सहरमा बसेर पहाडका खाद्य उत्पादन खान चाहनुहुन्छ?
हो भने यस्ता खानेकुरा अहिले 'पहाडी फुड्स' मा पाइन्छ। यसले थुप्रै जिल्लाका उत्पादन एकै ठाउँबाट बिक्री वितरण गरिरहेको छ।
यसका सञ्चालक प्रशान्त र कामना घिमिरे हुन्। घिमिरे दम्पतीले पहाडी फुड्स खोलेको एक वर्ष मात्र भयो। कम समयमै व्यापारले फड्को मारेको उनीहरू बताउँछन्।
'छोटो समयमै पहाडी फुड्स स्वदेशसँगै विदेशी बजारमा पुगिसकेको छ,' प्रशान्तले भने, 'हाम्रो उद्देश्य ग्राहकले स्थानीय तथा रैथाने उत्पादन जुनसुकै ठाउँमा बसेर जुनसुकै समयमा खान पाऊन् भन्ने हो।'
पहाडी फुड्सले मह, चामल, दाल र चियापत्ती गरी जम्मा चारवटा उत्पादनबाट व्यापार थालेको थियो। अहिले ७० भन्दा बढी उत्पादन यहाँ पाइन्छ। पर्वत र बागलुङको जेठो बुढो चामल र सिमी, जुम्लाको फापरको पिठो र मकैको च्याख्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीको गेडागुडी, मकवानपुरको ताइचिन चिउरा, रसुवा, सिन्धुपाल्चोक र काभ्रेको राज्मा लगायत थुप्रै जिल्लाका विशेष उत्पादन यहाँ उपलब्ध छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रायः सबै जिल्लाका उत्पादन आइपुग्ने उनले बताए।
यी सबै उत्पादनका लागि उनीहरूले ३० वटाभन्दा बढी जिल्लाका दस हजारभन्दा बढी किसानसँग सहकार्य गरेका छन्। यो सहकार्य जिल्ला कृषि विकास कार्यालयसँगको समन्वयमा भइरहेको छ। यही कार्यालयमार्फत् उनीहरू कुन गाउँमा के खेती भइरहेको छ भन्नेबारे जानकारी लिन्छन्। अनि किसानकहाँ पुगेर बाली लिन्छन्।
'उत्पादन बढाउने र किसानहरूसँग सहकार्य गर्ने क्रम जारी छ,' उनले भने।
हरेक सिजनमा फल्ने अन्न बाली उनीहरू सिधै किसानको बारीबाट उठाउँछन्। यसलाई केलाइ, सफाइ गर्न भैरहवामा कारखाना खोलेका छन्। सबै उत्पादनको प्रशोधन र प्याकेजिङ त्यहीँ हुन्छ। यसपछि काठमाडौंबाट बिक्री वितरण गरिन्छ।
पहाडी फुड्समा विभिन्न समुदायले बनाएका रैथाने अचार पनि पाइन्छ। मुला, आँप, टिमुर, थकाली, तामा टुसाको अचार, निगुरो अचार, छोयला अचार लगायत करिब एक दर्जन बढी प्रकारको अचार उपलब्ध छ। सिजन अनुसार नयाँ स्वाद पनि थपिन्छ।
'यहाँ पाइने अचार फरक स्वादको हुन्छ,' प्रशान्तले भने, 'यी अचार विभिन्न जिल्लाका फरक फरक समुदायका विशेष परिकार हुन्। किसानहरूले अनुरोध गरेपछि बेच्न थालेका हौं। सबै जसो अचारको बजार माग राम्रो छ।'
यसरी सम्बन्धित किसान समुदायसँग सिधै सम्पर्क गरेर अचार सहरसम्म ल्याउँदा किसान र उत्पादकलाई लाभ भएको उनको भनाइ छ।
हाल ठूला मार्ट, स्टोर, किराना पसल लगायतमा पहाडी फुड्सका सामान पाइन्छ। यसको सामाजिक सञ्जालबाट पनि मगाउन सकिन्छ। भविष्यमा वेबसाइट र अनलाइन बजारमा पनि किन्न पाउने सुविधा दिने प्रशान्तले बताए। यसको तयारी भइरहेको छ।
