हेटौंडाका २६ वर्षीय सरोज तामाङ यही साताको मंगलबार बिहान दस बज्दै गर्दा दाङको घोराहीमा स्केटिङ गर्दै थिए। पेसाले निर्माण व्यवसायी सरोज फुर्सद मिलाएर यात्रामा निस्केका रहेछन्।
घोराही उपमहानगरपालिका–१५ स्थित जनज्योति टोलको बाटो हुँदै जाँदा उनको नजर स्केटिङ खेलिरहेका युवाहरूमा पर्यो। उनले आफ्नो मोटरसाइकल रोके अनि खेलिरहेको ठाउँमा गए। हेटौंडामा हुँदा पनि उनी स्केटिङ गइरहन्थे।
‘मलाई स्केटिङ रमाइलो लाग्छ। यसबाट शारीरिक व्यायाम पनि हुने भएकाले स्केटिङ खुब मन पर्छ,’ उनी भन्छन्, ‘आजको फुर्सदको समय अब कसरी बिताउने भन्ने चिन्ता भएन।’
घोराहीकै १४ वर्षीय मिलन केसी र १६ वर्षीय सनोज क्षत्री पनि स्केटिङमा रमाउँदै थिए। उनीहरू घोराहीकै स्कुलमा पढ्छन्।
‘फुर्सद मिलेका बेला स्केटिङ खेल्न यहाँ आउँछु। स्केटिङमा रमाउन पाएपछि म खुसी हुन्छ,’ सनोज भन्छन्, ‘स्केटिङ खेल्दा शारीरिक व्यायाम हुन्छ। बाहिरको फाल्टु कुरामा ध्यान जाँदैन।’
मिलन पनि स्केटिङ खेलेर खुसी हुन्छन्।
‘स्केट जुत्ता लगएर साथीहरूसँग सरर्र गुड्दा मन रमाउँछ,’ मिलन भन्छन्, ‘युट्युबमा स्केटमा गुडेको भिडिओ देख्दा अचम्म लाग्थ्यो। अहिले आफैं खेल्न पाउँदा खुसी लागेको छ।’
मिलन र सनोज स्केटिङ खेल्न आएको दुई हप्ता भयो। स्कुल लागेका दिन मौका पारेर बिहान वा बेलुका खेल्छन्। उनीहरू स्केटिङ खेल्ने ठाउँ ‘घोराही स्केट पार्क’ हो। दाङमा यो पहिलो स्केट पार्क हो, जहाँ स्केटिङका पारखी र सिकारूहरू आउँछन् र स्केटिङ गर्छन्।
घोराही स्केट पार्क घोराहीका किशोरकिशोरी र युवायुवतीहरूको आकर्षणको थलो बनेको छ। शनिबार र सार्वजनिक बिदाको दिन पालो पाउनै मुस्किल हुन्छ। पार्क कार्यालयको विवरण अनुसार गत शनिबार (मंसिर ९ गते) मात्रै ६ सय जनाभन्दा धेरै स्केटिङ गर्न आएका थिए।
एकै दिन धेरै जना आउँदा पालो पाउन लाइन लाग्नु परेको थियो। अन्य दिनमा पनि तीन सय जनासम्म हुन्छन्। प्रायः १० वर्षदेखि ३५ वर्षसम्मका व्यक्तिहरू स्केटिङका लागि आउने गरेका छन्।
स्केट पार्क बिहान ६ बजेदेखि साँझसम्म खुला रहन्छ। दिउँसो करिब दुई बजेपछि पार्कमा भीड बढ्छ। चार बजेपछि स्कुले किशोरकिशोरीहरू आउँछन्।
एक घण्टा स्केटिङ खेल्न दुई सय रुपैयाँ र आधा घण्टा खेल्न साढे एक सय रुपैयाँ तिर्नुपर्छ। मासिक, पाक्षिक र साप्ताहिक शुल्क एकमुस्ट तिरेर खेल्न पनि पाइन्छ। एक महिनाको चार हजार दुई सय र १५ दिनको दुई हजार दुई सय रुपैयाँ लाग्छ। एक हप्ताको एक हजार एक सय रुपैयाँ तिर्नुपर्छ।
