केशरबहादुर जिरेल बिहान उठेदेखि रातीसम्म आफ्ना पाहुनाकै सेवामा व्यस्त हुन्छन्।
पाहुनालाई समयमै खानाखाजा तयार पार्ने, कोठामा तातोचिसो पानीको व्यवस्था छ/छैन जस्ता कुरामा उनको बढी ध्यान हुन्छ।
उमेरले ६९ वर्ष पुगेका केशर हेर्दा हट्टाकट्टा देखिन्छन्। दोलखा, जिरी बजारमै रहेको उनको 'ग्याबिला होटल' मा आउने स्वदेशी तथा विदेशी पाहुनाको सेवाका लागि काम गर्न उनी कहिल्यै थकित महसुस गर्दैनन्।
केशर करिब २४ वर्षदेखि जिरीमा होटल चलाइरहेका छन्। उनलाई र उनको ग्याबिला होटललाई जिरीमा नचिन्ने कोही छैनन्। त्यहाँका सबैभन्दा पुराना होटल व्यवसायीमध्ये पर्ने भएकाले पनि उनी नामी छन्।
होटल व्यवसायमा दुई दशक लामो अनुभव कमाइ सकेका केशर सुरूदेखि यो क्षेत्रमा लागेका होइनन्। यो काममा लाग्नुअघि उनी दूग्ध विकास संस्थानमा चीज प्राविधिक थिए। उनको मुख्य काम चीज उत्पादनका प्रक्रिया र मर्मत कार्यकर्ताहरूको निरीक्षण गर्नु थियो।
दूग्ध विकास संस्थानमा कार्यरत हुँदा कामकै सिलसिलामा उनी २०४३ सालमा चीज तालिम अन्तर्गत फिलिपिन्स गएका थिए। यसैक्रममा उनले एकपटक स्विट्जरल्यान्ड पनि जाने मौका पाएका थिए।
'स्विट्जरल्यान्डमा मैले आठ महिना बसेर चिज उत्पादनको तालिम लिएँ,' केशरले सेतोपाटीसँग भने, 'त्यहाँ चिज उत्पादनबारे मैले धेरै ज्ञान पाएँ। तर त्यति बेलाका नेपालका लागि स्विस दूतावासका एक काउन्सिलरले मलाई पटकपटक जिरीमा होटल व्यवसाय गर्न प्रोत्साहन गरिरहनु हुन्थ्यो। होटलतिर केही अनुभव नभएकाले सुरूमा मैले त्यो कुरा त्यति ध्यान दिइनँ।'
सरकारी जागिरे र त्यहीँमाथि देश-विदेश घुमेर अनुभवी चीज प्राविधिक बनेका केशरले काठमाडौंमा घरजग्गा समेत जोडिसकेका थिए। यता जागिर खाइरहँदा उनलाई जिरीमा होटल खोल्ने सोचले भने पछ्याइरहेको थियो।
त्यस बेला जिरीमा विदेशी पर्यटकको घुइँचो हुन्थ्यो। तर होटल भने फाट्टफुट्ट मात्रै थिए। पर्यटकलाई सबै सुविधा दिने व्यवस्थित होटल थिएनन्। त्यसैले पर्यटकलाई सुविधा दिने र आफ्नो परिवारलाई भविष्यमा सजिलो हुने सोचले उनले २०५४ सालमा ग्याबिला होटल सञ्चालन गरेका हुन्।
जिरीको होटल परिवार र कर्मचारीलाई जिम्मा लगाएर केशर फेरि आफ्नै जागिरमा फर्किए। उनले होटल सञ्चालन गरेको चार वर्षपछि नेपालमा माओवादी युद्ध बढ्न थालेको थियो। बन्द र हड्तालले चीज उत्पादन र बिक्रीमा रोकावट आउन थाल्यो।
'कामै ठप्प हुने छाँट देखिएपछि मैले यस क्षेत्रमा कुनै भविष्य देखिनँ,' केशरले सुनाए, 'त्यसैले २०५८ सालमा सरकारी जागिर छाडिदिएँ। अनि आफ्नो र परिवारको पेट पाल्न जन्मथलो जिरी फर्किएर होटल चलाएर बसेँ।'
उनका अनुसार नेपालमा त्यति बेला विदेशमा गएर तालिम लिने चीज प्राविधिक निकै कम थिए। त्यसैले सुरूमा उनको राजीनामा पत्र स्वीकृत भएन।
'धेरै आग्रह गरेर राजीनामा स्वीकृत गराउनुपरेको थियो,' उनले भने।
चीज उत्पादनबारे धेरै ज्ञान भएकाले जिरी फर्किएपछि उनले चीज व्यवसाय नै गर्ने पनि सोचेका थिए। तर त्यसमा हुने सबै झन्झट सम्झिएर उनी पूर्ण रूपमा होटल व्यवसायमै होमिएका हुन्।
