भारतको ढकिया गाउँकी मुन्नी राना केही समयअघि धनगढी आएकी थिइन्। उनले एकैपटकमा सात जोर चप्पल किनिन्।
ती सबै चप्पल कैलालीको धनगढी उपमहानगरपालिका–१४, स्याउलेकी सञ्जिता रानामगरको उद्योगबाट उत्पादित हुन्।
'यी चप्पल बलिया हुन्छन्। त्यसैले मैले यसपालि घरका सबैलाई हुने गरी सातै जोर किनेकी हुँ,' उनले सेतोपाटीसँग भनिन्।
सञ्जिताका छरछिमेकी र उनको उद्योगमा बनेका चप्पल लगाउने धेरैले 'बलिया' भनेर तारिफ गर्छन्। यस्तो तारिफ पाएर 'एसआर चप्पल उद्योग' की सञ्चालक सञ्जिता मख्ख पर्छिन्।
हाल उनको उद्योगमा दैनिक करिब दुई सय जोर फित्तावाला चप्पल बन्छन्। चाडवाडको समयमा अलि बढी उत्पादन गर्छिन्। चप्पल बेच्ने उनको आफ्नै पसल छ। दैनिक सरदर ३० जोर पसलबाटै बिक्छ। बाँकी चप्पल अरू बिक्रेताले लैजान्छन्। उनको गाउँ भारतसँगको सिमाना नजिकै भएकाले उताबाट आउने आफन्त र चिनारूहरू पनि उनका ग्राहक हुन्।
'महिनामा ३० हजार रूपैयाँसम्म नाफा भइरहेको छ,' सञ्जिताले भनिन्, 'ग्राहकबाट राम्रो प्रतिक्रिया पाएकाले उत्पादन बढाउने योजना छ।'
उद्योग विस्तार गरेर अलि धेरै जनालाई नियमित रोजगारी दिने रहर पनि छ उनको। अहिले आवश्यकताअनुसार दुई जनासम्म कर्मचारीले काम गर्छन्।
उद्योग बढाएर रोजगारी दिनेसँगै उनको मुख्य अर्को योजना छ, विदेशमा रहेका श्रीमानलाई घर फिर्ता बोलाउने। उनका श्रीमान मलेसियामा काम गर्छन्। आफ्नो गाउँमा आफैंले खोलेको उद्योग विस्तार गर्न श्रीमानलाई बोलाउने सोच बनाएको उनले बताइन्।
कुनै बेला उनी पनि श्रीमानझैं विदेशी भूमिमा पसिना बगाउँथिन्। भारत, मलेसिया र जोर्डन गरेर १५ वर्ष विदेश बसिन्। अर्काको देशमा काम गर्न रहर होइन, बाध्यता आइपरेको थियो।
सात कक्षा पढ्दै गर्दा आमाबुबाले सञ्जिताको बिहे गरिदिए। कलिलै उमेरमा अनेक हन्डर खानुपर्यो। बिहे भएको तीन वर्षपछि स्थानीय खुटिया नदीको बाढीले घरमा क्षति पुर्यायो। जग्गा कटान गर्यो। परिवारमा पहिल्यैदेखि बेमेल थियो, बाढी बसेपछि झन् छिन्नभिन्न भयो।
अनि त हातमुख जोर्न र ओत लाग्ने ठाउँकै लागि पनि पैसा चाहियो। सञ्जिता यताउता ऋण मागेर दैनिकी चलाइरहेकी थिइन्। ऋण बढेपछि २०६७ सालमा उनका श्रीमान कतार गए। श्रीमानको कमाइले ऋण तिर्ने र घरजग्गा जोरजाम गर्ने सञ्जिताको सपना थियो।
'म परिवारमा मेलमिलाप चाहन्थेँ, फुटेको परिवार जोड्न चाहन्थेँ,' उनले भनिन्।
उनको यो सपनामा पनि बाढी नै ओइरियो। श्रीमानले कतारबाट पैसा पठाउन सकेनन्, कुलतमा फसे। कमाउन विदेश गएका श्रीमानलाई ऋण काढेर घर फर्काउनुपर्यो।
बैंकबाट ऋण लिने आधार नभएकाले गाउँकै साहुसँग महँगो ब्याजमा ऋण लिएकी थिइन्।
'एक लाख रूपैयाँ ऋण लिएको, चार वर्षमा बढेर सात लाख भयो,' उनले भनिन्।
कुलतमा फसेका श्रीमान बेलाबेला सम्पर्कविहीन हुन्थे। घरको अवस्था सम्हाली नसक्नु भएपछि सञ्जिता छोरी लिएर केही दिनको सहाराका लागि माइत गइन्।
'तर सधैं माइत बस्न सक्ने अवस्था थिएन। श्रीमान र घरपरिवारबाट सहयोगको आशा गर्न सक्ने अवस्था पनि थिएन,' उनले भनिन्।
बाँच्ने र परिवार सम्हाल्ने आँट त गर्नै पर्ने थियो। उनी कमाइको उपाय खोज्न थालिन्। श्रम गरेर कमाइ गर्ने उद्देश्यले भारत पुगिन्। त्यहाँ उनका आफन्त र साथीहरू थिए। तिनकै भरथेग पाइन् र नौ वर्ष बिताइन्। भारतमा ठिकठिकै कमाइ भयो। त्यहीँ कमाएको पैसाले यता गाउँमा अलिकति जमिन किनिन्।
जमिन त किनिन् तर ऋण सकिएकै थिएन। घर बनाउने त अत्तोपत्तो भएन।
त्यति बेला सञ्जिताले केही महिलाहरू विदेश गएको र अलिअलि पैसा कमाएर परिवार व्यवस्थापन गरेको देखेकी थिइन्।
