ललितपुर, पुल्चोकस्थित लबिम मल र नक्सालको भाटभटेनीमा रहेको फुडट्रक 'पांग्रा एक्सप्रेस' हट्ने भएको छ।
अभिनेत्री ऋचा शर्मा तथा उनका तीन साथी अन्यात रोङबोङ, दीपेश कुँवर र श्रेयांश कार्कीको सहकार्यमा सञ्चालन भएको यो फुडट्रक नयाँ ठाउँमा सर्ने भएको हो।
विगत तीन महिनादेखि पांग्रा एक्सप्रेसका दुवै शाखा बन्द छन्। सहसञ्चालक अन्यातका अनुसार लकडाउन प्रभावका कारण केही समययता यो फुडट्रक सञ्चालनमा आएको छैन। तर यो सधैंका लागि बन्द भएको भने होइन।
'कोरोनाका कारण बीचमा हाम्रो आर्थिक स्थिति समस्यामा परेको थियो। त्यसैले केही समयका लागि पांग्रा एक्सप्रेस बन्द गर्न बाध्य भएका थियौं,' उनले सेतोपाटीसँग भने, 'अहिले हामी सामाजिक सञ्जालमा पनि सक्रिय नभएकाले यो फुडट्रक बन्द भएजस्तो लाग्ला। तर त्यसो होइन। हामी यसका लागि नयाँ ठाउँ खोजीमा छौं। उपयुक्त ठाउँ पाएपछि पांग्रा एक्सप्रेस पुनः सञ्चालनमा ल्याउने छौं।'
विशेषगरी युवा पुस्तामाझ चर्चामा रहेको पांग्रा एक्सप्रेस सन् २०१९ मा सञ्चालनमा आएको थियो। फुडट्रकजस्तै देखिने यो स्टल नेपालको पहिलो 'एयरस्ट्रिम ट्रेलर' भएको सञ्चालकहरूको दावी छ।
पांग्रा एक्सप्रेसका सहसञ्चालक अन्यातका अनुसार फुडट्रकको आइडिया विश्वभर निकै चलेको छ। नेपालमा पनि धेरैले सञ्चालनमा ल्याइसकेका छन्। पांग्रा एक्सप्रेस भने एयरस्ट्रिम ट्रेलर हो जुन फुडट्रकजस्तै हुन्छ। फरक यत्ति हो, फुडट्रक गाडीलाई पुनःनिर्माण गरेर बनाइन्छ। एयरस्ट्रिम ट्रेलर गाडीकै डिजाइनमा निर्माण गरेर बनाउनुपर्छ।
पांग्रा एक्सप्रेसको विशेषता स्ट्रिट फुड्स थियो। यी खानेकुरा अन्य ठाउँमा पाइनेभन्दा फरक तरिकाले ग्राहकलाई प्रस्तुत गरिन्थ्यो। यसैले यो फुडट्रक ग्राहकको आर्कषणमा परिरहेको थियो।
सुरूमा पांग्रा एक्सप्रेसको आइडिया अन्यातले ल्याएका हुन्। बाह्र वर्ष दुबइका रेस्टुरेन्ट र फुडट्रकमा काम गरिसकेका उनलाई नेपालमा त्यस्तै व्यवसाय गर्न मन थियो। आफ्नो यो आइडिया उनी स्कुलदेखिका साथी दीपेशलाई सुनाइरहन्थे।
यता नेपालमा रेस्टुरेन्ट चलाएर बसिरहेका दीपेश कुँवर अन्यातको सोचले प्रभावित भएका थिए। यसै क्रममा उनी दुबइ घुम्न पुगे। त्यहाँ उनले अन्यातले भनेझैं फुडट्रक देखे र यो व्यवसायले उनको ध्यान अझ खिच्यो।
'दीपेशलाई पनि मेरो आइडिया मनपर्यो र यसलाई नेपालमा ल्याउने सोचले हामी फर्कियौं,' अन्यातले भने, 'यहाँ व्यवसाय राम्ररी चलाउन बाहिरी बजारबारे पनि काम गर्नुपर्ने थियो। यसका लागि हामीले आफ्नो स्कुलकै अर्की साथी ऋचालाई यो आइडिया सुनायौं। उनलाई पनि सधैं नयाँ काम गर्न मन लाग्ने भएकाले एकैपटकमा हामीसँग काम गर्न सहमत भइन्।'
