पर्यटकले खचाखच हुने ठमेल बजारमा जानुका राईको ट्रेकिङ सामान पाइने पसल छ। 'फ्यामिली ट्रेकिङ सप' लेखिएको यो पसलमा पछिल्लो समय यी सामान कमै देखिन्छ। बाहिरी पेटीमा लश्करै राखिएका तरकारीले यो ट्रेकिङ सामानको पसल हो र भन्ने प्रश्न उठ्छ।
यो तरकारी जानुकाको पसल ढाकेर अरू कसैले बेच्न राखेका होइनन्। कोरोनाका कारण ठमेल सुनसान भएपछि जानुकाले आफैंले तरकारी बेच्न थालेकी हुन्।
'कोरोना महामारीले व्यापार ठप्प भएपछि कतिपय व्यापारी सटरै छाडेर हिँडिसके,' उनले त्यहाँको अवस्थाबारे बताइन्, 'मैले त सटरै छाडेर यो सामान कहाँ लगेर राख्नु! बरू यसो तरकारी बेच्यो भने दैनिकी टर्थ्यो कि भनेर सुरू गरेकी हुँ।'
परिस्थितिसँग हार नमानी विकल्प खोजेकी जानुकाले ठमेलमा व्यापार थालेको तीस वर्ष बढी भयो। ट्रेकिङ सामान नबिकेपछि दैनिक बिक्री हुने र बन्द भइहाले पनि बेच्न पाइने सोचेर तरकारी बेच्ने योजना बनाएकी हुन्।
जानुकालाई कालिमाटी होलसेलमा तरकारी पाइन्छ भन्ने थाहा थियो। उनले त्यहीँबाटै तरकारी ल्याएर बेच्छिन्। उनको सटर पेटीमा अहिले मौसमी तरकारी तथा फलफूल पाइन्छ।
'पर्यटकीय सामान राख्ने ठाउँमा तरकारी राखेको देख्दा बाटामा हिँड्नेहरू कोही हाँस्दै जान्छन्। कोही ओहो, राम्रो गर्नुभएछ दिदी भन्छन्,' जानुकाले अनुभव सुनाइन्, 'तरकारी बेच्ने रहर त थिएन। पटक-पटकको लकडाउनले बाध्य पारिदियो। दुई वर्ष भइसक्यो सामान नबिकेको। दालभात खान त काम गर्नै पर्यो नि।'
उनको पसल भएको ठाउँ तरकारी राम्ररी बिक्री हुने क्षेत्र होइन। चिनजानका र वरिपरिकाले मात्रै किन्ने गरेको उनले बताइन्। किलोमा पाँच रूपैयाँदेखि पच्चीस रूपैयाँसम्म फाइदा राखेर बेच्छिन्। तर तरकारी बिग्रिहाल्ने भएकाले कतिपटक साँवा नै गुमाएकी छन्।
'धेरै फाइदा त हुन्न, जे होस् तरकारी खान पुगेको छ,' उनले भनिन्, 'बरू आफैं बेच्न थालेपछि धेरै तरकारीको नाम थाहा पाउन थालेकी छु।'
उनले तरकारी बेच्न थालेको तीन महिना मात्रै भयो। पहिलो लकडाउनमा उनी घरै बसेकी थिइन्। त्यही बेला साथीसँग तरकारी बेच्ने सल्लाह भएको थियो। तर साथीले साथ नदिएपछि उनी एक्लैलाई आँट आएन।
'डोकोमा तरकारी डुलाएर बेचौं भनेकी थिएँ। साथीले ह्या यस्तो काम के गर्नु भनिन्। एक्लै हिम्मत आएन,' जानुकाले सुनाइन्।
कमाएको पैसा त्यही बेला बसेर खाँदै सकियो। सटरको भाडा आफन्तसँग ऋण गरेर तिरिन्। उनका अनुसार सटर भाडा मासिक ७० हजार छ। महामारीका कारण पचास प्रतिशत छुट पाएकी छन्।
पहिलो लकडाउन जेनतेन काटे पनि फेरि निषेधाज्ञा हुँदा जानुकालाई झनै मर्का पर्यो। घर भाडा तिर्न नसकेको पाँच महिना भइसकेको छ। घरबेटीले कोठा सर भन्न थालेको उनी बताउँछिन्।
'कमाइ भएपछि त तिरिहाल्छु नि,' उनले निराश हुँदै भनिन्, 'हामी बाहिरको मान्छेलाई घरबेटीले पनि बुझ्नुपर्छ नि।'
त्यसैले अहिले जानुकाले निषेधाज्ञा भएको भोलिपल्टैदेखि तरकारी बेच्न थालेकी हुन्। तर निषेधाज्ञामा तरकारी बेच्दा प्रहरीले निकै दुःख दिएको उनको गुनासो छ। दुई/तीन पटक ढककाँटा लिएर गएको उनले बताइन्।
उनका अनुसार ढककाँटा लिन जाँदा सजिलै दिएनन्। कहिले कुन कोठा पठाए, कहिले कुन। चार-पाँच घन्टा यसमै बितेको उनी बताउँछिन्।
'काम गरेर खानै दिँदैनन्। एक्लो महिला देखेर हेपेका होलान्। लोग्ने मान्छे भएको पसलमा राम्ररी पसल बन्द गर भन्छन्। मलाई महिला देखेर होला, कस्तो भनेको नटेरेको घामट भन्छन्,' जानुकाले गुनासो गरिन्।
सोलुखुम्बु घर भएकी जानुकाका श्रीमान १२ वर्षअघि बितेका हुन्। दुई सन्तानको जिम्मेवारी उनको काँधमा छ। जानुकाको सपना पनि ठूलो छैन, तिनै छोराछोरी पढाउने र घर खर्च टार्न सकियोस्, यत्ति हो।
जानुकाको व्यवसायबाट आम्दानी खस्किन थालेको त भूकम्पदेखि नै हो। तर ठमेलमा रात्री व्यवसाय चल्ने भएकाले रातभर चिया बेचेर खर्च टार्दै आएकी थिइन्। लकडाउनले रात्रि व्यवसाय पनि बन्द भएपछि जानुकाको आम्दानी स्रोत ठप्पै भएको छ।
'राति क्लब आउने मान्छेलाई चिया बेचेर खान र भाडा तिर्न पुर्याएकी थिएँ,' उनले भनिन्, 'लकडाउनले त त्यो बाटो पनि बन्द गरिदियो।'
४७ वर्षीया जानुकाले थपिन्, 'एकल नारीलाई सहुलियत ऋण पाइन्छ भन्ने सुनेकी थिएँ। कहाँ पाइने हो आफूलाई थाहा छैन। अहिले व्यवसाय टिकाउन पाए कोरोना साम्य भएपछि ऋण विस्तारै तिर्थेँ।'