कोरोना महामारीले बजारका किराना पसल बन्द भए पनि अनलाइन पसल 'किराना' खुल्लै थियो।
पहिले धेरै उपभोक्ताको नजर नपरेको किरानाले दैनिक उपभोग्य सबैजसो सामान बेच्थ्यो। पहिलो लकडाउन सुरू भएपछि उपभोक्ताले धमाधम अर्डर गर्न थाले।
कम्पनीका सह–संस्थापक सागरदेव भट्टलाई भ्याइनभ्याइ भयो। त्यसअघि यति धेरै कारोबार भएकै थिएन। लकडाउनअघि दैनिक एक-डेढ सय अर्डर आउने गरेकोमा पछि चार-पाँच सय आउन थाल्यो।
चार वर्ष पहिल्यै खुलेको भए पनि किरानासँग यति धेरै डेलिभरीका निम्ति स्रोतसाधन पर्याप्त थिएन।
'अर्डर धेरै आएपछि डेलिभरीका साथीहरूले मात्रै भ्याएनन्। कति ठाउँमा म आफैं खटिएँ,' भट्टले करिब डेढ वर्षअघिको आफ्नो अनुभव सुनाए।
उनका अनुसार लकडाउनको एक महिना अघिदेखि नै अर्डर प्रत्येक साता २० देखि २५ प्रतिशत बढ्दै थियो। लकडाउनपछि त तीन सय प्रतिशतसम्म बढ्यो।
सागरले कोरोनाको डरले सुरूका दुई दिन त डेलिभरी रोके। पछि लकडाउनमा झनै उपभोक्तालाई घरघरै खाद्यान्न पुर्याइदिनुपर्छ भन्ने सोचे। तर कसरी भन्ने मेसो पाउन सकेका थिएनन्। त्यसको दुई दिनमै सरकारले अत्यावश्यक वस्तुको 'होम डेलिभरी' निम्ति बाटो खोलिदियो। डेलिभरी गर्ने कम्पनीलाई वाणिज्य विभागले पास व्यवस्था गरेको थियो।
'हामीले पाँचवटा पास पाएका थियौं। बिहान ६ बजेदेखि बेलुका १० बजेसम्मै डेलिभरी गर्थ्यौं,' सागरले भने।
यसरी लकडाउनले सबै ठप्प हुँदा किरानाको काम सक्रिय भयो। तीन महिनापछि विस्तारै लकडाउन खुकुलो भयो। यसबीच किरानाजस्ता थुप्रै पुराना इ-कमर्स कम्पनी फस्टाए। नयाँ पनि धेरै खुले।
किरानाको जन्म ०७५ सालमा एउटा कोठामा भएको थियो। सागरको पहिले यो काम गर्ने सोचै थिएन। उनी एक सफ्टवेयर कम्पनीमा काम गर्थे। दसैं बेला अन्त त भइहाल्यो, किराना पसलमा समेत भिडभाड देख्दा उनलाई उकुसमुकुस भयो। पसलमा जस्तो पाइन्छ, अनलाइन बजारमा पनि त्यस्तै सामान पाइने होला, किन यहाँ भिड लाग्नु भन्ने सोचे।
उनले अनलाइन बजारबारे अध्ययन गरे। दैनिक उपभोग्य वस्तु मात्रै पाइने अनलाइन पसल नभेटेपछि आफैं सुरू गर्ने योजना बनाए। दुई साथीहरू, आदर्शराज पाण्डे र कल्याण अधिकारीले सहकार्य गर्ने भए।
परिवारले भने राम्रो जागिर छाडेर व्यवसाय गर्ने योजना मन पराएन। उनले सुनाए, 'यति राम्रो जागिर छाडेर दाल-चामल बेच्न किन जानुपर्यो भन्नुहुन्थ्यो। पछि मनाएर छाडेँ।'
सागर र साथीहरूलाई लगानी समस्या थिएन। तीन जना मिलेर ८० लाख जुटाए र 'मेरो किराना डटकम' वेबसाइट बनाए। बिक्रेतासँग चिनजान थिएन। होलसेल पसलबाट सामान ल्याए। अनलाइनबाट सामान किन्ने कुरा त्यतिखेर अहिलेजस्तो चल्तीमा थिएन। त्यसैले प्रचारका लागि दुई कर्मचारी राखे। आफूहरू भने प्राविधिक काममा खटिए।
उनीहरूले सुरूमा बानेश्वर क्षेत्रबाट काम थालेका थिए। सागरका अनुसार 'ग्रोसरी सामान घरमै मगाउन पाइन्छ' भन्दै दुई कर्मचारी बानेश्वर वरिपरिका घरघरै जान्थे। सामानको मूल्य सूचीसहित ब्रोसर पनि बनाएका थिए। जसले ग्राहकलाई सामानको मूल्य तुलना गर्न सहज बनायो।
कम्पनीले डेलिभरीका लागि साधन जोहो गरेको थिएन। कर्मचारी सार्वजनिक सवारी चढेर जान्थे।
'कतिले फोन गर्थे, कतिको अर्डर उनीहरू आफैं टिपेर ल्याउँथे,' उनले हाँस्दै भने, 'पहिलो अर्डर एउटा स्याम्पूको आएको थियो। सस्तोमा राम्रो सामान दिएकाले विस्तारै अर्डर बढ्न थाल्यो।'
कम्पनीको वेबसाइटबारे थाहा नहुँदा ग्राहकले सुरूसुरूमा फोनबाट मात्र अर्डर गर्थे। उनीहरूले फोनमै वेबसाइटबारे जानकारी दिन थाले। ग्राहकले अर्डर गरेको सामान आफूसँग नभए डिपार्टमेन्ट स्टोरहरूबाट किनेर पनि लगिदिन्थे।
