। यसमा प्रश्नसँग मेल खाने जवाफहरू पहिल्यै राखिएको हुन्छ। प्रश्नअनुसार यसले आफैं जवाफ फर्काउँछ। विदेशतिर यो सेवा सामान्य भइसक्यो। नेपालमा पनि केही व्यवसायिक संस्थाहरूले प्रयोग गरिरहेका छन्। गोलुले भने नेपाली भाषामा कुराकानी गर्ने भएकाले अलि भिन्न लाग्छ।
गोलुको निर्माण वैज्ञानिकहरू विशेष खनाल, आजाद छतकुली, दण्डपाणि पौडेल, विनोद भट्टराई र सुमनराज विष्टले गरेका हुन्। उनीहरू सफ्टवेयर कम्पनी 'दियो एआइ टेक्नोलोजी' मार्फत् यो काम गरिरहेका छन्। यी पाँचै जना कम्पनीका सह–सञ्चालक हुन्।
'हामीकहाँ केही बैंकले आफ्ना अनलाइन सेवामा च्याटबट राखेका छन्। तर ती बिरलै प्रयोग हुन्छन्। अंग्रेजी भाषा र धेरै फिचर नभएकाले कम प्रयोग भएको हो,' गोलुका सह-निर्माता विशेषले भने, 'यदि नेपालमा च्याटबट जस्ता एआइ वृद्धि गर्नु छ भने त्यसलाई नेपाली वा यहीँका स्थानीय भाषामा प्रयोगमा ल्याउन सक्नुपर्छ।'
विशेष आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च विज्ञ हुन्। उनी आठ वर्षसम्म फ्रान्स, स्विट्जरल्यान्ड र बेलायत बसेर अनुसन्धानमा आधारित पढाइ गरी फर्केको तीन वर्ष भयो। आजाद छतकुली र दन्डपाणि पौडेल स्विट्जरल्यान्डको इटिएच जुरिक विश्वविद्यालयमा पोस्ट-डक्टरल रिसर्चर छन्। विनोद भट्टराई लन्डनको इम्पेरियल कलेजका र सुमनराज विष्ट क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा अस्ट्रेलियन सेन्टर फर रोबोटिक्स भिजनमा पोस्ट-डक्टरल रिसर्चर हुन्। विशेषबाहेक चारै सह-सञ्चालक विदेशबाट आफ्नो काम गरिरहेका छन्।
विशेष, आजाद र सुमन पुल्चोक इञ्जिनियरिङ क्याम्पस पढ्दादेखिका साथी हुन्। दन्डपाणिसँग भने स्नातकोत्तर पढ्दा र विनोदसँग लन्डनमा विशेषको भेट भएको हो। यसरी विशेषकै माध्यमबाट पाँच जना एकअर्काका साथी भए र पछिल्लो छ वर्षदेखि उनीहरू सहकार्य गरिरहेका छन्।
यी पाँच वैज्ञानिकले कोरोनाबारे जानकारी दिन बनाएको गोलुको प्रयोग अहिले यसमा सीमित छैन। यहाँ मान्छेले जस्तासुकै प्रश्न सोध्न सक्छन्। गोलुले रमाइलो पारामा जवाफ फर्काउँदै कुराकानी गर्छ। कुनै प्रश्नको जवाफ नभए, 'मैले बुझिनँ' पनि भन्छ।
गोलुले चुट्किला, समाचार, राशिफल पढ्न दिनुका साथै हाजिरी जवाफ पनि खेलाउँछ। कम्पनीले गोलुलाई अल्छी लागेका बेला वा बोल्ने कोही खोजिरहेको बेला गफ गर्ने रोबोट साथीका रूपमा पनि चिनाएको छ।
'मानिसहरूले यो च्याटबट मन पराउनुभयो र धेरैखाले प्रश्न आउन थाले। अनि प्रोग्राम थपेर अपडेट गर्यौं र जस्तासुकै प्रश्न सोध्न मिल्ने बनायौं,' ३४ वर्षीय विशेषले जानकारी दिए।
गोलु नाम राख्नुका पछाडि कुनै विशेष कारण छैन। सम्झिन सजिलो, छोटो र रमाइलो नाम खोज्ने प्रक्रियामा निर्माण टिमका सबैलाई यही मनपर्यो। कम्पनीको नाम दियो भने सोचेरै राखिएको हो। दियो उज्यालोको प्रतीक, प्रविधिको माध्यमबाट उज्यालो दिने सोचले यो नाम छानेको विशेषले जानकारी दिए।
