हाम्रा मास्टर-सेफ
युवराज पोखरेल काठमाडौंको पुरानो पाँचतारे होटल सोल्टी ग्रुपका 'क्लस्टर सेफ' हुन्। सोल्टी ग्रुपले लगानी र व्यवस्थापन गरेको नेपालका सबै होटलको भान्सा उनकै जिम्मामा छ।
त्यसैले उनलाई सधैं भ्याइनभ्याइ हुन्छ। कहिले यता पुग्छन्, कहिले उता। आफू कुन ठाउँमा हुन्छु भन्ने उनलाई नै थाहा हुँदैन।
'कामको माग जता छ त्यतै जानुपर्छ,' उनले भने।
युवराजले सोल्टी ग्रुपको क्लस्टर सेफ भएर भान्सा सह्मालेको चार महिना मात्र भयो। क्लस्टर सेफका रूपमा उनले ग्रुपका सबै होटलको भान्सा र उसले पस्किने परिकारको व्यवस्थापन गर्छन्।
उनले सोल्टीमा काम सुरू गरेको भने १६ वर्ष भयो। क्लस्टर सेफको जिम्मेवारी पाउनुअघि उनी 'एक्जुकेटिभ सेफ' थिए।
होटलका भान्साका साथै उनी सोल्टीको 'फ्लाइट क्याटरिङ' को जिम्मा पनि सम्हाल्छन्। यो भनेको विमानहरूमा खानपिन सुविधाको व्यवस्थापन गर्ने हो।
युवराजको धेरैजसो समय भने सोल्टी गेट गोर्मे, गौशालामा बित्छ। त्यहीँबाट फ्लाइट क्याटरिङको काम हुन्छ। उनका अनुसार सबै अन्तर्राष्ट्रिय उडानका लागि सोल्टी ग्रुपले खानपिन व्यवस्था गर्दै आएको छ।
युवराज बिहान आठ बजे कार्यालय पुग्छन्। घर फर्किने समय निश्चित हुँदैन।
भन्छन्, 'कामको भार हेरेर फर्किने समय तय हुन्छ।'
कार्यालय पुगेर अघिल्लो दिनको कामको प्रतिक्रिया हेर्छन्। दिनभरिको खानाको माग हेरेर ९ बजे बैठकमा हाजिर हुन्छन्। उनीहरूको सधैं ९ बजे बैठक हुन्छ। अघिल्लो दिनको कामको र आज गर्ने कामबारे छलफल गर्छन्।
पकाएका सबै परिकार युवराजले चाखेपछि मात्रै ग्राहक समक्ष पुग्छ।
'कहिलेकाहीँ त खाना चाखेरै अघाउँछु,' उनी भन्छन्।
संखुवासभा स्थायी घर भएका युवराज हाल परिवारसहित ललितपुरको बालकोटमा बस्छन्। श्रीमती गृहिणी हुन्। तीन छोराछोरी छन्। पहाडको घरमा बुबाआमा र हजुरआमा छन्। उनीहरू यहाँ बस्न मान्दैनन्, उनलाई घर जान समय मिल्दैन। वर्षको एकपटक जाने कोसिस गर्छन्।
'जीवनमा सबैभन्दा बढी परिवार मिस गरेको छु,' उनले भने।
युवराजको होटल क्षेत्रमा प्रवेश भारत हुँदा भएको हो।
उनले आफ्नो गाउँकै जनता माध्यमिक विद्यालयबाट कक्षा आठसम्म पढे। उनका अनुसार त्यो बेला गाउँमा थोरै स्कुलमा मात्र दस कक्षासम्मको पढाइ हुन्थ्यो। ती स्कुलका विद्यार्थी पनि एसएलसी परीक्षा दिन जिल्ला सदरमुकाम जानुपर्थ्यो।
