मुन्नी राना साढे एक कट्ठा जमिनमा मौसम अनुसारको तरकारी लगाउँछिन्। उनको आम्दानीको मुख्य स्रोत यही जमिनमा उब्जेको तरकारी हो।
धनगढी उपमहानगरपालिका–६, मटयारीकी उनी काँक्रा, फर्सी, बोडी, भिन्डी, साग, करेला आदि फलाउँछिन्। तयार भएको तरकारी लिएर हप्ताको चार दिन बिहानै साइकलमा धनगढी बजार पुग्छिन् र 'तरकारी–तरकारी' भन्दै घरघर डुल्छिन्।
यसरी करिब चार घन्टामा सबै तरकारी बेचिसक्छिन्।
'धेरैजसोले मेरो तरकारी ताजा र राम्रो मानेर किन्छन्। उनीहरू मूल्यमा कसाकस पनि गर्दैनन्,' मुन्नीले भनिन्, 'कोहीकोही चाहिँ मूल्य निकै घटाउन खोज्ने हुन्छन्।'
मुन्नी हप्तामा तीन दिन त्रिनगर कृषिउपज हाटबजारमा तरकारी बेच्छिन्।
उनकी छिमेकी रामपति राना पनि कृषक हुन्। रामपति पाँच कट्ठा जमिनमा तरकारी उब्जाउँछिन्। तरकारी खेती उनको परिवारको पुर्ख्यौली पेसा हो।
रामपति पनि हप्तामा तीन दिन हाटबजारमा लगेर तरकारी बेच्छिन्।
'हाटबजारमा तरकारी बेच्न पाउँदा हामीलाई धेरै सहज भएको छ। दिउँसो तरकारी बेचेर घरको काम पनि भ्याउँछौं,' उनले भनिन्।
तरकारी खेतीबाट सन्तोषजनक आम्दानी भइरहेको मुन्नी र रामपति बताउँछन्। धान र गहुँबाट भन्दा तरकारीबाट राम्रो फाइदा हुने उनीहरूको भनाइ छ।
उनीहरूले तरकार बेच्ने त्रिनगर कृषिउपज हाटबजार सातामा तीन दिन खुल्छ। यो हाटबजार धनगढी उपमहानगरपालिका, त्रिनगर माध्यमिक विद्यालय, सृजनशील समाजको सिर्जना (सिसिएस) नामक गैरसरकारी संस्थाको त्रिपक्षीय सम्झौतामा आर्थिक वर्ष २०७०/७१ मा सञ्चालन भएको हो। हाटबजार लाग्ने जमिन त्रिनगर माध्यमिक विद्यालयको हो। यहाँ थोक होइन खुद्रा बजार लाग्छ।
यहाँ स्थानीय किसानहरू आफूले उत्पादन गरेका तरकारी तथा फलफूल बेच्न जान्छन्। हाटबजार लाग्ने दिन मुन्नी, रामपति र उनीहरूजस्ता किसान बिहान पाँच बजे नै त्यहाँ पुग्छन्।
पहिले त मुन्नी र रामपति जस्ता किसानको यो हाटबजारमा पहुँच साह्रै कमजोर थियो। त्यहाँ व्यापार राम्रो हुने भए पनि स्थानीय किसानले बस्ने ठाउँ नै पाउँदैन थिए।
'बिहान जति चाँडै गए पनि ठाउँ पाइँदैन थियो। हामीभन्दा पहिला भारतीय व्यापारीहरू भारतबाटै आएको तरकारी राखेर बसेका हुन्थे,' मुन्नी भन्छिन्, 'कहिलेकाहीँ त कतै ठाउँ नपाएर घर फर्किनुपर्थ्यो।'
स्थानीय किसानकै लागि सञ्चालन गरेको भनिए पनि भारतीय तरकारी, फलफूल र उतैका व्यापारीको कब्जामा थियो यो हाटबजार। स्थानीय किसान त मर्कामा थिए।
यो समस्या समाधानका लागि धनगढी उपमहानगरपालिकाले उक्त हाटबजारमा भारतीय तरकारी प्रवेश रोक लगाएको छ। उपभोक्ता र किसान दुवैको हितका लागि हाटबजारमा भारतीय तरकारी र फलफूल बेच्न रोक लगाएको उपमहानगर कार्यालयका कृषि शाखाका प्रमुख लोकराज उपाध्यायले बताए। यसरी रोक लगाएको साढे एक महिना मात्र भयो।
