पहिले उनको घरनजिकै कपाल काट्ने सैलुन थिएन। गाउँमा एक-दुईजना कपाल काट्न जान्ने मान्छे हुन्थे। उनीहरूले नै गाउँभरिका मान्छेको कपाल काटिदिनुपर्थ्यो।
आदेश चौधरी सानै हुँदा उनकी आमाले कपाल काट्न जान्ने एक जना गाउँलेलाई घरै बोलाउँथिन्। र, छोराको कपाल काट्न लगाउँथिन्।
कपाल काटेको ज्याला दिन पैसा हुँदैन थियो। घरमा रक्सी बनाएको हुन्थ्यो। कपाल काटिदिनेलाई आमा रक्सी दिन्थिन्।
अहिले तिनै आदेशले आफ्नो गाउँमा आफैं सैलुन खोलेका छन्।
दुई वर्षदेखि सैलुन चलाइरहेका उनी यसकै कारण गाउँमा चर्चित छन्। उनको सैलुनमा विशेष गरेर युवाहरू आउँछन्। उनले बनाइदिएको कपालको चट्ट-स्टाइलमा मख्ख परेर निस्किन्छन्।
'भारत गएर पैसा कमाउन दु:ख गर्नुभन्दा गाउँमै गर्ने इलम भए धेरै रमाइलो हुने रहेछ,' उनको अनुभव छ।
सानैदेखि मजदुरीमा लागेका आदेश केही वर्ष नेपाल र भारतमा काम गर्न गएका थिए।
आदेश धनगढी उपमहानगरपालिका–१४, सी गाउँका बासिन्दा हुन्। परिवारिक पेसा खेतीकिसानी भए पनि आफ्नो खेतबारी छैन। उनका बुवाले अधियाँमा खेती गरेर छोराछोरी हुर्काए। परिवारमा गरिबी थियो, आदेशले आठ कक्षाभन्दा माथि पढ्न पाएनन्।
'पढाइ छोड्न मन थिएन तर पैसा भएन। घर चलाउन काम गर्नुपर्ने भयो,' उनले भने, 'चौध वर्षको उमेरमा पढाइ छोडेर मजदुरी गर्न थालेँ। दैनिक ज्याला १८० रूपैयाँ थियो।'
उनले पाँच वर्ष धनगढी र फूलबारीमा घर निर्माणमा मजदुरी गरे। बालुवा-सिमेन्ट बोक्ने, मसला बनाउने र अरू आइपरेका काम गर्नुपर्थ्यो। यस्तो मजदुरीले घरको गर्जो टर्ने भए पनि कमाइ नहुने भयो। आफूलाई चाहिएका बेला पैसा नपाउने समस्या थियो।
त्यसपछि उनले भारत जाने निधो गरे। केही साथीहरूसँगै उनी भारत पसे। जाँदाजाँदै महाराष्ट्र पुगे। त्यहाँ पहिलोपटक रेल देखेर उनीहरू उत्साहित भएका थिए। साथमा बोकेको थोरैतिनो खर्च थियो। साता–दस दिन रमाइलो गरे।
यसैबीच उतै रहेका एक जना आफन्तले भारतीय रूपैयाँ चार हजार मासिक तलब पाउने गरी एउटा होटलमा काम लगाइदिए। तर केही समयमै यता घरमा आमा बिरामी परिन्। उपचारका लागि उनले पनि पैसा पठाउनुपर्ने भयो। तलबले उनलाई त्यहाँ धानिन मात्र पुग्थ्यो। त्यसैले तीन महिनामै आदेश घर फर्के।
गाउँमा उनका दाइले एउटा सानो टहरामा सैलुन चलाउन थालेका थिए। सामान भनेको जम्मा एउटा कैंची, ऐना र काठको कुर्सी थियो। आदेशले दाइसँगै काम गरेर बस्न पाए हुन्थ्यो भन्ने सोचेर कुरा गरे। काम सुरू गरे तर सानो ठाउँमा सोचेजस्तो भएन।
'दुई जनालाई काम पुगेन। ग्राहक नै थोरै आउने। दाइले फेरि भारत नै जान सल्लाह दिए,' उनले भने।
चार वर्षअघि कुरा हो, आदेश फेरि भारत गए। बिजुलीको स्वीच बनाउने कम्पनीमा काम पाए। त्यहाँ तलब तोकिएको थिएन, स्वीच गनेर पैसा प्राप्त हुन्थ्यो। एउटा स्वीच बनाएको ३५ रूपैयाँ मिल्थ्यो।
यो उनका लागि राम्रो काम थियो, महिनामा भारतीय रूपैयाँ १५ हजारजति कमाइ हुन्थ्यो। कोरोना महामारीसँगैको लकडाउनपछि भने धेरै कम्पनीमा काम बन्द भयो। आदेशको पनि काम रोकियो। कम्पनीमा बस्ने सुविधा त थियो, खाने थिएन।
बचाएको पैसा खानामा खर्च हुन थाल्यो। यसरी हुँदैन, घर जानुपर्छ भन्ने उनलाई नलागेको होइन तर बाहिर निस्किन पाइँदैन थियो। तैपनि उनले बाटो लाग्ने विचार गरे। पैसा जोरजाम गरेर एउटा साइकल किने अनि निम्की, बिस्कुट र पानीका केही बोतल बोकेर उनीजस्तै समस्यामा परेकाहरू सात जना मिलेर निस्के।
