नवलपरासी, बर्दघाट सुस्ता पूर्वका गोविन्दनन्द महतोले दस वर्ष संयुक्त अरब इमिरेट्स (युएइ)मा बिताए। त्यहाँ उनी सेल्समा काम गर्थे।
कोठा र अफिस जाँदा-आउँदा गाडी कम्पनीले दिएको थियो। सेवा-सुविधा राम्रै भए पनि लामोदेखि परदेशी जीवन बाँचिरहेका गोविन्दलाई स्वदेश फर्किने इच्छा लाग्न थाल्यो।
'कमाइ ठिकै थियो, मासिक दुई हजार आठ सय दिराम,' उनले भने, 'तर परिवारबाट टाढा रहेर काम गर्दा खल्लो लागिरहन्थ्यो।'
परिवारसँगै बसेर देशमै केही गर्नुपर्छ भन्ने सोच दिमागमा घुम्दै थियो। २०७० सालमा उनका बुबा बिरामी परे। त्यही बेला युएइबाट फर्किएका उनले यहीँ काम थाले।
अहिले गोविन्द उनको घर छेउमै 'युनिटी सिमेन्ट सामग्री उद्योग' चलाइरहेका छन्। उद्योगले रिङ, ब्लक लगायत सिमेन्टजन्य सामान उत्पादन गर्छ। यसमा उनका काकाका छोरा एननारायण महतोले थोरै लगानी थपेका छन्। उनी पनि विदेशबाटै फर्केका हुन्।
'परिवारबाट कति टाढा बस्ने भन्ने सोचेर यहीँ काम गर्ने योजना बनाउँदै थिएँ। त्यही बेला दाइ विदेशमा समस्या परेर फर्किनुभएको थियो। उहाँले पनि नेपालमै केही गरौं भन्नुभयो,' ४२ वर्षीय गोविन्दले उद्योग सुरू गर्दाको समय सम्झे।
के गर्ने भन्ने निधो थिएन। त्यो बेला नदीजन्य वस्तु उत्खनन बढिरहेकाले ढुवानीको काम गर्न सकिएला भन्ने सोचे। दुवैले विदेशमा कमाएको नौ लाख रूपैयाँ लगानी गरेर सेकेन्ड ह्यान्ड ट्र्याक्टर किने। उनीहरूको ट्र्याक्टरले राम्रै गति लियो।
केही समयमै उनीहरूले पाँच लाख रूपैयाँ लगानी उठाए। तर यो गति धेरै समय टिकेन।
'नदीजन्य वस्तुको उत्खनन रोकियो। ट्र्याक्टर चलेन। हामीले हरेस नखाइ अब के गर्ने भनेर सोच्यौं। सानो भए पनि आफ्नै उद्योग खोल्ने विचार आयो,' गोविन्दले सुनाए।
यो २०७२ सालको भुइँचालोपछिको कुरा हो। उनीहरूले चार जना श्रमिक राखेर उद्योग सुरू गरे। भुइँचालोमा धेरै संरचना ध्वस्त भएका थिए। यसले गर्दा बजारमा सिमेन्ट तथा सिमेन्टजन्य सामग्रीको माग राम्रो भयो। गोविन्दको उद्योगको भने पुँजी थोरै भएकाले क्षमता कम थियो। उत्पादन र आम्दानी सानै परिमाणमा भयो।
उनीहरूले त्यही सानो-सानो कमाइ उद्योगमा थपेर बढाउँदै गए। पछि 'रिटर्नी माइग्रेन्ट संस्था' को सिफारिसमा बैंकबाट पाँच प्रतिशत ब्याजदरमा दस लाख ऋण लिएर उद्योगमै हाले। अहिले उद्योग झन्डै छ वर्ष पुगिसक्दा मासिक व्यापार करिब चालीस लाख हाराहारी हुन्छ। गोविन्दका अनुसार उनीहरू महिनामा डेढ लाखसम्म कमाउँछन्।
पहिलो लकडाउनमा उनीहरूको उद्योग डेढ महिना बन्द भएको थियो। कामदार बिदामा राख्नुपर्यो। यसपालि भने सहजै भएको उनले बताए, 'अहिले व्यापार राम्रै छ। कोरोनाका कारण थोरै असर त पर्यो, बन्दै भने गर्नु परेन। थोरै-थोरै भए पनि चलाइ राखियो।'