घोराही स्केट पार्क घोराहीकै ३० वर्षीय युरेन्द्र बुढामगर र चितवनको भरतपुरका ३३ वर्षीय ईश्वर थापामगरले सहलगानीमा स्थापना गरेका हुन्। ईश्वरका अनुसार हालसम्म ८० लाख रुपैयाँ लगानी भएको छ।
ईश्वरले ११ वर्ष दक्षिण कोरियामा काम गरे। उता बस्दा उनले पछिल्लो पाँच वर्ष स्केटिङ गरे। त्यहीँ स्केटिङमा रस भिज्यो।
‘कोरियामा हुँदा बिदाको दिन स्केटिङ गर्थें। अरू दिन पनि फुर्सद हुनासाथ स्केटिङ पुगिहाल्थेँ। खुब रमाइलो लाग्थ्यो,’ उनले भने, ‘घर फर्केपछि त्यस्तै स्केटिङ पार्क खोल्ने सपना देखेको थिएँ। अहिले पूरा भयो।’
स्केटिङ पार्क स्थापना गर्ने उपयुक्त ठाउँ खोज्दै धेरैतिर घुमे। व्यावसायिकताको सम्भावना अध्ययन गरे। उनले हाल अस्ट्रेलियामा रहेका साथी भिनुकुमार पुनलाई पनि आफ्नो योजना सुनाए, उनीसँग परामर्श गरे। उनीहरू स्कुल पढ्दाका मिल्ने साथी थिए। दुबै जनाका बाबुहरू भारतीय सेनामा थिए। दुबै जनाले भारतीय स्कुलमै पढेका थिए।
भिनकुमारले घोराही स्केटिङका लागि उपयुक्त ठाउँ हुन सक्छ भने। त्यहाँ गएर आफ्ना साला युरेन्द्रसँग सम्पर्क गर्न सल्लाह दिए। ईश्वरले युरेन्द्रलाई भेटेर कुरा गरे।
पूर्वपरिचित नभए पनि भिनकुमारको समन्वयमा ईश्वरी र युरेन्द्र सहलगानीमा स्केट पार्क स्थापना गर्न सहमत भए। जग्गा खोज्ने काम गत जेठमा पूरा भयो। हालका लागि मासिक २८ हजार रुपैयाँ तिर्ने गरी जग्गा भाडामा लिए।
स्केट हल निर्माणको काम गत असारमा काम सुरू भयो। स्केटिङका लागि पाँच हजार ६०० वर्ग फिटको कोर्ट बनाएका छन्। कोर्टमा मार्बल बिछ्याएका छन्। स्केट जुत्ता सय जोर छन्। जुत्ता हङकङबाट मगाएका हुन्।
गएको दसैंको घटस्थापनका दिन (असोज २८ गते) पार्क उद्घाटन भयो।
स्केट पार्क स्थापना भएपछि किशोरकिशोरी र युवायुवती आकर्षित भएका छन्। स्थानीय अभिभावकहरूले पनि खुसी प्रकट गरेका छन्।
‘स्कुलबाट आउनासाथ हातमा मोबाइल लिएर बस्ने मेरो छोरो आजकल स्केटिङ खेल्न जाने गरेको छ। म खुसी भएकी छु,’ स्थानीयवासी रमा घर्ती भन्छिन्, ‘छोरो मोबाइलको कुलतमा पर्छ कि भन्ने ठूलो चिन्ता थियो। स्केटिङ जान थालेपछि ढुक्क भएकी छु।’
ईश्वरीका अनुसार स्केटिङ गर्न शरीरको सन्तुलन मिलाउन सक्नुपर्छ। सन्तुलन मिलेन भने लडेर चोट लाग्ने सम्भावना हुन्छ। मोटो शरीर हुनेलाई स्केटिङ गर्न कठिन हुन्छ।
रोजगारीका लागि विदेश बस्दा ईश्वरले सिकेको स्केटिङ खेल अहिले उनको व्यवसाय भएको छ। साथै दाङमा पहिलो व्यावसायिक स्केटिङ पार्क स्थापना गर्ने श्रेय पनि ईश्वर र युरेन्द्रको टिमले पाएको छ।