दियो स्थापना भएको एक वर्ष मात्र भयो। तर विशेष नेपाल फर्केदेखि नै यही काममा सक्रिय थिए। उनले सन् २०१८ मा 'दियो' का अरु सह-संचालक र अन्य तीन साथीसँग मिलेर 'नामी' संस्था स्थापना गरेका थिए। नामी गैरनाफामूलक संस्था हो जसअन्तर्गत नेपालको एआइ र कम्प्युटर विज्ञान विषयमा अनुसन्धान हुन्छ। यहि संस्था अन्तर्गत दियो संचालनमा आएको हो।
'नेपालमा अनुसन्धान निकै फितलो छ। त्यसैले यो क्षेत्रमा केही गर्नुपर्छ भनेर सुरूमा हामीले नामी खोलेका थियौं,' विशेषले भने, 'मुख्यगरी नेपालको उद्योग क्षेत्रमा एड्भान्स टेक्नोलोजी कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे त्यहाँबाट अनुसन्धान गर्थ्यौं।'
नामी सञ्चालन भएको दुई वर्षसम्म उनीहरूले केही आर्थिक सहयोगबाट काम गरे। पछि काम गरेर पैसा जुटाउन सके अनुसन्धान अझ राम्ररी अघि बढाउन सकिन्छ भनेर दियो सञ्चालनमा ल्याएका हुन्। दियोमा अनुसन्धानकर्ता, इञ्जिनियर र मार्केटिङमा गरी हाल १२ जनाले काम गर्छन्।
नामीमा काम गर्दा विशेष र उनका साथीले यहाँको व्यवसाय क्षेत्र नजिकबाट नियाल्न पाए। प्रविधि ब्रान्डहरू धेरै भए पनि सबैजसो उत्पादन विदेशको सिको गरेर बनाइएको विशेषको अनुभव छ। भन्छन्, 'विदेशी प्रविधिबाट सिक्नु गलत होइन। तर जुन कुरा विदेशमा चलेको हुन्छ त्यो नेपाली परिवेशका लागि नमिल्न सक्छ, अनुसन्धान गरेर मात्र ल्याउनुपर्छ।'
त्यसैले दियोले अध्ययन गरेर परिवेशअनुसार आवश्यक, सुहाउँदो र प्रभावकारी प्रविधि ल्याउने कोशिस गरिरहेको छ। यस्तै प्रयासको नतिजा हो च्याटबट। दियोका च्याटबटबाट कुनै संस्था वा उत्पादनबारे सहजै जानकारी लिन सकिने विशेषको भनाइ छ।
उदाहरणका लागि, कसैलाई बैंकको सेवाबारे जानकारी लिनुछ। त्यसको अनलाइन प्लेटफर्ममा गइ नेपाली भाषा वा रोमनमा टाइप गरेर जिज्ञासा राख्न सकिन्छ। उताबाट नेपालीमा जवाफ आउँछ। यो प्रविधि बैंक वा कम्पनीमा मात्र होइन, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा अझ उपयोगी हुने विशेष बताउँछन्।
'किसानलाई बोटबिरूवामा लाग्ने रोगबारे सोधपुछ गर्न विज्ञ खोजिरहनु पर्दैन। च्याटबट सुविधा भएको कृषि सम्बन्धी वेबसाइटमा गएर उत्तर पाउन सक्छन्,' विशेष भन्छन्, 'यसैगरी सानातिना स्वास्थ्य सम्बन्धी जिज्ञासा हस्पिटलका वेबसाइट र शिक्षा सम्बन्धी प्रश्न विद्यालयको वेबसाइटमा गएर सोध्न सकिन्छ। च्याटबट प्रविधि भएपछि सानो कुराका लागि अरूको सहयोग मागिरहनु पर्दैन।'
च्याटबटसहित हाल दियोले तीन प्रकारका सेवा उपलब्ध गराइरहेको छ। 'इन्टेलिजेन्ट वेब' अर्को सेवा हो जसमा कम्पनीले स्थानीय परिवेशको आवश्यकता अनुसार एआइ प्रयोग गरी सहज वेबसाइट बनाइदिन्छ। अनि अगमेन्टेड रियालिटी (एआर) प्रविधि छ। यो भनेको कुनै कुरा डिजिटल माध्यमबाटै प्रत्यक्ष रूपमा अगाडि हेरे/देखेजस्तै हुने प्रविधि हो।