उनले पनि छोरीलाई दिदीबहिनीको जिम्मा लगाएर अर्कै मुलुक जाने सोचिन्, 'महिलाहरू पनि काम गर्न विदेश गएको देखेकाले साहस जुटाएर म पनि जाने निर्णयमा पुगेँ।'
एघार वर्षअघिको कुरा, पासपोर्ट (राहदानी) बनाउन उनी काठमाडौं गइन्। काठमाडौंमै भएका बेला एउटा कम्पनीले एक महिनाभित्रै मलेसिया पठाउने गरी काम गर्दैछ भन्ने जानकारी पाइन्। उनले दस हजार रूपैयाँ बुझाएर एक सातामै पासपोर्ट लिइन्। पासपोर्टबाहेक ९० हजार रूपैयाँ खर्च गरेर मलेसिया पुगिन्।
मलेसियामा उनले मेडिकल ग्लभ्स (चिकित्सा पञ्जा) बनाउने कम्पनीमा काम पाइन्। त्यहाँ उनले ती पञ्जा प्याकिङ गर्नुपर्थ्यो। नियमित दैनिक १२ घन्टाको काम थियो। उनले थप समयसमेत गरेर १८ घन्टासम्म काम गरिन्। थप समयको थप पारिश्रमिक मिल्थ्यो।
मासिक तलब र ओभर-टाइम समेत गरेर मासिक ७० हजार रूपैयाँ जति आम्दानी हुन्थ्यो। सञ्जिता तीन वर्ष मलेसिया बसेर फर्किन्। अलिकति जमिन किनेकै थिइन्, त्यसमै एउटा घर बनाइन्।
आफ्नै माटोमा टेक्ने आधार भए पनि श्रीमानलाई कतारबाट फर्काउँदाको र त्यसअघिको ऋण बाँकी नै थियो। उनले सानो पसल खोलिन्। तर यसले मात्र ऋण तिरिँदैन, जिउने बलियो आधार हुँदैन भन्ने लाग्यो। थप कमाइका लागि एकपटक फेरि विदेश जाने सोचेर सन् २०१७ मा जोर्डन गइन्।
'नेपाल सरकारको फ्री भिसा र फ्री टिकटमा जोर्डन जान पाएँ,' उनले भनिन्, 'गार्मेन्टको सीप सिकेर गएकी थिएँ।'
त्यहाँ उनको काम कपडामा लगाइएका ट्याग जाँच गर्ने र अर्डर भएको कपडा छुट्ट्याएर प्याकिङ गर्ने थियो। जोर्डनको आम्दानी मलेसियाको भन्दा केही कम भए पनि केही सीप सिकेको उनी बताउँछिन्।
त्यहाँ तीन वर्ष बसेपछि सञ्जिता फर्किन् र पहिलेजस्तै पसल सुरू गरिन्। यति बेलासम्म उनका श्रीमान परिवारमा सामेल भइसकेका थिए।
तर सञ्जितालाई पसलको आम्दानीले मात्र हुँदैन भन्ने लाग्यो। उनले सानोतिनो लगानी गरेर कुनै व्यवसाय थाल्ने सोचिन्। अनि युट्युबमा सीपहरू हेर्न थालिन्।
'विदेशमा हुँदा युट्युबमा सामानहरू बनाउने तरिका हेरिरहन्थेँ, सिक्थेँ। नेपाल गएर यस्तै केही काम गर्छु भन्ठान्थेँ,' उनले भनिन्, 'मलाई चप्पल बनाउने काम सजिलो लाग्यो।'
युट्युबमै उनले नेपालगन्ज, लम्की, अत्तरिया र धनगढीमा चप्पल बनाउने काम हुने गरेको देखेकी थिइन्। उनी ती उद्योगमा पुगेर केही दिन काम सिकिन्। त्यसपछि चप्पल बनाउने एउटा पुरानो मेसिन किनिन्।
'ठूलो मेसिन ल्याएर कसैलाई देखाउनु थिएन। मेरा लागि जे सम्भव थियो, सानैबाट सुरू गरेँ,' उनले भनिन्।
यसरी उनले सुरू गरेको 'एसआर चप्पल उद्योग' बाट अहिले उनको व्यावसायिक यात्रा अगाडि बढिरहेको छ।
सञ्जिता चप्पल बनाउने कच्चा पदार्थ बुटवल र कैलालीका केही उद्योगीबाट मगाउँछिन्। कच्चा पदार्थको गुणस्तरअनुसार चप्पलको दाम फरक पर्छ। उनका अनुसार नेपाली कच्चा पदार्थको चप्पल बलियो हुन्छ।
उनले धनगढी उपमहानगरपालिकाले चलाएको व्यवसाय सञ्चालन सम्बन्धी तालिम पनि लिएकी छन्। तालिममा व्यवसाय प्रवर्द्धनसम्बन्धी ज्ञान हासिल गरिन्।
वडा कार्यालयबाट पनि उनले आर्थिक सहयोग पाइन्। काम सिक्न चाहनेलाई सिकाउने शर्तमा वडा नम्बर १४ का वडाध्यक्ष मानबहादुर विष्टको पहलमा ५० हजार रूपैयाँ पाएकी थिइन्। त्यसपछि प्रशिक्षक भएर उनले वडा नम्बर १० मा चप्पल बनाउने दसदिने तालिम दिइन्।
'राम्रो काम गर्दा वडा र उपमहानगरबाट पनि अवसर आउने रहेछ। अहिले धेरै कुरा थाहा पाउँदै छु,' सञ्जिता भन्छिन्, 'धेरै नपढे पनि मेरो सीप र कामको क्षमता बढेको छ। काम गर्दै सिक्दै उद्यमी बन्ने सपनालाई अघि बढाउँदै छु।'