काठमाडौंका कम्प्युटर इञ्जिनियर शिरीष धिताल केही वर्षअघि एक निजी कम्पनीमा सफ्टवेयर डेभलपरका रूपमा काम गर्दै थिए। कामकै सिलसिलामा भारतमा एमसिए (मास्टर्स इन कम्प्युटर एप्लिकेसन) पढिरहेका दिव्येस गिरीसँग भेट भयो।
शिरीष काम गर्ने कम्पनीले थप सफ्टवेयर डेभलपर खोज्ने क्रममा दुई जनाको भेट भएको थियो। कुरा सन् २००८ को हो। भेटपछि दुई जनाको कुरा मिल्दै गयो। जागिरको भन्दा बढी आफ्नै केही व्यवसाय गर्नेबारे कुराकानी हुन थाल्यो।
यही सिलसिलामा एउटा 'टुरिजम पोर्टल' बनाउने आइडिया फुर्यो।
'त्यो समय भारतमा होटल र हवाई जहाजको टिकट बुकिङ लगायतका लागि टुरिजम पोर्टल निकै लोकप्रिय थियो,' शिरीषले भने, 'नेपालमा त्यस्तो पोर्टल प्रयोगमा आइसकेको थिएन।'
त्यस्तो पोर्टल बनाउन सके राम्रो हुन्छ भन्ने उनीहरूले सोचे। सोच्न त सोचे तर हिसाब गर्दै जाँदा निकै ठूलो लगानी आवश्यक पर्ने देखियो। उनीहरू कमभन्दा कम लगानी होओस् भन्ने चाहन्थे।
अन्ततः उनीहरूले टुरिजम पोर्टल बनाउने आइडिया त्यागे।
'प्रोजेक्ट अलि ठूलो भयो। सानो टिमले गर्न सक्ने जस्तो देखिएन। लगानी पनि बढी नै लाग्ने भयो। हामी पछि हट्यौं,' उनले भने।
उनीहरूले अस्पतालको सेवाबारे जानकारी दिने सिस्टम बनाउने प्रयास गरे। विद्यालयका लागि पनि सोचे तर सोचेजसरी काम भएन। अन्ततः शिरीष र दिव्येस मिलेर मागअनुसार सफ्टवेयर विकासको काम गर्न थाले। आफ्नै कम्प्युटरबाट काम भइहाल्थ्यो। लगानी चाहिएन।
उनीहरूले सन् २००९ मा 'स्मार्ट टेक सोलुसन प्रालि' नामको कम्पनी दर्ता गराएर काम सुरू गरे। सानो टिम बनाए। सेवाग्राहीलाई आवश्यकता अनुसारको सफ्टवेयर बनाएर दिन थाले। पहिलो पटक उनीहरूले एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) का लागि सगरमाथा राष्ट्रिय निकुञ्जमा कुन सिजनमा कति पर्यटक पुग्छन् भन्ने हिसाब राख्ने सफ्टवेयर बनाए।
त्यसपछि कृषि विकास बैंकको अवकाश कोषका लागि सफ्टवेयर बनाएको उनी बताउँछन्। उक्त सफ्टवेयरले कर्मचारी र अन्य ग्राहकलाई दिएको ऋणको मासिक किस्ता, किस्ता तिर्न ढिलो लाग्ने जरिवाना लगायतको हिसाब राख्थ्यो।
अरूको आवश्यकता अनुसार काम गर्दागर्दै सन् २०१० मा उनीहरूले आफ्नै स्वामित्वको सफ्टवेयर विकास गरे, नाम दिए– स्मार्ट रोड।
यो क्याड (कम्प्युटर एडिट डिजाइन) सफ्टवेयर हो। यो सफ्टवेयर इञ्जिनियरिङ तथा निर्माणसँग सम्बन्धित छ। यसले सिभिल इञ्जिनियरहरूलाई सडक डिजाइन गर्न सघाउँछ।
