पैसा कमाउने काम गर्न विदेश नै बस्नुपर्छ भन्ने पनि छैन। अमेरिकामा पढेका राजी अर्याल र अस्ट्रेलियामा पढेका सुवास अधिकारीलाई नै हेरौं न!
विकसित मुलुकमा उच्च शिक्षा पढेर फर्केका दुवै जना काठमाडौंका हुन्। उनीहरू आफ्नै देशमा स्वरोगारीबाट आम्दानी गर्न चाहन्थे। धेरै अघिदेखिका मिल्ने साथी उनीहरू खाद्य परिकारका पारखी पनि हुन्। विभिन्न देशका परिकार चाखेका छन्।
'विदेशबाट फर्केपछि पनि हामी काठमाडौं उपत्यकाका अनेक होटल र रेस्टुरेन्ट चहार्थ्यौं। नयाँनयाँ स्वादका परिकारहरू चाख्दै हिँड्थ्यौं,' राजीले भने, 'यसरी सँगै हिँड्ने गरे पनि हामी काठमाडौंमा अलग–अलग काम गर्यौं।'
सोसल साइन्स विषय पढेका राजीले सन् २०१२ मा कलंकीस्थित आफ्नै घरको सटरमा 'मःमः किङ' नामक रेस्टुरेन्ट खोले। व्यवस्थापन विषय पढेका सुवास भने इन्जिनियरिङ कन्सल्टेन्सी तिर लागे। कन्सल्टेन्सी अझै पनि चलिरहेको छ। राजीको काम राम्रै भयो। अहिले कालिमाटीमा पनि मःमः किङ छ।
तर मःमः पसल चलाउँदा उनले चिनारू र आफन्तहरूबाट राम्रो प्रतिक्रिया पाएका थिएनन्।
'बाहुनको छोरो भएर भैंसीको मःमः बेच्छ भनेर धेरैले होच्याउनुभयो,' राजीले भने, 'यही कुरालाई लिएर मैले व्यवसाय छाडेको भए यसरी अघि बढ्न सक्ने थिइनँ। मैले कसैको नकारात्मक कुराबाट आफ्नो अठोट त्यागिनँ।'
राजी र सुवासको काम फरक भए पनि भेटघाट बाक्लो थियो। विस्तारै दुई जना मिलेर खानाका परिकारको व्यवसाय गर्ने योजना बन्यो।
अनि राजी र सुवासको संयुक्त लगानीमा सुरू भयो 'कुखुरो'।
'हामी ग्रिल्ड चिकेनका पारखी। धेरै ठाउँमा जान्थ्यौं। यसको स्वाद अझै मीठो भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। हामी आफैं नेपाली स्वादमा कुखुरो दिन सुरू गरौं भन्ने योजना बनायौं,' राजीले भने।
पिरो र मसलेदार स्वादमा ग्रिल्ड चिकेन र बिरयानी पस्किने सोचमा उनीहरूले २०७९ वैशाख १५ गते टोखामा 'कुखुरो' को पसल खोले। सुरूका केही दिन निकै अस्तव्यस्त रूपमा उत्साहजनक व्यापार भयो।
'चिकेन र बिरयानी चाख्न धेरै जना आउनुभयो। हामीलाई भ्याईनभ्याई भयो। तीन-चार दिन त मागअनुसार दिनै सकेनौं। अस्तव्यस्त नै भयो,' सुवासले भने, 'खुसीको सीमा भएन। राम्रै कदम चालिएछ भन्ने भयो।'
व्यवसाय निकै राम्ररी चलेपछि उनीहरूले ललितपुरको धोबीघाटमा पनि कुखुरोको पसल खोले। पहिले 'श्याम दाइको हाँसको छोइला' भएको ठाउँमा अहिले 'कुखुरो' छ।
राजीका अनुसार धोबीघाटको श्यामदाइको हाँसको छोइला प्रख्यात ठाउँ भएकाले पनि 'कुखुरो' लाई मौका परेको छ। मनग्गे ग्राहकहरू पुग्छन्।
कुखुरोमा नेपाली स्वादमा ग्रिल्ड चिकेन र हैदराबादी दम चिकेन बिरयानी पाइन्छ।
'हामीले धेरै ठाउँको ग्रिल्ड चिकेन चाख्यौं। एक-दुई ठाउँबाहेक सबैमा सामान्य स्वाद आयो। विदेशी जिब्रोलाई हुने, एकदमै लाटो स्वादको लाग्यो,' सुवासले भने, 'अरूभन्दा फरक र स्पाइसी (पिरो) दिऔं भनेर हामीले कुखुरो सुरू गरेका हौं।'
यहाँ एउटा ग्रिल्ड चिकेनको ७५० रूपैयाँ पर्छ। १९० रूपैयाँमा पाइने हाफ प्लेट चिकेन बिरयानीले एक जनालाई टन्नै पुग्छ। त्यस्तै हाफ चिकेन बिरयानी-होल ग्रिल्ड चिकेन र एक प्लेट चिकेन बिरयानी-होल ग्रिल्ड चिकेनको 'कम्बो' पनि पाइन्छ।
