बजारमा अहिले अण्डाको मूल्य बढेको छ। उपभोक्ताले प्रतिक्रेट पाँच सय रूपैयाँभन्दा बढीमा अण्डा किनिरहेका छन्।
अण्डा उत्पादक किसानले अहिले प्रतिक्रेट ४ सय ६० रूपैयाँ पाएका छन्। एक हप्ताअघिसम्म प्रतिगोटा अण्डा १४ रूपैयाँमा बिक्री गरिरहेका उनीहरूले अहिले १५.३३ रूपैयाँमा बेचिरहेका छन्। तै पनि किसानहरू अण्डा उत्पादन गर्दा लागेको मूल्य पाउन नसकेको गुनासो गर्छन्।
नेपाल कुखुरा व्यवसायी मञ्चकाअनुसार अहिले एक क्रेट अण्डा उत्पादन गर्न ४९७ रूपैयाँ (एउटा अण्डा उत्पादन गर्न करिब साढे १६ रूपैयाँ) खर्च हुन्छ। तर किसानहरू लागत मूल्यमा करिब ४० रूपैयाँ घटाएर बेच्न बाध्य भइरहेको मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले बताए।
कुखुरा पालन व्यवसायबाट घाटा व्योहोरेर किसानहरू पलायन हुनेक्रम बढेपछि मञ्चले पोल्ट्री विज्ञ डा.तीलचन्द्र भट्टराईको संयोजकत्वमा एउटा समिति बनाएर लागत मूल्यबारे अध्ययन गरेको थियो।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका सह–प्राद्यापकहरू डा.रेवन्त भट्टराई, डा.सुविर सिंह, उप–प्राद्यापक डा.अनन्त दाहाल र डा.विष्णु पोखरेल सदस्य रहेको उक्त समितिले विस्तृत अध्ययन गरेर अहिलेको लागत मूल्य निकालेको थियो।
‘खोर निर्माण, चल्लाको मूल्य, दाना, औषधिमा लाग्ने खर्च, मर्ने दर, बैंक व्याजलगायतका धेरै कुराहरूमा अध्ययन गरेर उत्पादन गर्न लाग्ने आजको औसत मूल्य पत्ता लगाएका छौं। त्यो अहिले अण्डा उत्पादकहरूले पाइरहेको मूल्य भन्दा बढी छ,’ संयोजक भट्टराईले भने।
कोरोना महामारीसँगै कुखुराजन्य सबै वस्तुको मूल्य घटेर पोल्ट्री व्यवसायमा ठूलो समस्या आउन थालेको उनले बताए। लागत मूल्य पनि नपाएपछि धेरै किसानहरू पेशाबाट पलायन भएको उनले बताए।
‘यो अवस्था किन आयो भनेर हामीले अध्ययन गरेका थियौं,’ उनले भने, ‘सबै फर्महरू खाली हुँदै जानुको मुख्य कारण खपत घट्नु हो। धेरै खपत गर्ने युवाहरू विदेश पलायन भएका कारण पनि घटेको हुनसक्छ। खपत घटेसँगै उत्पादन पनि घटेको छ तर उत्पादकले लागत मूल्य पनि पाएको छैन। त्यसैले व्यवसाय गर्ने वातावरण भएन।’
२०७९ सालको असोजमा अण्डाको मूल्य घटेर प्रतिक्रेट २४० रूपैयाँ (प्रतिगोटा ८ रूपैयाँ) पुगेको थियो। मूल्य ह्वात्तै घटेर किसानहरूले धमाधम फर्म बन्द गर्न थालेपछि नेपाल लेयर्स कुखुरा पालक संघ बन्यो। यो संघले अहिले देशभरका कुखुरा पालकहरूलाई एकीकृत गरेर व्यवसायलाई सुदृढ बनाउन भूमिका खेलिरहेको छ।
संघका अध्यक्ष विनोद पोखरेलले किसानहरूले कम्तीमा आफूले उत्पादन गर्दा लागेको खर्च पाउनुपर्ने बताए।
