चितवनमा पहिलो पटक 'भेगन रेस्टुरेन्ट' खुलेको छ। तीन जना युवाहरूले भरतपुरमा 'भेगन पाराडाइज क्याफे' सञ्चालनमा ल्याएका हुन्।
भेगनमा पशुपंक्षीको कुनै पनि उत्पादनको अंश समावेश हुँदैन। यसमा वनस्पतिबाट उत्पादन हुने पदार्थ मात्रै पर्छन्।
क्याफेका तीनै जना सञ्चालक भेगन (पशुपंक्षीजन्य खानेकुरा नखाने र सरसामग्री प्रयोग नगर्ने) हुन्। उनीहरू पशुपंक्षी संरक्षणको अभियानमा सँगै काम गर्छन्।
सञ्चालकमध्ये एक २९ वर्षीय सुराजन श्रेष्ठको घर रत्ननगर–१ सौराहा चोक हो। एमबिए पढेका उनी बाह्र वर्षदेखि पशु अधिकारका लागि आवाज उठाउँदै आएका छन्।
अर्का सञ्चालक हुन् २६ वर्षीया सुधा तिमल्सेना। उनले वातावरण विज्ञानमा स्नातक गरेकी छन्। भरतपुर–११ निलगिरी चोकमा बस्ने उनले यसअघि तराई फिसिङ क्याट प्रोजेक्टमा काम गरेकी थिइन्।
त्यस्तै २८ वर्षीय कल्याण पुञ्ज श्रेष्ठले आइटीमा स्नातक गरेका छन्। भरतपुर–३ कमलनगर बस्ने उनी पहिले राष्ट्रिय परिचयपत्र शाखामा काम गर्थे।
'हामीले एकै ठाउँमा उभिएर पशु अधिकारका लागि आवाज उठायौं। प्लाकार्ड बोकेर धेरै ठाउँमा उभियौं। कुनै पनि प्राणीलाई दुःख दिनु हुँदैन भन्ने सोच हाम्रो हो,' सुराजनले भने, 'अनि भेगन संस्कार बसाउने उद्देश्यले क्याफे स्थापना गरेका हौं।'
सुराजनले ११ वर्षको उमेरबाट मासु खान छाडेका थिए। कल्याण स्वास्थ्य राम्रो हुन्छ भनेर भेगन बनेका हुन्। त्यस्तै सुधा कक्षा ८ मा पढ्दै गर्दा पशुको बली दिएको देखेपछि बिस्तारै भेगन भएकी थिइन्।
उनीहरू तीनै जना पशु अधिकारको काममा सक्रिय छन्। तर रेस्टुरेन्टमा आफूले खोजेको खानेकुरा पाउनै गाह्रो भएको महसुस गरे।
'भेगन भनेको के हो भनेर बुझाउनै गाह्रो भयो। अनि साथीहरू सल्लाह गरेर भेगन रेस्टुरेन्ट खोल्ने निधो गरेका हौं,' सुधाले भनिन्।
यो रेस्टुरेन्टमा उनीहरू तीनै जना दिनभर खट्छन्। अन्य दुई जना कर्मचारी छन्।
'हामी पशुपंक्षीबाट उत्पादन हुने परिकार मात्रै होइन, कपडा पनि प्रयोग गर्दैनौं। अरूलाई पनि यही सल्लाह दिन्छौं,' कल्याणले भने।
सुराजनका अनुसार यो रेस्टुरेन्टको खास विशेषता भनेको यहाँ सबै परिकार वनस्पतिबाट तयार हुन्छ। गाईभैंसीको दूधको विकल्पमा सोया (भटमास) र नरिवलको दूध पाइन्छ। खिर, लस्सी, दही यसैबाट बनाइन्छ। मासु रूचाउनेका लागि मासुकै जस्तो स्वाद दिने छोयला, चिल्ली पाइन्छ। यो परिकार गहुँ, भटमास र चनाको पिठोबाट बन्छ। रङका निम्ति चुकन्दर मिसाइन्छ।
उनीहरूले अहिले बीसदेखि तीन सय रूपैयाँसम्मका ८२ वटा परिकार उपलब्ध गराएका छन्। रेस्टुरेन्टमा आउने ग्राहकका लागि हातैले सबै परिकार बनाइने सुराजनले बताए। बाहिरबाट धेरै अर्डर हुँदा काठमाडौंबाट मगाउँछन्।
'काठमाडौंमा मेसिनबाट कच्चा पदार्थ तयार परिने भएकाले धेरै सामान आवश्यक पर्दा मगाउँछौं। नभए हातैले बनाएर पस्किरहेका छौं,' सुराजनले भने, 'व्यापार आशा लाग्दो छ। हामी खुसी छौं।'
तीन जनाले जनही चार/चार लाख गरी कुल १२ लाख रूपैयाँ लगानीमा रेस्टुरेन्ट खोलेको उनीहरू बताउँछन्। यहाँ एक पटकमा चालीस जनासम्म बस्न मिल्छ।
भेगन रेस्टुरेन्ट चलाउन सबभन्दा पहिले आवश्यक कच्चा पदार्थ जुटाउन मेहनत गर्नुपर्ने सुधा बताउँछिन्। त्यसपछि त्यसलाई परिकार बनाउने सेफ तयार पार्न गाह्रो हुन्छ। बल्ल बल्ल सेफ तयार पारे पनि विदेश गइहाल्ने समस्या उनीहरूले भोगेका छन्। उनीहरूले अहिलेसम्म तीन जना सेफ फेरिसके।
रेस्टुरेन्टमा आउने पाहुनाहरू भने परिकारबाट सन्तुष्ट भएको उनले बताइन्।
'यहाँ मांसाहारी ग्राहक पनि आउनुहुन्छ। उहाँहरूलाई पनि परिकार मनपरेको छ। शाकाहारीलाई त मन पर्ने नै भयो,' उनले भनिन्, 'सबैको हौसलाबाट हामीमा ऊर्जा पैदा भएको छ। काम गर्ने मेहनत र जोसजाँगर बढेको छ।'
काठमाडौंमा भेगन रेस्टुरेन्ट बढ्दै गए पनि मोफसलमा कम छन्। आगामी दिनमा भेगन रेस्टुरेन्ट र पशु अधिकारको आवाज सँगसँगै अघि बढाउने यी तीन युवाको सोच छ।
'हामी पशु र मान्छे दुबैको अधिकारको ख्याल गर्दै अघि बढेका छौं,' उनीहरू भन्छन्।