जतिमा सामान ल्याएको त्यतिमै बेच्दा उनीहरूलाई घाटा थियो। तर व्यवसाय बुझेका उनीहरू धर्मराएनन्, कामलाई निरन्तरता दिइरहे।
'छ महिनासम्म हामीले घाटामा काम गर्यौं। व्यापारमा तुरून्तै नाफा हुन्छ, व्यवसायमा ७/८ वर्ष लाग्छ भन्ने पहिल्यै सोचेका थियौं,' उनले भने।
अनलाइनमा मान्छेले किन्ने रहेछन् भन्ने लागेपछि उनीहरू व्यवसाय विस्तार गर्नतिर लागे। कागजी ब्रोसर हटाएर डिजिटल मार्केटिङ थाले। त्यसका लागि नबिल र कुमारी बैंकसँग सम्झौता गरे। ती बैंकको हरेक एटिएम बुथमा किरानाको स्टिकर राखे। ग्राहकलाई पाँच प्रतिशत 'क्यास ब्याक' योजना ल्याए। बैंकले पनि किरानाले ल्याएको योजना ग्राहकसम्म पुर्याउन सहयोग गरिदियो।
व्यवसाय फस्टाउँदै थियो। सधैं पसलबाट सामान किनेर ल्याएर हुँदैन भनेर उनीहरूले बिक्रेताबाटै सामान ल्याउन थाले। उनले सुनाए, 'पछि पछि त नयाँ सामान आयो भनेर बिक्रेता आफैं आउन थाले।'
किरानाको व्यापार लकडाउनले उकास्यो भन्दा फरक पर्दैन। गत वैशाखमा दोस्रो लहरको महामारी सुरू भएपछि फेरि निषेधाज्ञा भयो। अत्यावश्यक सामान ढुवानी गर्न दिने सरकारी सूचना आयो। बिनारोकतोक डेलिभरी गर्न पाइने भयो भनेर सागर मख्ख परेका थिए।
'तर माथिल्लो तहमा ढुवानी भनेको ठूल्ठूला ट्रकबाट सामान ओसारपसारलाई मात्रै बुझिने रहेछ,' उनले भने।
प्रशासनले साना साधनबाट होम डेलिभरी गर्नेलाई बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र चल्न दियो। समयमा नचल्नेलाई बाटोमै समातेर राखिदियो।
'तीन घन्टा समय भनेपछि मलाई त अर्डर नै नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो,' सागरले सुनाए।
दैनिक चार सयदेखि पाँच सय अर्डर तीन घन्टामा कसरी डेलिभरी गर्ने? कहाँ–कहाँ गर्ने? कर्मचारी व्यवस्थापन कसरी गर्ने? फेरि त्यही समयभित्र बिक्रेताबाट सामान ल्याउनुपर्यो, राख्ने ठाउँ सफा गर्नुपर्यो, प्याकिङ गर्नुपर्यो। त्यहीँमाथि भनेका बेला ग्राहकको फोन उठ्दैन।
सागरलाई सामान डेलिभरी गर्न समय पुगेन। दैनिक डेढ सयदेखि दुई सय घरमा डेलिभरी गरे। सवारीमा जोरबिजोर लागू भएपछि त झनै हम्मे पर्यो। समयमा पुर्याउन नपाउँदा कति सामान खेर गयो।
'हामीले ताजा सामान दिन सकेनौं। फ्रोजन खानेकुरा र तरकारी मात्र दैनिक १२/१५ हजार रूपैयाँको बिग्रियो,' उनले भने।
उनीहरूले इ-कमर्स व्यवसायलाई सहजै चल्न दिन भन्दै विभिन्न निकायसँग पहल नगरेका होइनन्। कसैले कुरा नसुनेपछि अदालतको ढोका ढकढक्याए। अदालतले इ-कमर्सलाई अत्यावश्यक ढुवानी गर्न नरोक्नू भनेर आदेश दियो। तर जिल्ला प्रशासन कार्यालयले मानिदिएन।
'इ-कमर्सबारे ग्राहकलाई भन्दा पनि माथिल्ला तहकालाई बुझाउन नसकेको हो कि भन्ने लाग्छ,' उनले भने, 'दोस्रो लकडाउनमा डेलिभरीमा समस्या देखिएपछि नयाँ कम्पनी पनि थपिएनन्।'
तर उनीहरू पछि हटेका छैनन्। बानेश्वर क्षेत्रबाट सुरू भएको यो व्यवसाय काठमाडौं उपत्यकाभर फैलिसक्यो। विस्तारै बाहिर जाने योजना बुन्दैछन्। अहिले किरानाको लगानी नै चार करोड पुगिसकेको छ। कर्मचारी ३३ जना र डेलिभरीका लागि एउटा गाडी, ११ वटा दुईपांग्रे साधन छन्। आवश्यक पर्दा थप गाडी भाडामा लिन्छन्।
'हामी लगानी थप्दैछौं। वेबसाइट अपग्रेड भइरहेको छ। अबको एक-डेढ वर्षपछि हामी पूरै फाइदामा जान थाल्छौं,' सागरले आशावादी हुँदै भने।
किरानामा भाइबर, म्यासेन्जर, ह्वाट्स एप र मोबाइल एपबाट अर्डर गर्न सकिन्छ। एप एन्ड्रोइड र आइओएस दुवैका लागि छ। डेलिभरीका लागि ग्राहक बस्ने ठाउँ पत्ता लगाउन निकै समस्या हुने भएकाले आफैं नक्सा बनाउने काम पनि उनीहरूले गरिरहेका छन्।