व्यवसायमा आफ्नो अनुभवसँगै आफूले बनाएको सञ्जालका कारण पहाडी फुड्सलाई कम समयमा सोचेभन्दा माथि पुर्याउन सफल भएको प्रशान्त बताउँछन्। अहिले कम्पनीले बिक्री गर्ने खानेकुराहरू अमेरिका, अस्ट्रेलिया, जापान, हङकङ, युरोप लगायत मुलुकमा पुगिरहेको छ।
कम्पनीमा ७० जनाले रोजगारी पाएका छन्। मार्केटिङ, बिक्री, वितरण प्रशान्तले हेर्छन्। व्यवस्थापन कामनाले सम्हालेकी छिन्।
यसरी स्थानीय उत्पादनको बजारीकरणसँगै कृषि पर्यटनको अवधारणा अघि बढाइरहेका प्रशान्त ३३ वर्षका भए। उनले ६ वर्षअघि व्यावसायिक यात्रा थालेका हुन्।
प्रशान्तका बुबा तुलसी घिमिरेले २०५८ सालमा भैरहवामा उद्योग खोलेका थिए। त्यसले 'महिमा' ब्रान्ड नाममा कर्नफ्लेक्स उत्पादन गर्थ्यो। त्यो बेला कर्नफ्लेक्स खाने चलन धेरै थिएन। बिस्तारै तुलसीले यसबाट आशा मारिसकेका थिए।
तैपनि यो काम आफ्ना छोरा प्रशान्तले सम्हालून् भन्ने उनको चाहना थियो। प्रशान्त तयार थिए, लगानी डुब्ने हो कि भन्ने डर पनि थियो। तर पहिलेभन्दा समय र कर्नफ्लेक्सको बजार फेरिएकाले उनले आँट गरे। अनि व्यवसायलाई नयाँ नाम दिए- हाइलाइफ।
करिब पाँच वर्षमै हाइलाइफलाई एउटा उचाइमा पुर्याउन उनी सफल भए। कर्नफ्लेक्सबाट उत्पादन सुरू गरेको हाइलाइफले हाल सय वटाभन्दा बढी प्रकारका खानेकुरा उत्पादन गर्दै आएको छ।
हाइलाइफमा अहिले हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड र बिग इन्डस्ट्रिज लिमिटेडले साझेदारी गरेका छन्। हाइलाइफमा लगानीकर्ता भित्र्याएसँगै आफ्नो जिम्मेवारी कम भएको प्रशान्त बताउँछन्।
'छोटो समयमै हाइलाइफ यसरी माथि पुग्यो कि केही वर्ष नयाँ उत्पादन गर्नुभन्दा पनि चुपचाप बस्नुपर्ने अवस्था भयो,' प्रशान्त भन्छन्, 'सफ्टवेयरले नै व्यवस्थापन गर्न थालिसकेको थियो। पाँच/सात वर्षका लागि पाइपलाइनमा कामहरू अगाडि नै भइसकेका थिए।'
यसपछि प्रशान्तले छुट्टै नयाँ केही काम गर्ने सोचे। श्रीमती कामनासँग सल्लाह गरे। कामनाले पनि हाइलाइफमा धेरथोर अनुभव बटुलिसकेकी थिइन्। अनि दुवै मिलेर स्थानीय तथा रैथाने उत्पादनहरू सहरमा ल्याएर आकर्षक प्याकेजिङ सहित बिक्री वितरण गर्ने योजना बनाए।
अनि सुरू भयो पहाडी फुड्स।
यो काम प्रशान्तका लागि नयाँ भए पनि यसबारे पहिल्यै अध्ययन गरिरहेका थिए। हाइलाइफको चिउरा बनाउन उनी गाउँघरमा चामल किन्न जान्थे। यो क्रममा रैथाने उत्पादनले बजार नपाएको देखेका थिए। ती उत्पादन सहरसम्म पुर्याएर बजारीकरण गर्न सके राम्रो सम्भावना छ भन्ने उनलाई लाग्थ्यो।
'त्यही अनुभवले हामी श्रीमानश्रीमतीले बीस/बीस लाख गरी ४० लाख रूपैयाँ लगानीमा पहाडी फुड्स सुरू गर्यौं,' प्रशान्तले भने, 'अहिले मासिक डेढ करोड रूपैयाँभन्दा बढीको कारोबार भइरहेको छ।'