चितवनमा नेपालमा उत्पादन भएका जुत्ताहरूको प्रदर्शनी सुरू भएको छ। भरतपुरस्थित प्रदर्शनी केन्द्रमा नेपालमा उत्पादन भएका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको प्रदर्शनी ‘चितवन फुटवेयर एक्स्पो २०७९’ सुरू भएको हो।
चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरू भएको एक्स्पोमा १० वटा स्वदेशी ब्रान्डका एक हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएका छन्। चैत १७ गतेसम्म एक महिना सञ्चालन हुने फुटवेयर एक्स्पोमा ४० वटा स्टल छन्।
नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई जानकारी गराउने उद्देश्यले एक्स्पो गरिएको बताए। विदेशी जुत्ताजत्तिको स्तरीय जुत्ता नेपालमै बन्ने भए पनि धेरै उपभोक्ताले यो जानकारी नपाएको उनले बताए।
एक्स्पोको उद्देश्य नेपाली जुत्ताको गुणस्तरको विषयमा जानकारी गराउँदै विदेशबाट आयात प्रतिस्थापन गर्नु रहेको उनले बताए।
नेपाल फुटवेयर एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले यसअघि विराटनगर, पोखरा, धरानलगायतका सहरमा पनि एक्स्पो गरिएको बताए। प्रदर्शनीमा दुई लाखले अवलोकन गर्ने र तीन करोड रूपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ। मेला व्यापार कमिटीका संयोजक सुरज बन्जाडेले मेलामा विशेष आकर्षक छुटहरू रहेको बताए।
फुटवयर एसोसिएसनका उपाध्यक्ष रुद्र न्यौपानेले स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गर्ने प्रमुख लक्ष्यका राखेर मेला आयोजना गरिएको जानकारी दिए।
मेलामा बिएफ डियरहिल/बिएफ स्पोर्ट्स, शिखर सुज, क्रसरोड, फर्स्ट वाक, सुजल्याण्ड, रनसुज, भेनस, केटिएम सुज, शिल्स, हाइलाइफ लगायतको ब्रान्डका जुत्ता, चप्पल तथा छालाबाट उत्पादित सामग्री उपलब्ध छन्।
नेपालमा अहिले एक हजार पाँच सय जुत्ता उद्योगहरू छन्। यसमा करिब ३० अर्ब रूपैयाँ लगानी रहेको अध्यक्ष घिमिरेले बताए। ५५ हजार जनाले यसमा रोजगारी पाएका छन् उनीहरूमध्ये करिब ४० प्रतिशत विदेशी छन्।
नेपालमा उत्पादन हुने जुत्ता, चप्पलको करिब १.५ प्रतिशत निर्यात हुन्छ। आर्थिक वर्ष २०७८/७९ मा नेपालमा उत्पादन भएका ५९ लाख जोर जुत्ता, चप्पल निर्यात भएको थियो। देशको मागको करिब ६५ प्रतिशत स्वदेशी उत्पादनले धानेको नेपाली जुत्ता घरका अध्यक्ष उपाध्यायले बताए। यहाँ वार्षिक १६ करोड थान जुत्ता, चप्पल उत्पादन गर्ने क्षमता छ। खपत भने १० करोड जोर मात्रै छ।
अहिले यहाँका उद्योगहरू करिब ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेको उनले बताए।
उद्योगीहरूले स्वदेशी जुत्ताको बजारलाई बढाउन सके देशको अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने दाबी गरेका छन्। उनीहरूले यसका लागि कच्चा पदार्थको आयातमा छुट तथा सुविधा, न्युन बिल, बिजकीकरण तथा चोरी पैठारी नियन्त्रण, स्वदेशी उत्पादनको प्रयोगमा प्रोत्साहन आवश्यक रहेको बताए।