'भारतीय र बिचौलियाका कृषिउपजले हाटबजार ढाकेपछि यो कदम चाल्नुपर्यो,' उनले भने।
उपमहानगरपालिकाको उक्त निर्णयले स्थानीय किसान खुसी भएका छन्।
'अब हाम्रो कृषिउपज हाटबजारमा लगेर बेच्न सहज भएको छ,' स्थानीय कृषक जमुना रानाले भनिन्।
भारतीय उपज प्रवेशमा रोक लगाएपछि उपमहानगरले स्थानीय किसानलाई 'किसान परिचयपत्र' पनि वितरण गरेको छ। यो परिचयपत्र बनाउन नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित वडा कार्यालयको सिफारिस चाहिन्छ। यही आधारमा उपमहानगर कार्यालयको कृषि शाखाबाट किसान परिचयपत्र पाइन्छ।
कृषि शाखाका अनुसार हालसम्म ७४१ जनाले किसान परिचयपत्र बनाएका छन्। उपमहानगर कार्यालयले हाटबजारमा कृषिउपज बेच्न यो परिचयपत्र अनिवार्य गरेको छ। परिचयपत्रबिना व्यापार गर्न पाइँदैन।
मुन्नीले पनि हालै उपमहानगरपालिबाट किसान परिचयपत्र बनाइन्। उनी र अरू किसानहरू घाँटीमा परिचयपत्र भिरेर हाटबजार जान्छन्।
'घाँटीमा कार्ड झुन्ड्याएर तरकारी बेच्न पाउँदा हामी दंग परेका छौं। खपत पनि राम्रो भएको छ,' मुन्नीले भनिन्, 'पहिलाको जस्तो ठाउँ नपाउने समस्या छैन।'
स्थानीय उपभोक्ता जयमती भण्डारीले त आफूलाई भारतीय तरकारी किन्नै डर लाग्ने बताइन्।
'भारतको तरकारीमा धेरै विषादी हुन्छ, किन्नै डर लाग्छ। पहिले हाटबजार गएपछि भारतीय तरकारी नै किन्नुपर्थ्यो,' जयमतीले भनिन्, 'अहिले स्थानीय किसानको उत्पादन किन्न पाइन्छ। खुसी लागेको छ।'
अर्का उपभोक्ता हरि भट्ट हाटबजारमा भारतीय तरकारी नपाइने भएपछि अब स्थानीय किसानले उत्पादन बढाउनुपर्ने बताउँछन्।
'उपमहानगरले किसानलाई प्रेरित गरेर यहाँको माग धान्ने गरी उत्पादन बढाउनुपर्छ,' उनी भन्छन्, 'माग धान्न नसके फेरि भारतकै तरकारी आउँछ।'
धनगढीमा तरकारी खेती गर्ने करिब पाँच हजार किसान भएको उपमहानगरको कृषि शाखाको तथ्यांक छ। मौसमी तरकारीले यहाँको माग पूरा गरेर अरू सहरमा पनि जाने गरेको कृषि शाखा प्रमुख उपाध्याय बताउँछन्।
'बर्खायाममा भने स्थानीय उत्पादनले मात्र माग धान्दैन। बाहिरबाट ल्याउनुपर्छ,' उनले भने।
चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट ५५ करोड ५१ लाख १२ हजार रूपैयाँको तरकारी तथा फलफूल कैलाली भित्रिएको छ। कैलाली भन्सार कार्यालयका अनुसार यसमध्ये २२ करोड २८ लाख १६ हजारको फलफूल आएको छ।
भारतबाट भित्रिने प्याज, आलु, टमाटर, काउली, मटर लगायत अन्य तरकारी हुन्। यो तरकारी सुदूरपश्चिमका सबैजसो जिल्लामा पुग्छ।
अहिले हाटबजारमा प्रवेश नपाएपछि भारतीय तरकारी व्यापारीहरू भने नगरका अन्य ठाउँ र सब्जीमण्डीतिर सरेका छन्।