'इञ्जिनियरहरूले कुनै सडकको सर्भे गरेर तथ्यांक ल्याउनुहुन्छ। त्यो तथ्यांक सफ्टवेयरमा राखेपछि त्यो ठाउँको जमिन कस्तो छ भन्ने त्यसले देखाउँछ,' शिरीष भन्छन्, 'त्यो जमिनमा सडक कस्तो बनाउने उकालो/ओरालो कहाँकहाँ पर्छ, कतातिरबाट घुमाउने भन्ने सबै डिजाइन गर्न सकिन्छ।'
उनका अनुसार यो सफ्टवेयरले सरकारी तथा इञ्जिनियरिङ मापदण्डअनुसार सडक इञ्जिनियरहरूलाई डिजाइनमा सघाउँछ।
उनले भने, 'सडक भनेर मात्रै भएन। कसरी बनाउँदा सुरक्षित हुन्छ, कस्तो ठाउँमा पर्खाल राख्ने हो, यो हिसाबले इञ्जिनियरले कम्प्युटरमा बसेर डिजाइन गर्छन्।'
स्मार्ट रोड सफ्टवेयरले सडक बनाउँदा कहाँ कति गहिरो खन्नुपर्ने, कति पुर्नुपर्ने, कालोपत्रे गर्न कति सामग्री लाग्छ भन्ने हिसाब दिन्छ। सडक निर्माणको काम सक्न कति श्रमिक चाहिन्छ, समग्र लागत कति लाग्छ भन्ने हिसाब पनि दिन्छ। मापदण्डअनुसार डिजाइन गर्न कतै छुटे पनि सफ्टवेयरले सम्झाउने शिरीषको भनाइ छ।
उनका अनुसार स्मार्ट रोड बजारमा धेरै रूचाइएको सफ्टवेयर हो। अहिले ३५० भन्दा बढी स्थानीय तहले यो सफ्टवेयर राखिसकेका छन्। सडक विभागका डिभिजन कार्यालयहरू र आयोजनाहरूले पनि प्रयोग गरेका छन्। कतिपय पूर्वाधार विकास कार्यालयमा पनि यही सफ्टवेयर प्रयोग भइरहेको उनले बताए।
संघीयता कार्यान्वयन हुनुअघि पनि जिल्ला विकास समिति अन्तर्गत ७५ वटै जिल्लाका प्राविधिक कार्यालयहरूले स्मार्ट रोड सफ्टवेयर प्रयोग गरे शिरीषको भनाइ छ। स्मार्ट रोडको लाइसेन्स आठ सयभन्दा धेरै बिक्री भइसकेको पनि उनले बताए।
भने, 'नेपालमा रोड डिजाइनको धेरै काम यही सफ्टवेयरबाट हुन्छ। अबको दुई वर्षभित्र ७५३ वटै स्थानीय तहमा पुग्छ भन्ने विश्वास छ।'
आवश्यक पर्नेहरूका लागि कम्पनीले लाइसेन्स बिक्री गर्ने हो। सफ्टवेयरको स्वामित्व भने कम्पनीकै हुन्छ। लाइसेन्स किन्नेहरूलाई कम्पनीले सफ्टवेयर एउटा हार्डवयर डिभाइसमा दिन्छ। त्यो जुन कम्प्युटरमा जोड्यो त्यसमा मात्रै प्रयोग गर्न सकिन्छ।
स्मार्ट टेकले सफ्टवेयरको लाइसेन्स निजी कम्पनीलाई ७५ हजार रूपैयाँमा बेच्छ। सरकारी निकायसँग एक लाख ५० हजार रूपैयाँ लिन्छ।
'सरकारीलाई चाहिँ किन महँगो भन्ने लाग्न सक्छ। सरकारी निकायमा इञ्जिनियर पठाएर निःशुल्क तालिम दिन्छौं,' शिरीष भन्छन्, 'कर्मचारी सरूवा भइरहने हुँदा नयाँलाई सिकाइराख्नु पर्छ। केही अप्ठ्यारो पर्यो भने हाम्रा इञ्जिनियरको टिमले सहयोग गर्छ।'
निजी क्षेत्रका कम्पनीहरूका इञ्जिनियरहरूलाई सहयोग गर्न नपर्ने उनको भनाइ छ।
स्मार्ट टेकले उक्त सफ्टवेयरको अनलाइन संस्करण पनि निकालेको छ। यसको शुल्क एक वर्षको ३० हजार रूपैयाँ पर्छ। एक वर्षपछि नवीकरण गर्न आठ हजार रूपैयाँ लाग्छ। अनलाइन संस्करण सिभिल इञ्जिनियरहरूले व्यक्तिगत प्रयोगका लागि यो एप रूचाइएको सेरिशको भनाइ छ।
स्मार्ट टेकले सिभिल इञ्जिनियरिङका विद्यार्थीहरूका लागि क्याम्पसको प्रोजेक्ट वर्कमा सघाउने स्टुरेन्ट संस्करण पनि ल्याएको छ। यसले एक पटकमा साढे दुई किलोमिटर सडक डिजाइन गर्न मिल्छ।
यतिले विद्यार्थीहरूलाई कलेजको प्रोजेक्ट वर्क गर्न पुग्ने उनले बताए। सेरिशका अनुसार हाल करिब २० वटा इञ्जिनियरिङ कलेजमा 'स्टुडेन्ट भर्सन' प्रयोग भएको छ।
समयसँगै स्मार्ट रोड सफ्टवेयरका विशेषताहरू पनि परिमार्जन हुँदै गएको शिरीषको भनाइ छ।
'पहिला–पहिला बाटो खोले मात्रै पनि हुन्थ्यो। अहिले मल्टी-लेन रोड बन्न थालिसके। हामीले पनि सफ्टवेयरमा सोहीअनुसारका फिचर राख्न थालेका छौं,' उनले भने।
स्मार्ट टेकले नहर–कुलो डिजाइन गर्ने सफ्टवेयर पनि बनाउँछ। खानेपानी आयोजनाको डिजाइन गर्ने 'स्मार्ट वाटर' नामको सफ्टवेयर तयार हुने क्रममा छ। त्यस्तै जिआइएस (जियोग्राफिकल इन्फरमेसन सिस्टम) का लागि पनि काम गरिरहेको उनले बताए।
'हाम्रो रोड एसेट मेनेजमेन्ट कन्सेप्ट पनि छ। यसले सडकमा भएका बार, पोल लगायतको मर्मतसम्भार गर्न सजिलो बनाउनेछ,' शिरीष भन्छन्, 'यो सफ्टवेयरले कहाँको बार अथवा पोल भत्किएको छ भन्ने देखाउँछ र मर्मत गर्न कति खर्च लाग्छ भन्ने हिसाब पनि देखाउँछ।'
स्मार्ट टेकले 'सफा वीरेन्द्रनगर' नामको सफ्टवेयर पनि बनाएको छ। यसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सफाइसम्बन्धी सूचना दिन्छ।
शिरीषका अनुसार हाल कम्पनीमा २५ जना कर्मचारी छन्। वार्षिक औसत करिब चार करोड रूपैयाँ बराबरको कारोबार हुन्छ।
नेपालमा धेरै जसो विदेशी सफ्टवेयर प्रयोग हुन्छ। केही वर्षयता भने नेपालमै सफ्टवेयर डेभलपरको संख्या बढ्दै छ। यससँगै प्रतिस्पर्धा पनि बढ्दै छ। प्रतिस्पर्धात्मक बजारमा आफ्नो व्यवसाय टिकाइराख्न गुणस्तरीय सेवामा ध्यान दिएको सेरिशको भनाइ छ।
'विदेशी सफ्टवेयरहरू धेरै छन् तर महँगा छन्। सडक डिजाइनका लागि अन्य नेपाली सफ्टवेयर पनि होलान्,' उनी भन्छन्, 'हाम्रो कम्पनीले सहुलियत मूल्यमा सजिलो सफ्टवेयर तयार गर्ने गरेको छ।'
सेरिशका अनुसार महँगो भएअनुसार विदेशी सफ्टवेयरमा फिचर पनि धेरै हुन्छ। तर त्यो सिक्न इञ्जिनियरहरूलाई समय पनि बढी लाग्छ। स्मार्ट टेकले बनाएको सडक डिजाइन सफ्टवेयरको फिचर नेपालको मापदण्डअनुसार रहेकाले सहज हुने उनको भनाइ छ।
यसरी नेपाली इञ्जिनियरले नै सफ्टवेयर बनाउने क्रम बढ्दै छ। यसबाट प्रविधिका लागि बाहिरिने रकम केही मात्रामा भए पनि मुलुकमै रहने अवस्था पनि सिर्जना हन्छ।
सबै तस्बिरः नवीनबाबु गरूङ/सेतोपाटी