केशरका अनुसार त्यो बेला जिरीमा पर्यटकको निकै भिड हुन्थ्यो। लुक्ला र नाम्चे जाने अरू बाटो नभएकाले विदेशीहरू जिरी हुँदै जान्थे। अनि अधिकांशको बसाइ त्यहीँ हुन्थ्यो। त्यसैले जिरीलाई सगरमाथाको प्रवेशद्वार पनि भनिन्थ्यो।
'एकताका होटल थोरै तर पर्यटकको संख्या धेरै हुन्थ्यो। दिनमै तीन-चार सय पर्यटक आउँथे,' उनले भने, 'कोही होटलमा बस्ने ठाउँ नपाएर टेन्ट बनाएर बस्थे। अहिलेजस्तो कोठाभित्रै ट्वाइलेट सुविधा पाउनु त टाढाको कुरा थियो।'
उनले करिब आठ लाख लगानीमा होटल खोलेका थिए। पर्यटकको कमी नहुँदा उनको व्यवसाय राम्रै चल्यो।
'पहिले त यहाँका होटलमा अहिले ठमेलमाजस्तै भिड हुन्थ्यो। होटलहरू ११ बजे बन्द हुन्थे। रातभर पर्यटक आउनेक्रम चलिरहन्थ्यो,' केशरले पुराना दिन सम्झिँदै भने, 'होटल पन्ध्र जनासम्म अटाउने मात्र थियो। एक रातको पचास रूपैयाँदेखि तीन सय रूपैयाँसम्म लिन्थ्यौं।'
ती दिन अहिले उनका लागि पुरानो कथाजस्तै भएको छ। नाम्चे र लुक्ला सिधै जहाजबाट जान मिल्ने भएकाले अहिले यो सगरमाथाको प्रवेशद्वार रहेन। अझ अप्ठ्यारो बाटो, भुइँचालो र पछिल्लो समय कोभिडले गर्दा जिरीमा होटल व्यवसाय झनै बिग्रिएको उनको भनाइ छ।
उनका अनुसार भूकम्पअघि जिरीका सबै घर र होटलका डिजाइन एकै किसिमका थिए। अहिले अधिकांश घर फरक संरचनामा बनेका छन्। बाटो सुविधा राम्रो नभएकाले तीन वर्षजति होटल राम्ररी चलेनन्। कोरोना महामारी फैलिएसँगै दुई वर्ष बन्द नै भयो।
'जिरीमा २०४२ सालमा नै बत्ती आएको थियो। यो ठाउँ जमानामा विकास भएको हो। तर यसको गति बीचमा रोकियो,' उनी भन्छन्, 'जिरी पोखराभन्दा अगाडि चलेको सहर हो। विकासको ढिलाइले अहिले पछि पर्यो।'
अचेल फाट्टफुट्ट आन्तरिक पर्यटक घुम्न आइरहेका छन्। उनका होटलमा तीस जनासम्म बस्न मिल्ने ठाउँ छ। कोठा हेरेर दुई हजारसम्म मूल्य तोकिएको छ।
'स्विसहरूले जिरीलाई आफ्नो दोस्रो घर भन्छन्। स्विट्जरल्यान्डको भूगोलसँग मिल्दोजुल्दो भएकाले जिरीलाई नेपालको स्विट्जरल्यान्ड भनिएको हो,' केशरले भने, 'भूकम्पअघि स्विट्जरल्यान्डबाटै हरेक वर्ष केही समूह घुम्न आउँथे। बाटो राम्रो बने आन्तरिक पर्यटक आउने सम्भावना बढी छ।'
२४ वर्षको होटल व्यवसायमा केशरले जिरी आउने पर्यटकलाई राम्रो खाने-बस्ने सुविधा दिएको बताउँछन्। होटलमा उनीसँगै उनका श्रीमती र छोरा खटिन्छन्। आफ्ना सन्तानका लागि यहीँ बसेर काम गर्ने बाटो देखाउन सकेकमा उनी खुसी छन्।
उनले चीज प्राविधिकको जागिर चट्टै छाडे पनि चीजबाट अलग भएका छैनन्। दूग्ध विकास संस्थानको स्थानीय कारखानाबाट ल्याएर उनी होटलमा चीज, छुर्पी र अन्य दूग्ध परिकार बिक्री गर्छन्। त्यस्तै तरकारी, फलफूल खेतीमा पनि उनी रमाइरहेका छन्।
'मैले जीवनमा दुई-चारवटा देश घुम्ने मौका पाएँ। विकासको सन्दर्भमा स्विट्जरल्यान्ड नेपालभन्दा अगाडि हो। तर मेरा लागि नेपालभन्दा सुन्दर कुनै देश छैन,' उनी भन्छन्, 'यसमा पनि जिरी मेरो मनकै नजिक छ। अब मेरो मुख्य ध्यान नै यहीँ बसेर यो ठाउँमा आउने पर्यटकलाई सक्दो सुविधा दिने र यहाँको सुन्दरतालाई अझ चिनाउने हो।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी