शुक्रबार बिहानैदेखि झरी परिरहेको थियो। सुन्धारास्थित होटल लाइनमा ट्याक्सीको सानोतिनो लश्कर देखिन्थ्यो। एकाध ट्याक्सी हुँइकिए। अरू यात्रुको प्रतीक्षामा बाटो हेर्दै बसे।
ट्याक्सी चालक ज्ञानु तामाङ त्यहीँ भेटिए। तर उनी यात्रु पर्खिरहेका थिएनन्। शुक्रबार जोर गते भएकाले उनको बिजोर नम्बरको ट्याक्सी गुड्न पाउँदैन। दुई महिना थन्किएको ट्याक्सीले सडकमा निस्किने मौका त पाएको छ, पालो भने कुरेर बस्नुपर्छ।
'आम्दानी-खर्चको हिसाब राख्नुपर्ने बेलामा गते सम्झेर बस्नुपरेको छ,' दिक्क मान्दै ज्ञानुले भने, 'पालो भएको दिन पनि फिटिक्कै ट्रिप लाग्दैन।'
कोरोना महामारीले ट्याक्सी र उनलाई थलाएको छ। ऋणले पनि थिच्न थालेपछि उनी आफ्नो निर्णयमा शंका गर्न थालेका छन्- कतै गल्ती त गरिनँ?
काभ्रेका ज्ञानु तीन वर्षअघिसम्म दुबइमा काम गर्थे। केही पैसा जम्मा भएकाले परिवारसँग बसेर स्वदेशमै आफ्नो श्रम र सीप खर्चिने सपना बुनेर फर्के। छ लाख रूपैयाँ बचेको थियो, १५ लाख फाइनान्सबाट १८ प्रतिशत ब्याजमा झिके। अनि २१ लाख जुटाएर ट्याक्सी किने।
केही वर्षमा ऋण तिरिसक्ने अनि आफ्ना सपना हुँइकिन्छन् भन्ने विश्वासले उनी दंग थिए। तर सडकमा गुडेको एक वर्ष नहुँदै कोरोनाले ठक्कर दियो। पहिलो लकडाउनमै शिथिल भएको ट्याक्सी व्यवसाय निषेधाज्ञाका कारण उठ्नै नसक्ने गरी थलिएको ज्ञानु बताउँछन्।
'सरकारलाई त लकडाउन गरिदिए पुगिहाल्यो। ट्याक्सी व्यवसायी र चालकबारे अलिकति पनि सोचेन। न कतैबाट राहत मिल्यो,' उनको आवाजमा पीडासँगै आक्रोश मिसिएको थियो।
उनले फाइनान्समा मासिक ३५ हजार किस्ता बुझाउनुपर्छ। पहिलो लकडाउनअघिसम्म नियमित तिरिरहेका थिए। तर काम र कमाइ ठप्प भएपछि किस्ता थपिँदै गयो। अचेल ऋण सम्झिएर उनलाई निद्रा पर्न छाडेको छ।
'फाइनान्सले ब्याजको स्याज पनि कसेर लिन्छ,' अघिल्लो लकडाउनमा पनि फाइनान्सले चर्को ब्याज असुलेको उनले बताए, 'फाइनान्सलाई बैंकले छुट दिए पो तपाईंहरूलाई दिने भनेर लकडाउन बेला तिर्न नसकेको किस्ताको जरिवाना लिन्छ।'
भोटेबहालमा डेरा बस्दै आएका ३२ वर्षीय उनले ट्याक्सी चलाएरै दुई छोराछोरीसहितको परिवार पाल्नुपर्छ। मासिक सात हजार भाडा नै छ। त्यसमाथि महँगीले ढाड सेक्छ। पछिल्लो समय खान र छोराछोरीको स्कुल खर्च जुटाउनै ऋण लिनुपर्ने अवस्था आएको उनी बताउँछन्।
यस्तै ऋण सम्झिएर ज्ञानु बिहान चार बजे उठ्छन्। ट्याक्सी निकाल्छन्। बेलुका नौ बजेसम्म खट्छन्। तर दिनभरमा एकाध यात्रु पनि मुश्किलले पाउँछन्, 'तेलको पैसा पनि उठ्दैन। के खाने? किस्ता कसरी तिर्ने?'
त्यसमाथि ट्याक्सी स्ट्यान्ड नहुँदा चर्को जरिवाना तिर्नुपर्ने अर्को समस्या छ। काठमाडौं महानगरपालिकाले आवश्यक स्ट्यान्ड व्यवस्था नगर्दा ट्याक्सी गुडाइ राख्नुपर्ने वा सडक छेउछाउ रोक्नुपर्ने बाध्यता भएको उनले बताए।
'ट्याक्सी रोकेर ढुक्कले खाना खाने वातावरण छैन। एउटा कुनामा ट्याक्सी राखेर खाना खाएर फर्किँदा ह्वील लक भइसक्छ,' उनी भन्छन्, 'कहिलेकाहीँ भात पनि निल्नु न ओकेल्नु हुन्छ।'
यो काममा जोखिम धेरै भएको पनि उनले बुझेका छन्।
एउटा घटना सुनाए।
सुन्धारामा उनी यात्रु कुरेर बसेका थिए। एक जनाले इन्द्रचोक हुँदै अनामनगर जाने सुनाए।
ज्ञानुले खुसी भएर भने, 'हुन्छ, पैसा चाहिँ मिलाएर दिनुस् है।'
'केको मिलाएर, मिटरमा लैजा, म ट्राफिक हो चिनिनस्,' ती व्यक्तिले हप्काए।
ट्याक्सीमा छ जना बस्न लागेपछि ज्ञानुले भनेछन्, 'कोचाकोच भएर त जान मिल्दैन।'
'हामीलाई कसले के गर्छ? हिँड्,' भन्दै उनीहरूले जबरजस्ती गरे।
'आफैं नियम बनाउने, आफैं मिच्ने,' ज्ञानुले प्रतिवाद गरे।
यसपटक भने उनले जवाफ पाएनन्। पछाडिबाट एक जनाले नराम्ररी कुटे।
'त्यो दिन ट्राफिकले उल्टै चिट काट्यो। जोसँग पैसा र शक्ति छ, उसले जे गरे पनि हुने रहेछ। नहुनेले चुपचाप सहनुपर्ने,' उनले गुनासो गरे, 'ट्याक्सी चालकलाई सजिलो कहाँ छ र?'
यी समस्या छँदैछन्। त्यसमाथि ट्याक्सी चालकलाई हेर्ने आम मानिसको नजरका कारण उनी थप दुःखी छन्।
'अरू देशमा श्रमिकको सम्मान हुन्छ। यहाँ हामीलाई चोर, फटाहा, ठगको ट्याग छ। सबैले ट्याक्सी चालक ठग हुन्छन् भनेर मात्रै बुझेका छन्। तर सबै हुँदैनन् नि। कसैले बदमासी गर्यो भने उसलाई कारबाही हुनुपर्यो। सबैको बदनाम किन गर्नु?'
सरकारले दुरीअनुसार भाडा नतोक्ने र नियमन नगर्ने भएकाले पनि ठगी बढेको उनको भनाइ छ।
यस्तै कारणले हो उनलाई ट्याक्सीको काम गरेर गल्ती त गरिनँ भन्ने लाग्ने।
उनी थप्छन्, 'बुबाले त भन्नुहुन्थ्यो यहाँ ट्याक्सी चलाएर हुनेवाला केही छैन। सडकको सडकमै भइन्छ। कसैले राम्रो सोच्दैन। अहिले लाग्दैछ बुबाले भनेको कुरा ठीक रहेछ।'
ज्ञानुका बुबा पनि ट्याक्सी चालक थिए। सडकको पीडा र झमेला खप्न नसकेर साउदीमा गएका छन्। ज्ञानुले पनि अब एक वर्षजति दुःखसुख हेर्ने, नभए विदेशै जाने योजना बुनिसके।
यसअघि पनि ज्ञानु ट्याक्सी बेचेरै विदेसिएका थिए। ट्याक्सीबाट राम्रो कमाइरहेका बेला उनकी आमा क्यान्सरले बितिन्। बुबाको खुट्टा भाँचियो। उपचारले ऋण थोपार्यो। अनि ज्ञानुले कहिले भारी बोकेर, कहिले सुरक्षा गार्ड त कहिले होटलमा काम गरेर जोगाएको पैसाले किनेको ट्याक्सी बेच्नुपर्यो।
'मन त देशमै काम गर्ने हो नि तर अनेक बाधा र बाध्यता आइलाग्दो रहेछ,' उनले भने।
दुबइमा तारे होटलको पार्किङमा काम गर्दा मासिक एक लाख रूपैयाँ कमाउँथे रे। तर परिवारसँग टाढिँदा मन पिरोलिएको थियो। त्यसैले दुःखसुख देशमै काम गर्छु भनेर फर्किएका उनले फेरि ट्याक्सीमै राम्रो देखेका थिए।
'तर अहिले त धेरै परिवर्तन भइसकेछ। राइड सेयरिङ प्रविधिले ट्याक्सी सुकिसकेछ। प्रविधि आउनु नराम्रो होइन, तर व्यवस्थित र मापदण्ड हुनुपर्यो,' ज्ञानुले भने।
सरकारले नियमन नगर्दा पछिल्लो समय ट्याक्सी व्यवसायी निकै मर्कामा परेको उनी बताउँछन्। देशमै केही गर्छु भनेर लागि परेका युवालाई विदेश पलायन हुन नदिन सरकारले सोच्नुपर्ने बेला आएको उनको भनाइ छ।
'देश प्यारो लागेर मात्रै के गर्नु, यहाँ न कामको सम्मान छ, न सुरक्षा। आफ्नो सर्वस्व डुब्दा सरकारलाई कुनै चासो छैन,' देशमै केही गर्ने सपना बुन्दाबुन्दार थाकेका ज्ञानुले भने।