अर्का सहसञ्चालक श्रेयांश कार्की भने दीपेशका भिनाजु पर्छन्। अन्यात र ऋचासँग पनि उनको चिनजान थियो। श्रेयांशको आफ्नो छुट्टै व्यवसाय छ। दीपेशले सुनाएको आइडिया उनलाई पनि मनपर्यो। यसरी यी चार जना पांग्रा एक्सप्रेसको सञ्चालनमा संलग्न भए।
पांग्रा एक्सप्रेसमा चार सहसञ्चालकको आ–आफ्नै काम बाँडिएको थियो। अन्यात यहाँको खाना र सर्भिस व्यवस्थापन सम्हाल्ने, ऋचाले बजार र प्रचार हेर्ने। दीपेश र श्रेयांशलाई भने प्रशासन र लेखाको जिम्मेवारी।
अन्यातका अनुसार यसको नामपछाडि पनि अर्थ छ। यसको मुख्य अवधारणा 'मिल अन ह्विल्स', अर्थात् गाडीमा खाना पाइनु हो। गाडीसँग सम्बन्धित भएकाले नाम पांग्रा एक्सप्रेस राखिएको उनले बताए।
पांग्रा एक्सप्रेसमा नेपालीहरूले सामान्यतया मनपराउने मम, ससेज, बर्गर नै पाइन्थ्यो। तर यसको पकाउने तरिका अरूभन्दा फरक हुने दीपेशले बताए।
'हामी बजार बुझेर मेनु बनाउँछौं। त्यसैले हाम्रो मेनु हरेक तीन महिनामा फेरिन्थ्यो,' उनले भने, 'ग्राहकले धेरै र थोरै रूचाएका खाना बुझेर त्यसलाई हटाउने वा नयाँ परिकार थप्ने भनेर सबै बसेर सल्लाह गर्छौं।'
यहाँ पाइनेमध्ये चिकेन रामेन, हिरो ससेज, पिंक फ्लोइड बर्गर, चिम्चिचुरी नुडल राइस, फ्राइज, मम, चटपटे कर्न, अमेरिकन कर्न, चिकेन स्ट्रिप्स, चिल्ली चिज स्ट्रिप्स र चिकेन सा फाले चर्चित थिए। यहाँको कोल्ड ड्रिंक्स पनि ग्राहकले धेरै मन पराउने र सबै परिकार सस्तो भएको पनि सञ्चालकहरूको भनाइ छ।
उनीहरूका ग्राहक अधिकांश युवा पुस्ता थिए। त्यसैले ग्राहककै बजेटअनुसार दुवै खाना र पैसामा फरक अनुभव ल्याउन खोजिएको श्रेयांशले बताए।
सबै सञ्चालकको आ–आफ्नै छुट्टै काम भए पनि उनीहरूले पांग्रा एक्सप्रेसलाई अगाडि बढाउने कोशिस गरिरहेका थिए। अभिनेत्री तथा पांग्रा एक्सप्रेसकी सहसञ्चालक ऋचा शर्माले सेतोपाटीसँगको कुराकानीमा आफू सुटिङ सकाएर भए पनि यसको मार्केटिङमा खटिने गरेको बताएकी थिइन्।
सञ्चालन भएको दुई वर्षमा यसले ग्राहकबीच राम्रै चर्चा कमाएको थियो। सञ्चालकहरूले गत वर्ष पांग्रा एक्सप्रेसका अरू शाखा पनि खोल्ने सोचेका थिए। तर त्यहीबीच आएको कोरोनाले सबै काम ठप्प भयो।
त्यो बेलै पांग्रा एक्सप्रेसको गति धिमा भएको थियो। दोस्रो लकडाउनमा पनि व्यवसाय बन्द हुँदा भने यसको आर्थिक स्थिति बिग्रिएको अन्यातले बताए।
'आन्तरिक समस्याकै कारण अहिले पांग्रा एक्सप्रेस बन्द गर्न बाध्य भएका हौं। तर हामी फेरि बजारमा फर्किने छौं,' उनले भने, 'हामी अब अझै नयाँ तरिका र खाना लिएर आउँदै छौं। केही समय लाग्न सक्ला। तर हामी पांग्रा एक्सप्रेसलाई विस्तारै नेपालभर चिनाउने प्रयासमा छौं।'