‘ठूलो लगानी गरेर व्यवसाय गरिरहेका कुखुरा पालकले कम्तीमा लागत मूल्य पाउनुपर्छ। सरकारले न्यूनतम लागत मूल्य तोकिदियो भने किसानलाई राहत हुन्छ,’ उनले भने, ‘देशमा आत्मनिर्भर भइसकेको पोल्ट्री व्यवसायलाई टिकाइराख्न सरकारको चासो चाहियो।’
उनले दूध, धान, उखुलगायतमा तोकिएजस्तै न्यूनतम मूल्य तोकिदिए किसानहरूले घाटा ब्यहोर्न नपर्ने बताए।
‘हामीले विज्ञहरू सम्मिलित समितिमार्फत न्यूनतम मूल्य निकालेका छौं। त्यसको विषयमा सरोकारवालाहरूसँग छलफल पनि गरिसकेका छौं,’ पोखरेलले भने, ‘यो व्यवसायलाई टिकाइराख्ने हो भने न्यूनतम मूल्य तोक्नुको विकल्प छैन।’
नेपाल कुखुरा व्यवसायी मञ्चले विज्ञहरूले तयार पारेको प्रतिवेदनबारे जिल्ला उद्योगी, व्यवसायीका संस्थाहरू, पशुपंक्षी पालनसँग सम्बन्धित संस्था, स्थानीय तह, पशु चिकित्सकहरूलाई जानकारी गराएको छ। प्रतिवेदनको निष्कर्षबारे प्रदेश तथा संघीय सरकारका निकायहरूलाई पनि जानकारी गराएको मञ्चका अध्यक्ष लामिछानेले बताए।
‘विभिन्न रोगसँग जुधेर व्यवसायलाई टिकाउनु पर्नेछ। दाना, औषधिलगायतका मूल्य बढिरहेको छ। बैंकको व्याजले आक्रान्त बनाएको छ। तर हामीले गरेको उत्पादनले लागत मूल्य पनि नपाउनु विडम्बना भयो,’ लामिछानेले भने, ‘सरकारले राम्ररी ध्यान दियो भने यो समस्या समाधान भइहाल्छ। हामीले यस विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छौं।’
नेपाल लेयर्स कुखुरा व्यवसायी संघका अध्यक्ष पोखरेल व्यवसायीहरू यतिविधि लाग्दा पनि लागत मूल्य नपाए छिट्टै उपभोक्ताले अण्डा खान पनि भारतको भर पर्नुपर्ने दिन आउने बताउँछन्।
‘अहिले ठूला केही व्यवसायी टिकिरहेका कारण नेपाललाई आवश्यक पर्ने अण्डा उत्पादन गर्न सकिएको छ। उनीहरू पनि पलायन भए भने अण्डाको लागि भारतको भर पर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘पलायन नहुने अवस्था ल्याउन सरकारले बेलैमा ध्यान दिनुपर्छ।’
कुखुरा पालनमा सबैभन्दा बढी खर्च दाना र औषधिमा हुन्छ। दानाका लागि आवश्यक पर्ने करिब ९५ प्रतिशत कच्चा पदार्थ भारतबाट आयात गर्ने गरिएको छ। औषधि पनि अधिकांश भारतबाटै ल्याइन्छ।
युवराज खतिवडा अर्थमन्त्री हुँदा दानाका लागि आवश्यक पर्ने भटमासको भन्सार शुल्क १ बाट ९ प्रतिशत, मकै १ बाट ५ प्रतिशत पुगेको थियो। यसले उत्पादनको लागत बढाएको किसानहरू बताउँछन्।
कोरोना महामारी भन्दा अघिसम्म देशभरमा ७ सय बढी कुखुरा फर्महरू रहेकोमा अहिले करिब १४० फर्ममात्रै बाँकी रहेको मञ्चको रेकर्डमा छ। तीमध्ये ४० वटाजति फर्ममा मात्रै ५० हजार बढी कुखुरा पालिन्छ। कोरोना महामारीअघि दैनिक ६० लाखवटा अण्डा उत्पादन हुने गरेकोमा अहिले पचास प्रतिशत कम उत्पादन भइरहेको पोखरेलले बताए।
पोल्ट्री विज्ञ भट्टराईले राज्यले नै मूल्य निर्धारण गरिदिए धेरै समस्याहरू समाधान हुने बताए।