उनी पनि सदरमुकाम खाँदबारीको हिमालय माध्यमिक विद्यालयमा कक्षा नौमा भर्ना भए। त्यही स्कुलबाट एसएलसी परीक्षा दिए। थप पढाइका लागि उनी आफन्तको सहयोगमा भारतको चेन्नई गए। घरबाट बुबाआमाले खर्च दिन सक्ने अवस्था थिएन।
युवराज एक कलेजमा विज्ञान संकायमा भर्ना भए। बुबाआमाबाट टाढा भएपछि उनलाई अर्काको देश बिरानो पनि लाग्यो। आफ्नो आम्दानी छैन, आफन्तकहाँ कहिलेसम्म बस्ने भन्ने कुराले छटपटी भयो।
एक दिन उनी कामको खोजीमा निस्के। त्यो समय भारतमा पढ्न गएका अधिकांश नेपाली विद्यार्थी स-साना होटल र रेस्टुरेन्टमा काम गर्थे। पढाइ पनि नबिग्रिने र हातमा दुई-चार पैसा पनि हुने देखेर उनले एउटा रेस्टुरेन्टमा पार्ट-टाइम काम थाले।
बेलुकीपख काम गर्थे। रेस्टुरेन्टमा आएका ग्राहकलाई खाना दिनु र भान्सामा सहयोग गर्नु उनको मुख्य काम थियो। रेस्टुरेन्टमै बस्थे।
'नेपालीहरूलाई भारतीयले माया नै गर्थे। टाढाबाट आएका रहेछौ भनेर आफैंसँग बस्न दिन्थे,' उनले भारतका होटलमा काम गर्दाको अनुभव सुनाए।
सुरूमा बाध्यताले रेस्टुरेन्टमा काम गरेका युवराजलाई खानाका परिकारमा चाख बढ्दै गयो। खानबस्न पाउने र पैसा पनि आउने भएपछि उनी उत्साहित भए। होटल–रेस्टुरेन्टले खानबस्न र पैसा पनि दिने भएपछि यतैतिर आकर्षित भए।
केही समयपछि उनी कामको सिलसिलामा अर्कै प्रदेश गए। उतैबाट परीक्षा दिए।
'भारतमा जुनसुकै प्रदेशमा गए पनि परीक्षा दिन पाइन्छ,' उनले भने, 'त्यसले गर्दा पनि मलाई सहज भयो।'
जसोतसो काम गर्दै दुई वर्षको पढाइ पूरा गरे। त्यसपछिको पढाइका लागि दिल्ली गए। एउटा कलेजमा पर्यटन संकायमा भर्ना भए। दिल्लीमा पनि रेस्टुरेन्टमा काम सुरू गरे। कामकै सिलसिलामा सेराटन होटलमा काम गर्ने सेफसँग चिनजान भयो। ती सेफले युवराजलाई आफूसँग काम गर्न बोलाए। उनले नमान्ने कुरै थिएन।
प्रक्रिया पुर्याएर उनी पाँचतारे सेराटन होटलको 'किचन हेल्पर' भए। तलब मासिक भारू दुई सय पाउने भए। तलब थोरै भए पनि युवराजका लागि यो निकै ठूलो फड्को थियो। खुसी भए। पाँचतारे होटलमा काम गर्दा उनलाई सबभन्दा बढी त्यहाँको पोसाकले लोभ्यायो।
भने, 'रेस्टुरेन्टमा काम गर्दा युनिफर्म थिएन। युनिफर्म लगाएर काम गर्दा ठूलो ठाउँमा पुगेछु भन्ने महसुस हुन्थ्यो।'