अहिले गहना पसलहरूका लागि यो सेवा ल्याइएको विशेषले जानकारी दिए। यसबाट पसलको वेबसाइटमा गएर गहना आफूलाई सुहाउँछ वा सुहाउँदैन भनेर हेर्न सकिन्छ। आफूलाई मनपरेको गहनाको फोटोमा क्लिक गरेपछि क्यामरा खुल्छ र आफ्नै कान वा घाँटीमा लगाएजस्तै देखिन्छ। एआर प्रविधि अनलाइन सिकाइ प्लेटफर्ममा पनि प्रयोग गर्न सकिन्छ। विद्यार्थीले मुख्यगरी विज्ञान विषयका सामग्री आँखा अगाडि नै भएजसरी कम्प्युटरबाट हेरेर अनुभव लिन सक्छन्।
विशेषका अनुसार कोरोना महामारीलाई मध्यनजर गर्दै दियोले यी सेवा ल्याएको हो। ग्राहकलाई भिडभाडमा गहना पसल जानु नपर्ने। विद्यार्थीले पनि अनलाइनमा बसेर भौतिक कक्षाको अनुभव लिन सक्ने। हाल दियोले यी सेवा हेलमेट्स नेपाल, अमेजन वेब सर्भिस र उत्सव ज्वेलरीलाई दिइरहेको छ।
विशेषका अनुसार च्याटबट बनाउने रकम कुन तहको बनाउने भन्ने आधारमा तय हुन्छ। सामान्यतया शुल्क दुई–तीन लाखदेखि २५–३० लाखसम्म पर्न सक्छ। बैंकको वेबसाइटमा सुरक्षा हिसाबले काम गर्नुपर्ने हुँदा महँगो पर्छ। प्रश्नको जवाफ मात्र फर्काउने च्याटबट बनाउँदा सस्तो। एआरका लागि भने दियोले त्यति महँगो सुविधा ल्याएको छैन, अहिले डेढ लाखबाट सुरू हुन्छ।
सुरूका दिनमा भने उनीहरूलाई आफ्ना सेवा नेपाली बजारमा पुर्याउन समस्या परेको थियो। यहाँको बजारबारे सञ्चालकहरूलाई धेरै ज्ञान पनि थिएन। 'यहाँका केही सफ्टवेयर कम्पनीले काम गर्ने भनेर पैसा लैजाने र भनेअनुसार नगर्दिने रहेछन्,' विशेषले सुनाए, 'त्यसैले सफ्टवेयर कम्पनीमाथि विश्वास दिलाउनै गाह्रो पर्यो। धेरै प्रयास गर्नु परेको थियो।'
एआइ प्रविधिबाट धेरै काम सजिलो हुन्छ भन्ने कुरा अधिकांशलाई जानकारी नभएकाले पनि सेवाग्राही संख्या कम भएको उनी बताउँछन्।
'विश्वको भविष्य एआइमा समर्पित छ, यस्तो बेला हामी पुरानै चलनमा अड्किएर पछि पर्नु हुँदैन,' उनी भन्छन्, 'नेपालमा एआइ प्रविधि अत्यन्तै कम प्रयोग हुन्छ। बजारमा यसको फाइदा बुझाउन निकै जरुरी छ ताकि सफ्टवेयर कम्पनीहरूले अझै प्रभावकारी उत्पादन बनाएर भविष्यमा विदेशी कम्पनीलाई पनि बेच्न सकून्।'
उनका अनुसार एआइले आर्थिक रूपान्तरणमा ठूलो भूमिका खेल्न सक्छ। तर हामीकहाँ प्रयोग हुने धेरैजसो प्रविधि अनुसन्धानबिनै अगाडि बढेकाले प्रयोगकर्ता घुलमिल हुन सकिरहेका छैनन्। कम्पनीहरूले ग्राहकलाई सेवा दिने सहज तरिकाबारे अनुसन्धान नगरेसम्म प्रविधिको खास उपयोग नहुने उनी बताउँछन्।
'हाम्रो उद्देश्य एआइलाई नेपाली परिवेशसँग स्थानीयकरण गर्नु हो,' विशेषले भने, 'आजकाल अधिकांश क्षेत्रमा एआइ प्रयोग हुन्छ। यसले जसरी गति लिएको छ, त्योअनुसार हामीले फाइदा लिन भने सकिरहेका छैनौं।'