गुगलको सूचनाअनुसार महाराष्ट्रबाट धनगढीसम्मको दुरी एक हजार ४४९ किलोमिटर छ। उनीहरू नौ दिन साइकल चलाएर गौरीफन्टा नाका आइपुगे। थकित ज्यानमा धनगढी आइपुग्न अर्को एक दिन लाग्यो।
'निद्रामा पनि साइकलै चलाउँथ्यौं। कहीँ सडकमै सुत्थ्यौं। मैले आफ्नो देशबाहिर, घरबाट टाढा हुँदाको पीडा कस्तो हुँदोरहेछ भन्ने थाहा पाएँ,' आदेशले भने, 'त्यस बेला मलाई आफ्नै देशमा, आफ्नै गाउँघरमा काम गर्छु भन्ने भयो। जस्तो भए पनि फेरि दाइको पसलमा कपाल काट्ने काम गर्छु भन्ने सोचेँ।'
उनी नाई पेसा अर्थात् कपाल काट्ने काम नै गर्ने टुंगोमा पुगे। बजार पनि पहिलेभन्दा अलि बढेको थियो। साढे एक वर्ष दाइको सैलुनमा काम गरेर कपाल काट्न जान्ने भए। सैलुनमा आउने ग्राहकले उनलाई खोज्न थाले।
धनगढी उपमहानगरपालिकाले पहिलेदेखिका बेरोजगार, कोरोनाका कारण रोजगारी गुमाएका र भारतबाट फर्केका युवाहरूलाई २०७८ फागुनमा कपाल काट्ने तालिम दिने भयो। आदेशले त्यो एकमहिने तालिम लिने अवसर पाए। दाह्री र कपाल काट्न सिके। ग्राहकसँग गर्ने व्यवहारसम्बन्धी ज्ञान पाए।
तालिम लिएपछि आफैंले सैलुन चलाउन सक्छु भन्ने आत्मविश्वास उनलाई भयो। लगत्तै स्याउले बजारमा एउटा सटर भाडामा लिएर 'आदेश हेयर कटिङ सेन्टर' सुरू गरे।
यसरी आफ्नो व्यावसायिक यात्रा सुरू गरेका उनी अहिले त्यो ठाउँमा सैलुनसम्बन्धी कामका लागि प्रख्यात नै भइसकेका छन्।
आदेशले उपमहानगरको सहयोगमा आफ्नो सीप थप निखार्ने मौका पाएका छन्। गत असारमा उपमहानगरले अर्को तालिम दिएको थियो। उपमहानगरमा उद्यम विकास सहजकर्ता रहेकी मीना जोशीका अनुसार घुरधुरी सर्वेक्षणबाट छनौट भएकालाई समूहमा आबद्ध गराएर उक्त तालिम दिइएको हो। यसमा व्यवसायमा टिक्न चाहनेलाई मात्रै सहभागी गराइएको उनले बताइन्। २१ दिने दोस्रो चरणको यो तालिममा आदेशसहित २७ जना सहभागी थिए।
एउटा फेसियल हाउसमा काम गर्दै सिक्ने व्यवस्था भएकाले यसपटक आदेशले फेसियल, कपाल स्ट्रेट र कलर गर्न सिके। महिलाको कपाल कटाइ पनि सिके। थप सीप सिक्ने अवसर आए त्यसमा पनि सहभागी हुने उनी बताउँछन्।
'अरूको काम गर्दा आफ्नै व्यवसाय गर्न सकिँदैन जस्तो लाग्थ्यो। तालिम पाएपछि आँट आयो,' उनले भने, 'अहिले स्वरोजगार बनेको छु।'
भारतमा काम गर्न जानेलाई गाउँघरमा लाहुरे भन्न चलन छ। आदेशलाई यसरी लाहुरे भन्नुमा व्यंग्य जस्तो लाग्छ।
'काम गर्न भारत गएपछि मान्छे दस दिनमा फर्के पनि लाहुरे, दस वर्षमा फर्के पनि लाहुरे। यसो भन्दा खिसी गरेजस्तो लाग्छ,' उनले भने।
अहिले उनले व्यंग्य सुन्नुपर्दैन। उनको पसलमा आउनेहरू खुसी भएर फर्किने गरेका छन्। स्थानीयवासी आकाश बुमी आदेशको काम राम्रो भएको बताउँछन्। उनको कपाल आदेशले नै काट्छन्। सैलुनमा स्कुले किशोर र युवाहरू बढी आउँछन्।
आदेश आफ्नो काममा खुसी र सन्तुष्ट छन्।
'स्वदेशमै, अझ गाउँमै बसेर काम गर्न पाउँदा खुसी छु। म सानो छँदा आमाले एक पाउ रक्सी दिएर मेरो कपाल काट्न लगाउनुहुन्थ्यो। अहिले म आफैं सैलुन चलाउने भएको छु,' उनले भने, 'धेरै सन्तोष मिलेको छ।'
युवाहरूलाई आफ्नै देशमा काम गर्ने सीप सिकाउनुपर्छ भन्ने उनलाई लागेको छ। आफ्नै अनुभवले पनि सीपको महत्त्व थाहा भएको छ।
कुनै पनि काम सानो वा ठूलो हुँदैन, श्रम गर्न गाह्रो मान्नु हुँदैन भन्ने कुरामा विश्वास गर्ने आदेश भन्छन्, 'सीप भए जहाँ पनि गरेर खान सकिने रहेछ।'