उनी ठूलो होटलको काममा पोख्त थिएनन्। तालिम पनि लिएका थिएनन्। जसरी जान्दथे त्यसरी नै गर्थे। नजानेको काम सहकर्मीले सिकाउँथे। काम थालेको केही महिनामा छोटो तालिम पाए। किचनमै काम सिक्न पाइने भएपछि र केही दिनको तालिम पनि लिएपछि युवराजको आत्मविश्वास बलियो हुँदै गयो। उनले यसमा भविष्य उज्ज्वल छ भन्ने ठम्याए। उत्साह बढ्यो। सोहीअनुसार मेहनत गर्दै गए। होटलको नियम र व्यवस्थापन पनि बुझ्दै गए।
त्यहाँ काम गर्दागर्दै युवराजलाई एउटा राम्रो रेस्टुरेन्टले सेफको प्रस्ताव गर्यो। तलब निकै राम्रो र थप सुविधा पनि पाउने भएपछि उनी रेस्टुरेन्टमा गए।
'पाँचतारे होटलमा आर्थिक उन्नति ढिला हुन्छ, रेस्टुरेन्टमा छिटो हुन्छ,' उनले भने, 'यसले पनि मलाई ठूलो होटल छाडेर रेस्टुरेन्ट जान उत्साहित गर्यो।'
दिल्लीमा युवराजको दिनचर्या निकै व्यस्त हुन थाल्यो। घरतिरको सम्पर्क निकै पातलो भयो। त्यो समय गाउँमा फोनको सुविधा थिएन। काठमाडौंमा बस्नेहरूसँग भने कहिलेकाहीँ कुरा हुन्थ्यो। उनीहरूले घरमा खबर पठाइदिन्थे।
त्यो समय गाउँबाट भारतमा काम गर्न धेरै जना आउँथे। यसरी आउनेजानेले नै उनको खबर ओहोरदोहोर गरिदिन्थे। उनी बाआमाको खबर पनि यस्तै मानिसहरूबाट पाउँथे।
युवराजले भारत आएको तीन वर्षपछि मात्रै घर जाने मौका पाए। भारू २२ हजार रूपैयाँ र केही सामान लिएर दसैंमा घर गए।
'त्यो बेला पैसा पठाउने सहज प्रणाली पनि थिएन। २२ हजार भारू हातैमा राखिदिँदा बुबा धेरै दंग पर्नुभएको थियो,' उनले भने, 'म त झन् धेरै खुसी भएँ, मेरो आत्मबल बढ्यो।'
युवराज केही दिन घर बसेर दिल्ली नै फर्के। यसपछि कम्तीमा वर्षमा एक पटक घर आउने मौका मिल्न थाल्यो। घर आएका बेला, २०५९ सालमा उनको बिहे पनि भयो।
युवराजसँग भारतका केही ठूला होटल र रेस्टुरेन्टबाहेक विदेशमा पनि काम गरेको अनुभव छ। उनलाई जागिर पाउन कहिल्यै गाह्रो भएन। साथीभाइ, सेफहरू र ग्राहकहरूबाटै पनि उनलाई जागिरको प्रस्ताव आउँथ्यो। उनले थाइल्यान्डको एउटा होटलमा तीन वर्ष काम गरे। मलेसियामा पनि गरे। एउटा फुड फेस्टिभलका लागि श्रीलंका पनि गए।
उनका अनुसार मलेसियाको एक होटलमा ग्रुपको हेडसेफ भएर गएका थिए। सुविधा निकै राम्रो थियो। परिवार लैजान नमिलेपछि उनी फर्के।
यो सन् २००५ को कुरा हो।
त्यसपछि पनि विदेशका होटलले उनलाई बोलाए। तर उनी कतै पनि गएनन्।
राम्रो अवसर पाउँदा पनि किन गएनन् त विदेश?