सुवास भन्छन्, 'अहिले त १९० रूपैयाँमा खाजा पनि आउन मुस्किल पर्छ। हामीले बिरयानी नै दिएका छौं।'
स्वादिष्ट र गुणस्तरीय ग्रिल्ड चिकेन र बिरयानी आफूहरूले पस्किएको उनको दाबी छ।
भारतको हैदराबादको चर्चित दम चिकेन बिरयानीको मौलिक स्वाद दिन आफूहरूले निकै मिहेनत गरेको उनी बताउँछन्। उनीहरूले लामो समय युएईमा बिरयानी बनाउने काम गरेका अनुभवी सेफलाई बोलाएर रेसिपी बनाएका हुन्।
सुवासका अनुसार ती नेपाली सेफ हुन्। दुबईमा लामो समयदेखि बिरयानी बनाउँदै आएका छन्। त्यहाँ उनले सिंगै खसीको बिरयानी बनाउँदा रहेछन्। उनैलाई यहाँ बोलाएर बिरयानीका लागि उनीहरूले काम गरे। एक महिना जति उनीसँग अनुभव लिए।
ती सेफले करिब एक महिना समय दिएर रेसिपी तयार गरे। राजी र सुवासले पनि सोहीअनुसार बिरयानी र ग्रिल्ड चिकेन तयार गर्न सिके। तिनै सेफको सहयोगमा चिकेनसँग खाने अचार पनि धेरैतिर पाइनेभन्दा फरक स्वादको बनाएको उनीहरू बताउँछन्।
कुखुरोले पस्किने बिरयानीको स्वाद निकै रूचाइएको राजीको भनाइ छ।
'हैदराबादकै एक जना ग्राहक आउनुभएछ। हाम्रो बिरयानी खानुभयो। उहाँले हैदराबादमै खाएको जस्तो भयो भन्नुभयो,' उनले भने, यो प्रतिक्रियाले हामी निकै खुसी भयौं।'
खासगरी शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिनमा ग्राहक धेरै हुन्छन्। खासगरी भारतीय र विदेशी बढी आउँछन्। तीमध्ये अधिकांश नियमित भइसके। सबैको प्रतिक्रिया उत्साहजनक भएको उनीहरू बताउँछन्।
'एक पटक आएका ग्राहक फेरि फर्केर आउनु हाम्रा लागि निकै खुसीको कुरा हो,' सुवासले भने, 'अहिले स्टाफको तलब र सबै खर्च कटाएर आम्दानी राम्रै भइरहेको छ।'
कुखुरोको पसलमा बसेर खाने प्रबन्ध भने छैन। प्याकिङ गरेर लैजानुपर्छ। कोहीकोही ग्राहक चाहिँ पालो कुर्ने कुर्सीमै बसेर पनि खान्छन्।
ग्रिल्ड चिकेन र बिरयानी 'पठाओ' मार्फत पनि अर्डर गर्न सकिन्छ।
कुखुरो सुरू गरेको यही वैशाख १५ गते एक वर्ष पूरा हुँदैछ। उनीहरूले औपचारिक रूपमा बजारमा आफूलाई चिनाउन भने बाँकी छ। उनीहरूकै कतिपय आफन्त र निकटस्थहरूलाई पनि भनेका छैनन्। अब भने कुखुरोबारे औपचारिक जानकारी गराउने तयारी छ।
'एक वर्ष नपुगी किन हल्ला गर्ने भनेर चुपचाप काम गरिरहेका छौं। हामीले धेरै माझिने मौका पायौं। ग्राहकहरूको मनोविज्ञान बुझ्न सक्ने भएका छौं,' राजीले भने, 'अब चाहिँ हामी पनि आयौं है भनेर अफिसियल्ली (औपचारिक रूपमा) भन्ने तयारी गर्दैछौं।'
नेपालमै आम्दानीको केही राम्रो काम गर्छु भनेर लिएको अठोट र देखेको सपनाको बाटोमा अघि बढेकोमा आफू सन्तुष्ट रहेको उनले बताए।
अहिले कुखुरोका दुइटा पसलमा दुई सेफ र दुई सहयोगी गरी चार जना कर्मचारी छन्। ग्रिल्ड चिकेन दैनिक दुईमा ४० वटा बिक्री हुन्छ। शनिबार र शुक्रबार भने दुई ठाउँबाट सरदर ८० वटा ग्रिल्ड चिकेन बिक्री हुन्छ। दुवैतिर गरेर लगानी २२ लाख रूपैयाँ पुगेको छ।
कुखुरोको फ्रेन्चाइज माग भइरहे पनि तत्कालै यसलाई अघि बढाउने सोचाइ नरहेको सुवासले बताए।
'सुरूमा त हामी आफैं ढुक्क हुनुपर्यो। अब हाम्रा ग्राहकले हामीलाई जता पनि खोज्नुहुन्छ भन्ने भएपछि बिस्तारै फ्रेन्चाइजमा जान सक्छौं,' सुवासले भने।
पहिले आफूहरूले धेरैभन्दा धेरै सेवाग्राहीको मन जित्ने योजना उनीहरूको छ।