उद्योग नजिकै खोला भएकाले उनीहरू त्यहीँ रोयल्टी तिरेर गिटी-बालुवा ल्याउँछन्। कच्चापदार्थ क्रसर उद्योगबाट पनि आउँछ। उद्योगमा १२ जनाले रोजगारी पाएका छन्। आफ्नै देशमा केही गर्छु भनेर कस्सिएका गोविन्द सोचेजस्तै आम्दानी भएपछि सन्तुष्ट भएको बताउँछन्। अझ गाउँका युवालाई गाउँमै रोजगारी दिन पाएकामा झन् खुसी छन्।
'मिस्त्री, ड्राइभर गाउँकै दाजुभाइ छन्। उनीहरू बालबच्चा परिवारसँगै बसेर, घरकै खाना खाएर राम्रो कमाइ गरिराखेका छन्। योभन्दा ठूलो खुसी अरू के हुन्छ र,' उनले उत्साहित हुँदै सुनाए।
परदेश भोगेर फर्किएका उनलाई परिवारसँग टाढा बस्नुको पीडा थाहा छ। अनि परिवारसँगै बसेर काम गर्न पाउनुको खुसी पनि बुझेका छन्। भन्छन्, 'आफ्नै देशमा काम पाए विदेसिने रहर कसलाई हुन्छ र?'
उनी विदेश जानुअघि शिक्षक थिए। निजी विद्यालयमा खास राम्रो कमाइ थिएन। दुई वर्ष काम गरिसक्दा पनि घर खर्च धान्न नसकेपछि विदेशिन बाध्य भएको उनले बताए।
'घर परिवार पनि हेर्न पर्यो। त्यो बेलै त्यस्तो थियो, गाउँका सबै युवा विदेश जान्थे। म पनि हिँडे,' उनले सम्झिए।
गोविन्दले आमाबुबा, श्रीमती र दुई छोराछोरीको खर्च धान्नुपर्छ। विदेशको कमाइले राम्रै भए पनि परिवारबाट टाढा हुन नपरोस् भनेर फर्किएका उनी अहिले दंग छन्। स्वदेशमै मेहनत गरे एक-डेढ लाख महिनामा सजिलै कमाउन खाडी जान पर्दैन भन्छन्।
गोविन्दले छ जना साथीसँग मिलेर चितवन राष्ट्रिय निकुञ्ज नजिकै होमस्टे पनि सञ्चालनमा ल्याएका छन्। यसले भने कोरोनाका कारण गति लिन सकिरहेको छैन।
'थारू कम्युनिटी लज खोलेका हौं। चल्न थालेको छ महिना मात्रै भएको थियो, पहिलो लकडाउनले ध्वस्त बनायो,' उनले भने। लकडाउन केही खुकुलो हुँदा होमस्टे राम्रै चल्यो। दोस्रो निषेधाज्ञाका कारण पुनः थलियो।
'हामीले तीन करोड लगानी गरेका थियौं। आम्दानी राम्रो होला भनेर सोचेको, कोरोनाले गाँज्यो,' उनले गुनासो गरे। अवस्था सामान्य हुँदै गए होमस्टे राम्रोसँग चल्ने विश्वास भने उनले राखेका छन्।
देशमै केही गर्छु भनेर लागेका युवालाई सरकारको साथ, सहयोग र हौसलाको खाँचो रहेको उनी बताउँछन्। अनि युवाहरूले पनि बुझेर मात्रै लगानी गर्नुपर्ने उनको सुझाव छ।
भन्छन्, 'केही गर्छु भन्ने सोच धेरैमा हुन्छ। तर केही नबुझी हात हाल्ने बानी छ। यहाँको अवस्था र जोखिम हेरेर मात्रै व्यवसायमा हात हाल्नुपर्छ। विदेशमा दुःख गरेर कमाएको रकम बुझेर मात्र लगानी गर्नुस्। आफ्नो व्यवसायबाट आएको आम्दानीबाट त्यहीँ थप्दै जानुस्।'
धेरै विचार गरेर थोरै पुँजीबाट व्यवसाय सुरू गर्नुपर्ने र विस्तारै बढाउँदै लैजानुपर्ने उनी बताउँछन्।