'मलाई विदेशबाट प्रस्ताव नआएको होइन। तर परिवारबिनाको जीवन कति जिउने भनेर मैले यतै काम सुरू गरेँ,' उनले भने, 'एघार वर्ष विदेशमा बिताएँ। अब त म विदेश घुम्न मात्रै जाने हो, काम गर्न जान्नँ।'
नेपाल फर्केको करिब तीन महिना भएको थियो। सोल्टी होटलले विज्ञापन गर्यो जुन युवराजका लागि उपयुक्त थियो। उनले आवेदन दिए। सोचेजस्तै भयो। 'बैंक्वेट सेफ' का रूपमा सन् २००६ मा उनले काम सुरू गरे। केही वर्षमा बढुवा भएर 'एक्जुकेटिभ शू-सेफ' भए।
त्यसअघि एक्जुकेटिभ सेफको पदमा थिए एक जना भारतीय। युवराजका अनुसार सोल्टी होटलमा एक्जुकेटिभ सेफका रूपमा काम गर्ने उनी पहिलो नेपाली नागरिक थिए।
उनले प्रसन्नतापूर्वक भने, 'सोल्टी होटल स्थापनाको करिब ५० वर्षमा एक्जुकेटिभ सेफ हुने म नै पहिलो नेपाली हुँ।'
युवराजले करिब ६ वर्ष एक्जुकेटिभ सेफको जिम्मेवारी सम्हाले। चार महिनाअघि उनी क्लस्टर सेफ भए।
'मैले सेफका सबै चरण पूरा गरेँ। यसका लागि निकै लामो यात्रा चाहिन्छ। हतार गरेर हुँदैन। धैर्य गर्नुपर्छ, मेहनत गर्नुपर्छ,' उनी भन्छन्।
सोल्टी ग्रुपको क्लस्टर सेफका रूपमा काम गर्न पाउँदा असाध्यै खुसी लागेको उनी बताउँछन्।
'विदेशमा सोल्टी होटल सबैले चिन्छन्, यसमा गर्व लाग्छ,' उनले भने, 'विश्वका भिआइपीहरूलाई खाना दिने अवसर पाएको छु। जोसुकैले भिआइपीसँग भेट्न पाउँदैन तर सेफले सजिलै भेट्छ।'
धेरैलाई जिन्दगीको यात्रा सहज हुँदैन। युवराज अपवाद हुने कुरै भएन। उनले पनि होटलको किचनमा निकै लामो यात्रा गरेका छन्। यो यात्रामा उनले अनेक हन्डर खाए। कुनै बेला सिनियर सेफ सन्केको दिन सास्ती हुन्थ्यो। कतै त कुटिएछन् पनि। एक जनाले त शरीरमा तातोपानी पानी नै खन्याइदिएछन्।
यी सबै कष्टलाई ४९ वर्षीय युवराजले जीवनयात्राका कठिनाइ मानेर स्वीकार गरेका छन्।
'कहिलेकाहीँ जीवन पीडादायी हुन्छ। मेरो पनि त्यस्तै भएको छ। तर यात्राको सफलताले सन्तुष्टि दिन्छ,' उनी भन्छन्, 'धेरै दुःख गरेको थिएँ, अहिले सन्तुष्ट छु।'
होटल क्षेत्रमा आएका नयाँ पुस्तालाई काममा मेहनती बन्न युवराजको सुझाव छ। सीप सिक्ने समयमा सिकिएन भने हातको प्रमाणपत्रले मात्रै काम नगर्ने उनको अनुभव छ। आधारभूत कुरा नसिके पछि काम गर्न गाह्रो हुने उनी बताउँछन्।
युवराज धेरै देशका खाना बनाउन सक्छन्। पछाडि फर्केर हेर्दा उनलाई होटल क्षेत्र छानेकोमा गर्व लाग्छ।
'पहिला कामले तान्यो, पछि सुविधाले। अहिले राम्रो क्षेत्र रोजेछु जस्तो लाग्छ,' उनले भने, 'पहिले मानिसहरू यसलाई सानो कामको रूपमा लिन्थे। अहिले ठूलो कामको रूपमा हेर्छन्।'
उमेरले परिपक्व हुँदै जाँदा काम गर्ने जोसजाँगर बढ्दै गएको उनको अनुभव छ। ज्यानले सकुन्जेल होटलको भान्सा सम्हाल्ने उनको सोच छ।
भन्छन्, 'सेफहरू कहिल्यै रिटायर हुँदैन। झन् अपडेट हुँदै जान्छन्। काम गर्ने इच्छाशक्ति बढ्दै जान्छ।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
'हाम्रा मास्टर-सेफ' शृंखलाको यी स्टोरी पनि पढ्नुहोस्ः
जसले सम्हालिरहेका छन् पाँचतारे होटल 'अलफ्ट' को भान्सा
भाँडा माझेर काम थालेका थिए, अहिले सम्हाल्छन् पाँचतारे होटलको भान्सा