धनगढीको सडकमा तिहारका लागि भनेर झिलमिली बत्ती, रङ रोगनको बिक्री गर्न थापिएका पसलमा यतिबेला किनमेल गर्नेहरूको घुइँचो छ।
तिहारमा घर सजावटका लागि विद्युतीय सामग्रीको खपत त बढ्ने नै भयो, योसँगै यहाँको परम्परा, संस्कृतिसँग जोड्ने माटोका दीयोको व्यापार पनि बढेको छ।
अन्यबेला खपत नभएर फुटेर जाने दीयो तिहारको समयमा बिक्री गर्न भ्याइनभ्याई हुने गरेको कैलारी गाउँपालिकाका मनिराम कुमालले बताए।
उनी माटोका भाँडाकुँडा बनाउने काम गर्छन्।
‘अहिले दीयो, कलशको माग बढी आएको छ,’ उनले भने।
माटोका हातबाट बनेका दीयोको व्यापार बढी हुने हुँदा यता चाडपर्व लक्षित पसल थाप्ने व्यापारीले पनि आम्दानी गरिरहेको धनगढीकी राजकुमारी रानाले बताइन्।
उनले अरूबेला व्यापार नभए पनि दिपावलीमा बिक्री सबभन्दा बढी भइरहेको बताइन्।
‘आज त लक्ष्मीपूजा हो, दीयो किन्नेहरूलाई बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ,’ उनले भनिन्।
कतिपयले अहिले तेल सकिने झन्झटले तिहारमा माटोको दीयोको प्रयोग गर्न छोडेको पनि बताएका छन्।
परम्परा संस्कृतिसँग जोडिएका स्थानीय स्तरबाटै बनेका यस्ता दीयोको प्रयोग गरे बनाउनेहरूको आम्दानी हुनुका साथै संस्कृतिको संरक्षण हुने स्थानीय माया भट्टले बताइन्।
उनले माटोबाट बनाइएका दीयो तथा कलश शुद्ध हुनुका साथै आर्गनिक भएकोले तिहारमा यसको महत्व बढी हुने गरेको बताइन्।
‘विद्युतबाट चल्ने झिलिमिली बत्ती त बच्चाहरूले रहर मानेर लगाउँछौं, तिहारमा दीयो नभए त के तिहार मनाउनु!’ उनले भनिन्।